खण्डग्रास सूर्यग्रहण

नेपालको विभिन्न भागमा सूर्य ग्रहण देखिने समयहरू :
 
नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिने । पृथ्वीको केही भागको करिब १०० कि.मी. को ब्याण्डबाट वलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । अर्थात् चन्द्रमाको छायाँको व्यास सूर्यकोभन्दा सानो भएकोले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिन जानेछ । त्यसैले यसलाई रिङ अफ फायर पनि भनिन्छ ।

यस्तो देखिने स्थानहरु साउदी अरबबाट शुरु भएर कतार, यूएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलँका, बँगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिँगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुन्छ । तर विरल छायाँ भने पूर्वी युरोपको केही भाग, एसियाको अधिकाँश भाग (केही उत्तरी भाग बाहेक), अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने ।
  
वलयाकार (Annular) सूर्य ग्रहण काठमाडौंबाट दुष्टिगत हुने छैन, तर खण्डग्रास सूर्य ग्रहणको रुपमा अवलोकन गर्न सकिन्छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ । सूर्य ग्रहण केवल चन्द्रमाको “न्यून मून” फेजमा मात्र लाग्न सम्भव हुन्छ । खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलिय अवस्थामा निर्भर गर्दछ ।

                           

                                 काठमाडौंबाट अवलोकन हुने सूर्यको ३९ प्रतिशत भागमात्र ढाक्ने सूर्य ग्रहण 
 
यस सूर्य ग्रहणमा चन्द्रमा पृथ्वीबाट सवभन्दा टाढा पुगेको केहि दिन पछि मात्र चन्द्रमाले सूर्यलाई छेक्ने हुदाँ पृथ्वीबाट अवलोकन गर्दा यसले सूर्यबाट आएका प्रकाशलाई पूर्णरूपमा नछेक्ने हुदाँ सूर्य केवल रिङ आकारको  गोलाकार रुपमा अवलोकन  हुनेछ । काठमाडौंबाट भने यो केवल खण्डग्रासको रुपमा अवलोकन गर्न सकिनेछ ।
 
सूर्य पृथ्वीबाट लगभग १५ करोड कि.मी टाढा छ । यसको ब्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ र चन्द्रमाको ब्यास पृथ्वीको एक चौथाइ मात्र छ । तौल तीनलाख ३३ हजार गुणा बढी छ । यसको बाहिरी सतहको तापक्रम लगभग ६००० डिग्री सेन्टिग्रेड र केन्द्रको तापक्रम १५०००,००० डिग्री सेन्टिग्रेड रहेको छ । सूर्य पृथ्वीको सबभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो । सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू आफ्नो कक्षमा परिभ्रमण गर्नका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छन् । पृथ्वी आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्नुका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छ ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ । सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकार को हुन सक्दछ । पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।

चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकोले चन्द्र र सूर्य गोलाहरूमा बाहिर स्पर्शरेखाद्वारा निर्मित शंकु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्णरूपले नपर्ने हुँदा पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ । चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ । चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन् ।

सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै X-Ray, प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन ।

सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावमा सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन सकेका छैनन् ।
 

टिप्पणीहरू