सस्तो श्रम, महँगो बलात्कार

  • राममणि सपटौला

निर्मला नानु, बलात्कार शब्दलाई म कसरी परिभाषित गरुँ ? यहाँ तिमीलाई सबैले बलात्कार गरेका छन् । खचाखच भरिएको सवारी साधनमा युवा, वृद्धहरुका कामुक स्पर्शबाट बलात्कृत भइरहेकी छौ । न्याय माग्न जाँदा कानुनका पहरेदारहरुबाट बलात्कृत भइरहेकी छौ । न्यायालयबाट पटक–पटक तारेख पाउनुलाई पनि बलात्कारकै श्रृंखलामा राख्नुपर्ने हुन्छ । शरीरमाथिको बलात्कारभन्दा कठिन त मनमाथिको बलात्कार हुन्छ । 

आज मास मिडियादेखि सोसल मिडियासम्म तिम्रै फोटोले भरिएका छन् । चीनका महान् साहित्यकार लु सुनले एउटा निबन्ध लेखेका थिए, पागलको दैनिकी । नेपालका स्त्रीहरुका निम्ति बलात्कार पनि आज दैनिकी भएको छ । एनजिओ, आईएनजिओ, नारी अधिकारवादी संगठन सबैको ध्यान यही मुद्दामा केन्द्रित छ । सबै जना जोड–जोडले चिच्याइरहेका छन्– बलात्कारीलाई फाँसी दे । तर बलात्कार घट्नुको सट्टा झन् बढिरहेको छ । बलात्कारीहरु फुक्काफाल साँढेझैं घुमिरहेका छन् । उनीहरुको रौं पनि हल्लिएको छैन । बजारिया पुँजीवादी अखबारहरुले केही नारीवादी, प्रगतिशील लेखक, लेखिकाहरुको लेखमार्फत विरोध गर्दैमा यो हल हुने समस्या होइन । पुँजीवादी मिडियाहरुको चिच्याहट पानीको फोकासरह हो । स्त्रीमाथि बढिरहेको यो बर्बरतालाई बुझ्न सबैभन्दा पहिला हामीले पुँजीवादी राज्यसत्ता, पुँजीवादी उत्पादन प्रणाली, यौनाचारवादी पतनशील पुँजीवादी संस्कृतिको समागमबाट निर्मित त्यो बर्बर परिदृश्यलाई बुझ्नु जरुरी छ । जुन दृश्यमा जो जतिसुकै उफ्रिउन्, स्त्रीमाथिको आखेटको खेल लगातार चलिरहन्छ र हिंस्रकभन्दा हिंस्रक भइरहन्छ । तिमीमाथि भएका जुलुमका जराहरु पातालको गहिराइसम्म पुगेका छन् भने हाँगाबिँगाहरु लंका, पालंकासम्म पुगेका छन् ।

पुँजीवादले महिलाका निम्ति केही हदसम्म सामाजिक उत्पादनको ढोका त खोलिदियो तर त्यसको घरेलु दासता र पुरुष पराधीनतालाई समाप्त पारेन । सामन्तवादमा महिलाका जुन विकृति र विसंगति कायम थिए, त्यसैलाई स्वतन्त्रताको रुपमा परिभाषित गरियो । पुँजीवादले नारीलाई उत्पादनमा सहभागी गराउने ढोल त पिट्यो तर उत्पादनका साधनमाथि सामाजिक स्वामित्व होइन, निजी स्वामित्वलाई कायम ग¥यो । जसको उद्देश्य मुनाफा कमाउनु मात्रै रह्यो । त्यसको निम्ति ऊ सस्तो श्रमको खोजीमा लाग्यो, महिला र बालबालिकालाई काममा लगाउन थाल्यो । त्यसैले आज काठमाडौंका धनीमानीका घरमा या त महिलालाई, या बालबालिकालाई घरेलु कामदारको रुपमा राखिन्छ ।

बाबुसाहेबहरु मेगलो मेनियाले ग्रस्त हुन्छन्, सस्तो श्रममा राखिएका कामदार महिलाको फाटेका धोतीको कुनै इमान हुँदैन । मैयाँ साहेबहरु पेडोफेलियाले ग्रस्त हुन्छन्, कामदार बालबालिकाले यौनको गन्ध पनि चाल पाएका हुँदैनन् । सस्तो श्रम महँगो बलात्कार भएर देखापर्छ । लैंगिक असमानता र स्त्रीउत्पीडन पुँजीवादको आर्थिक जगमा निहीत हुनछ । केही दशकयता युरोप, अमेरिकामा चलेको उदारवाद र नवउदारवादको लहर एशियामा पनि आएको छ । पुँजीवादको चरम पतनशीलताको वर्तमान अवस्थामा समाजमा बचेखुचेका जनवादी मूल्य–मान्यता पनि भत्किँदै गइरहेका छन् । फलतः पुँजीवादी दैत्यका पञ्जाहरु महिला र बालबालिकाका गर्धनतिर लम्किइरहेका छन् । पुँजीवादको यही घटियास्तरको रबैयाका कारण आज समाजमा इन्द्रीय सुखभोगवाद, निर्बन्ध, यौनदूराचारका विकराल दृश्यहरु देखिँदै गइरहेका छन् । पुँजीवादले आफ्ना कालाकर्तुत छोप्नलाई नौजाल बुन्छ । मजदुरहरुलाई शोषण गरेर कमाएको मुनाफाले महिलाहरुका निम्ति स्त्री आश्रम र बालबालिकाका निम्ति अनाथ आश्रम खोल्छ । तर, त्यही आश्रममा पनि महिला र बालबालिका सुरक्षित हुँदैनन् । विश्वमा स्त्री उपभोक्तावादी, बालयौनदुराचारी (पेडोफेलिया) हरुको ठूलो सञ्जाल छ । उनीहरुले यस्तै संस्थालाई आफ्ना कुण्ठा पूरा गर्ने उपयुक्त थलोको रुपमा सोचेका हुन्छन् । उनीहरु दाता, स्वयंसेवक, अनेकौं भेषमा त्यहाँ छिर्छन् । बेला–बेलामा समाचार आइरहन्छ– स्त्री तथा बालआश्रममा यौनशोषण ।

आजको भूमण्डलीकृत विश्वमा सौन्दर्य प्रशाधन र यौनको ठूलो बजार छ । पुँजीवादले मानिसको मन–मस्तिष्कमा इन्द्रीय सुखभोगवाद र स्वच्छन्द यौनाचारवादको मन्दविष छरिदिएको छ । यहाँ उसले यौन बजारको प्रचुर सम्भावना देखेको छ । जसअन्तर्गत उसले सेक्स खेलौना, सेक्स पर्यटन, पोर्नोग्राफी, बाल यौनचलचित्र (चाइल्ड पोर्न), बास्नादार, काँडेदार कण्डम आदिको खरबौं डलरको भूमण्डलीय बजार तयार पारेको छ । यसको प्रचारप्रसारमा टिभी, डिभिडी, सिडी, मोबाइल, इन्टरनेट, कम्प्युटर, गुगल, ब्राउजर आदिको फेरि अर्को बजार तयार पारेको छ । उच्चवर्गलाई त पहिलादेखि नै यसको लत लागिसकेको छ । मजदुर पनि यसबाट अछुतो रहन सकेका छैनन् । मजदुरहरुलाई आन्दोलनबाट दिग्भ्रमित पारेर आफूझैं उत्पीडक बनाउन पुँजीपतिहरु धेरै हदसम्म सफल भइसकेका छन् । अश्लीलताको रायले गिदीलाई भुटिसकेका छन् ।

एउटा मजदुर दिनभरि भारी बोक्छ, बेलुका साइबरमा गएर मोबाइलमा पोर्नो डाउनलोड गर्छ । रक्सी र पोर्नोको नशामा ऊ अन्धो हुन्छ । धेरै दिनदेखि श्रीमतीको गन्ध नपाएको उसले एउटी अबलालाई बास्नाको शिकार बनाउँछ । पुँजीवाद एउटा मजदुरलाई समेत आफूझैं उत्पीडक बनाउन यसरी सफल हुन्छ । 

नानु, तिमीझैं बलात्कृतलाई अझ बलात्कृत बनाउनमा सिग्रेडका चलचित्रहरु पनि जिम्मेवार छन् । जहाँ कुनै महिलाको बलात्कार भएपछि उसको इज्जत गयो भनेर प्रचार गरिन्छ । इज्जत कसको जान्छ नानु ? बलात्कार गर्नेको कि बलात्कृत हुनेको ? के स्त्रीको इज्जत भनेको स्तन र योनी मात्र हो ? उसको योग्यता, कला, प्रतिभा कुनै इज्जत होइन ? 

अन्त्यमा तिमी जहाँ छौ, त्यहाँ यहाँ जस्तै अपसंस्कृतिको प्रसार छैन होला । नशाको कारोबार छैन होला । नीति–निर्माताको हालीमुहाली छैन होला । अम्लका वर्षाहरु छैनन् होला । त्यसो भए पक्कै पनि तिम्रो आत्माले शान्ति पाउनेछ ।

टिप्पणीहरू