​कांग्रेसको नयाँ विवाद

नेपाली कांग्रेसमा फेरि विवाद शुरु भएको छ । नयाँ विवाद हो, पार्टीका आन्तरिक संरचनाहरू सहमतिमा गठन गर्ने कि निर्वाचनबाट  ? आन्तरिक संरचनाहरू संघीय प्रणाली अनुरुप गठन गर्नुपर्ने थियो ।

त्यो अहिलेसम्म भएको छैन । देश संघीय प्रणालीमा गइसकेपछि पार्टीको सञ्चालन पनि सोहीअनुरुप हुनुपर्ने थियो, त्यो भएको छैन । त्यसो त देश गणतन्त्रमा गइसकेपछि पार्टी प्रणाली पनि गणतान्त्रिक विधिमै सञ्चालन हुनुपर्ने थियो । कांग्रेसमा त्यो पनि अहिलेसम्म भएको छैन । पार्टी अझै पनि राजतन्त्रात्मक शैलीमै चलिरहेको छ । पार्टीका संरचनाहरू चुनावै नगरिकन गठन गर्ने भनेको के हो  ? त्यही राजतन्त्रात्मक शैलीमा गठन गर्ने भनेको होइन ? नेताहरूले टीका लगाउँदै पदाधिकारी छान्ने । राजतन्त्रमा पनि हुने यही त हो ।

कांग्रेस आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी मान्छ । तर पार्टी लोकतान्त्रिक भएर के गर्नु नेताहरू राजतान्त्रिक रहेछन् । राजाले देश चलाए जस्तो नेताहरू पार्टी चलाउन चाहन्छन् । अनि कसरी चल्छ पार्टी  ?

टिप्पणीहरू