कोरोना परीक्षण अब घर घरमै !

कोरोना परीक्षण अब घर घरमै !

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणदर बढ्दो छ । तर, प्रयोगशालामा गरिने कोरोना परीक्षण दर भने घटेको देखिन थालेको छ । समुदायस्तरमै फैलिए पनि परीक्षण गराउनेको संख्या कम भएकाले संक्रमित न्यून देखिएको हो ।

परिक्षण गर्न जाँदा र रिपोर्ट आउनसमेत समय लाग्ने एवम् झन्झटिलो प्रक्रिया भएकाले अत्यावश्यक बाहेक अरुले लक्षण देखिए पनि परीक्षण गराउन छाडेका हुन् । यसैलाई मध्यनजर गर्दै सरकारले घरमै कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको लक्षण देखिएका र शंका लागेकाले अब घरमै परीक्षण गराउन सक्नेछन् ।

यसको निम्ति कोभिड परीक्षण किट भने चाहिन्छ । बजारमा धेरै किसिमका एन्टिजेन किट उपलब्ध भए पनि सरकारबाट मान्यताप्राप्त किटको मात्र प्रयोग गर्नुपर्ने भनिएको छ । अधिकांश कोभिड परीक्षण किट औषधी पसल र डिपार्टमेण्टल स्टोरमा समेत उपलब्ध छ ।

कोभिड परीक्षण किटको प्रयोग कसरी गर्ने ?

सर्वप्रथम कोभिड परीक्षण गर्न सम्बन्धित व्यक्तिले आफ्नो हात सफासँग धुनुपर्छ । अथवा स्यानिटाइज गर्दा पनि हुन्छ । कसरी परीक्षण गर्ने भन्नेबारे आवश्यक निर्देशन किटभित्र दिइएको हुन्छ । तर त्यसमा अंग्रेजी भाषामा लेखिएकाले सबैले अंग्रेजी बुझ्छन् भन्ने ग्यारेण्टी हुँदैन । हुन तः भाषासँगै चित्र पनि बनाइएको छ ।

एउटा कोभिड परीक्षण किटभित्र स्वाब एक्स्ट्राक्सन बफर ट्युब,ट्युब राख्ने बाकस र टेष्ट किटलगायत हुन्छन् । किट बक्स खोलेपछि सबैभन्दा पहिले स्वाब संकलन गर्ने सुइरोलाई नाकभित्रका दुई वटै प्वालमा चार सेन्टिमिटरसम्म छिराइन्छ । बिस्तारै घुमाइन्छ र नाकमा रहेका सिंगान अर्थात स्वाब नमूना निकालिन्छ । नमूना स्वाबलाई त्यहिँभित्रको रसायन मिश्रित झोलमा डुबाइन्छ । केहीबेरमा उक्त घोलमध्ये तोकिएको थोपालाई उपलब्ध परीक्षण स्ट्रिपको तल्लो भागमा खन्याइन्छ ।

बढीमा २० मिनेटभित्र त्यस स्ट्रिपमा देखिने धर्सा वा अन्य संकेतले संक्रमण भएको हो या होइन भन्ने पुष्टि गर्छ । कोभिड परीक्षण किटमा सी र टी गरेर दुईवटा अक्षर अंकित गरिएको हुन्छ । यदि सीमा मात्र रातो धर्का देखिएमा कोरोना परीक्षण नेगेटिभ आएको भनेर बुझ्न सकिने महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालका कोरोना फोकल पर्सन निरज बमले बताउनुभयो ।

त्यस्तै, सी र टी लेखिएको दुबैमा रातो धर्सा देखिएमा पोजिटिभ भएको बुझ्न सकिन्छ । ‘यदि किटले कुनै पनि धर्सा देखाएन भने स्वाब परीक्षणको तरिका गलत भएको ठान्नुपर्छ,’ उहाँले भन्नुभयो ।

एक पटक प्रयोग गरिएको किट पुनः प्रयोग गर्न मिल्दैन । आफूले प्रयोग गरेको किट प्लाष्टिकको झोलामा राम्ररी प्याक गरेर फाल्नुपर्छ । किट जथाभावी फ्याँक्दा आफूमा भएको संक्रमण अरुमा सर्न सक्ने जोखिम उच्च हुन्छ ।

कोभिड किट कत्तिको प्रभावकारी ?

कोरोना परीक्षणको यो विधि त्यति भरपर्दो नहुने विज्ञहरु बताउँछन् । टिचिङ अस्पताल महाराजगञ्जका कोरोना फोकल पर्सन बमले एन्टिजेन किट परीक्षण शतप्रतिशत ढुक्क हुन नसकिने बताउनुभयो । एन्टिजेन किटको प्रयोग संक्रमणका लक्षणहरू देखिएको अवस्थामा मात्र उपयुक्त हुने उहाँको ठहर छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा परीक्षण गर्ने भने पनि तरिका नसिकाएबारे बमको गुनासो छ । एन्टिजेन किटको प्रयोग गर्न नजान्दा कोरोना पोजिटिभ भएकाको रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले जोखिम बढी हुन्छ । एन्टिजेन प्रयोगको नतिजा पुष्टि गर्न पीसीआर गर्नैपर्छ ।

बजारमा कस्ता किट पाइन्छन् ?

क्लिनिक वानका फर्मासिस्ट कृष्ण शाहका अनुसार बजारमा धेरै किसिमका कोभिड परीक्षणका किटहरु पाइन्छन् । तर, सरकारबाट मान्यताप्राप्त कोभिड किटको प्रयोगमा उहाँको जोड छ । ‘सर्वसाधारणले पहिले किटबारे सबै बुझेर मात्र खरिद गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

सरकारबाट मान्यताप्राप्त एफडिए ब्राण्डका जर्मन कोभिड किट परीक्षणको लागि उपयुक्त हुने उहाँको भनाइ छ । हाल उक्त किटको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइन्छ । बजारमा चिनियाँ किट सबैभन्दा धेरै पाइन्छ । बजारमा यस्ता किटको मूल्य सरदर ७ सय ५० रुपैयाँ तोकिएको शाहले बताउनुभयो ।

टिप्पणीहरू