​उताको योजना र यताको सम्भावना

५ सय वर्षअघि नै चीन आर्थिक, राजनीतिक र शक्ति सम्पन्न मुलुक थियो । अहिले अमेरिका विश्वका समृद्ध मुलुकको सूचीमा पहिलो नम्बरमा रहेको छ भने चीन दोस्रो स्थानमा छ । सन् २०५० अघि नै चीन पहिलो नम्बरमा आउने अध्ययनहरूले देखाएका छन् । सन् १९४९ देखिको जनवादी गणतन्त्र चीनले गणतन्त्रको सय वर्ष पूरा हुने समयअघि नै महŒवाकांक्षी बिआरआई सन् २०१३ मा घोषणा गरेको हो । नेपालभन्दा ६७ गुणा ठूलो एकात्मक र साम्यवादी शासन भएको मुलुक चीनको बिआरआई सञ्जालले एशियाका इन्डोनेसिया, मलेशिया, लाओस, श्रीलङ्का, थाइल्याण्ड, भारत, पाकिस्तान, बंगलादेश, नेपाल, युरोपका ग्रिस, इटाली, लक्जेम्बर्ग, स्विजरल्याण्डलगायत, अफ्रिकाका इथियोपिया, केन्या, नाइजेरिया, सुडान, मध्यपूर्व तथा अमेरिकी मलुक गरी करिब १५२ भन्दा बढी मुलुकसँग सिधा सडक तथा समुद्री सञ्जाल तथा सम्बन्ध (कनेक्टिभिटी) लाई विस्तार गर्दै छ । नेपालजस्तो दक्षिण एशियाको सानो र भूपरिवेष्ठित मुलुकका लागि चीनको उक्त योजना र धारणाले व्यापक क्षेत्र र पक्षमा अर्थ र महŒव राख्न सक्छ ।

दक्षिणी छिमेकीसँग हाम्रो लामो भौगोलिक, ऐतिहासिक, धार्मिक, आर्थिक, कूटनीतिक, भाषिक, राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत सम्बन्ध छ । नेपाल र भारतको सम्बन्ध घाम र जून रहेसम्म रहने र हुन सक्ने वा हुनैपर्ने सम्बन्ध हो र छ । तैपनि, भारतीय पक्षबाट नेपालको राजनीतिक, भौगोलिक तथा सीमा अतिक्रमण, व्यापारिक तथा अन्य सन्दर्भमा अनेक प्रकारका असमझदारी तथा द्वन्द्वसमेत हुँदै आएका छन् । १ अरब ३२ करोडभन्दा बढी जनसंख्या भएको छिमेकी भारतबाट दैनिक हजारौंको संख्यामा रोजगारीका लागि नेपाल छिर्ने क्रम पनि बढिरहेको छ । उता, नेपालको सुदूरपश्चिमलगायत स्थानबाट हजारौं नेपाली भारतीय बजारमा रोजगारीको लागि जाने गरेका छन् । भारतमा पूरै नेपाली गए पनि कता–कता हराउने अवस्था छ भने नेपालमा उताबाट केही लाख आउँदा पनि त्यसले अनेकौं सामाजिक तथा अन्य समस्या भोग्नुपर्ने स्थिति छ । ऐतिहासिक सम्बन्ध रहेको भारतले नेपालको विकास र अन्य सन्दर्भमा अनेक प्रकारका सहयोग र समर्थन गरेको इतिहास भए पनि उसले विविध प्रकारका बाध्यतामा पारेर नेपाल र नेपाल राज्यलाई शोषणसमेत गरी आएको वास्तविकता हो । भूगोल, जनसंख्या, उद्योग, व्यापारलगायत धेरै क्षेत्रमा भारत विश्वमै ठूलो र व्यापक सम्भावना भएको मुलुक हो । यस्तो छिमेकीले सहयोग र समर्थन गर्दा नेपालले पनि केही लाभ लिने अवस्था हुन्छ ।

हालै चीनका राष्ट्रपतिबाट भएको मैत्रीपूर्ण भ्रमणले नेपाल र चीनबीचमा सम्भावनाका नयाँ ढोका खोलेको भनिए पनि कामको गति भने तीव्र बनेको देखिन्न । चीनको तिब्बतबाट नेपालको रसुवा हुँदै रेल काठमाडौंदेखि लुम्बिनी पुग्ने आसमा नेपाली जनता रहेका भए पनि त्यसले कहिले मूर्तरूप ग्रहण गर्ला भन्ने अन्योल छ ।

चीनले ल्याएको बिआरआई योजना र कार्यक्रमबाट छिमेकी भारत कतिपय सन्दर्भमा त्रसित र सशंकित बन्ने गरेको देखिन्छ । स्थिर शासन, विकासलाई मूल मुद्दा बनाएर अगाडि बढेको, संयुक्त राष्ट्रसंघमा स्थायी सदस्य भई भिटो शक्ति वा पावर भएको, औद्योगिक र व्यापारिक क्षेत्रमा तीव्र विकास गरी अगाडि  बढेको चीनको व्यापार चामत्कारिक ढंगले अगाडि बढेको कारण चीनपछिको ठूलो जनसंंख्या भएको भारतले नेपाललाई चासो र शंकाले हेरिरहेको देखिन्छ ।

हालै अमेरिकी सेनाको कारवाहीमा इरानी सैन्य कमाण्डर सुलेमानी मारिएको घटनाले विश्व तरंगित भइरहे पनि चीनले त्यसमा आफ्नो भनाइ (पोजिसन) खोलेको छैन । तर, अमेरिका र युरोपका मुलुकसँगको दुईपक्षीय व्यापार र वाणिज्यका मुद्दामा चासो देखाउँदै आएको छ । समग्रमा चीन आर्थिक उन्नतिको महायात्रामा अगाडि बढेको देखिन्छ । विश्वको आर्थिक शक्ति सम्पन्न मुलुकको सूचीमा पुग्न लम्केको चीनसँग नेपालले विभिन्न प्रकारका आफ्ना हित र आवश्यकताका क्षेत्रमा सहकार्य र लाभ लिन सक्छ । यसमा मुलुक चुक्नुहुन्न । अर्काेतर्फ दक्षिणी छिमेकी भारतको नेपालमाथिको बहुक्षेत्रमा रहेको परनिर्भरता र दबदबालाई कम गर्न पनि चीनसँग आर्थिक, सामाजिक, राजनीतिक तथा दुईपक्षीय सम्बन्ध विस्तार गर्दै अगाडि बढ्नैपर्ने खाँचो र आवश्यकता छ । चीनको रेल काठमाडौंं हुँदै लुम्बिनी पुगेको दिन भारतले नेपाललाई हेर्ने र गर्ने व्यवहार धेरै फरक हुनेछ भने नेपालको विश्व सम्बन्ध पनि थप मजबुत र फराकिलो हुनेछ ।

 

टिप्पणीहरू