​कठै, सुतुरमुर्ग बन्दैछन् कमरेड

​कठै, सुतुरमुर्ग बन्दैछन् कमरेड

नारायण नेपाल

सबैभन्दा खतरानाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कुनै छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निस्कनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु

भारतीय कवि अवतारसिंह पासले आफ्नो कवितामा भनेझैँ मान्छेहरूका लागि संसारमा सबैभन्दा खतरनाक हुन्छ, सपनाहरूको मृत्यु हुनु । नेपालको माओवादी जनयुद्धलाई नियाल्ने हो भने आज एक भयावह चित्र देखिन्छ । हजारांै नेपाली जनताका छोराछोरीको चिहान एकतर्फ छ भने जनयुद्धले देखाएका सपनाको चिहान अर्कोतर्फ छ । जनमनमा प्रश्न पोखिएको छ योद्धाहरू बरालिएका छन् र विरक्तिएका छन् तर प्रश्नहरू उठिरहेका छन् । त्यो महासमरको यात्रा हिंसाको नरसंहार कि महान् उत्सर्गको विजययात्रा ।

माओवादी आन्दोलनको पछिल्लो विद्रोही शक्ति प्रतिबन्धित नेकपा भएसँगै मरे भनेका सपना ब्युँझिएको छ । आज माओवादी आन्दोलन आस र त्रासको दोबाटोमा उभिएको छ । समरका सपना फेरि बौरिएका छन् । सपनाको व्यापारी छन् । सपनाका हत्यारा नहोलान् भन्न सकिन्न ? नयाँ आन्दोलन र युद्धको विकासका लागि पुरानो असफलयुद्धको निर्मम समीक्षा हुन जरुरी छ ।

त्यही असफलताको समीक्षा र शिक्षा नयाँ युद्ध विजयको आधार बन्न सक्छ । जसरी गोर्खाली राजा नरभूपाल शाहको सेनाले व्यहोरेको पराजय पृथ्वीनारायणका लागि विजयको मार्ग खोज्ने आधार बनेको थियो । त्यस्तै छ, माओवादी कथाहरू कतिपयले रुकुमको खारा मोर्चा नै त्यस्तो अचुक औषधि हो जसले बदल्यो हिजोको माओवादीलाई आजको संसद्वादी पथमा । के हो त खारा मोर्चाको वास्तविकता खारामा नाफाको जीवन पाएका योद्धा र जनयुद्धका शहिद परिवारलाई दर्शक बनाउँदै प्रचण्ड, नन्दकिशोर पुन, जनार्दन शर्मा प्रभाकर लाई मञ्चमा राखेर प्रश्न सोध्न मन छ । लोकतान्त्रिक गणतन्त्रमा आउनुको बाध्यता भन्दै प्रचण्डले ‘म बाबुरामको लाइनमा आएको होइन, खारा मोर्चा हारेको कारण अब सकिन्न भनेर आएको हो’ भनेका कुरा केही समय अघिसम्म निकै चर्चा थियो ।

तर, खारा मोर्चाका राजनीतिक कमिसार नेत्रविक्रम चन्द ‘विप्लव’ले– ‘खारा मोर्चा बाध्य कारणले नभएर शक्तिको केन्द्रीकरण नभएर आन्तरिक कारणले हारिएको हो । भन्ने उल्लेख गरेका छन्् । यसरी शक्तिको विकेन्द्रीकरण, अन्फेन्स–डिफेन्सको तालमेल नमिल्नु नै खारा मोर्चाको असफलता मानिन्छ । खारा मोर्चाको असफलता शाही सेनाका कारण नभएर आन्तरिक कारणले भएको विप्लव पक्षका नेताहरूको धारणा छ । जनयुद्धमा खारा मोर्चाको असफलतापछि पनि रणनीतिक प्रत्याक्रमणको नीति कायम रहेको थियो । खारा हारेर फर्केको भए रणनीतिक प्रत्याक्रमणको रणनीति कसरी कायम रह्यो त ? बहस जरुरी थियो प्रश्न अनगिन्ती थियो र रहिरहेको छ । खारा मोर्चाको असफलता माओवादीको आन्तरिक कारण प्रधान थियो, यो समग्र जनयुद्धकोे पराजय थिएन, किनभने माओवादीले यो मोर्चापछि पनि माओवादीले थुप्रै मोर्चामा विजय प्राप्त गरेका थिए, जस्तो पिली, कपिलवस्तु, रामनगर (बुटवल), मलंगवा, थानकोट, पाल्पालगायत मोर्चामा माओवादीले भारी सफलता प्राप्त गरेको थियो । माओवादी आन्दोलनमा वैचारिक, राजनीतिक र प्रविधिमा थप विकास आवश्यक थियो, माओवादीका लागि युद्धक विमान र बंकर तोड्ने नयाँ चुनौती जनयुद्धमा थियो । जनयुद्ध दमनमा प्रयोग भएको अमेरिक फोर्टीफिकेसन र काँडेतारबार एक चुनौती थियो । जनयुद्धले राष्ट्रिय मुक्ति युद्धमा प्रवेशका चुनौती सामना गर्नुपर्ने, नेतृत्व स्वयंले निर्णायक जोखिम मोल्नुपर्ने र समग्र विकासको चुनौतीका सामु प्रचण्डले सामना होइन, आत्मसमर्पण गर्न पुगे । सबै समस्या त्यहीँबाट सिर्जना भएको देखिन्छ । शृंखला नयाँ एमाले जन्म र विप्लवको असन्तुष्टि हुँदै प्रतिबन्धसम्म पुगेको छ । काँडेतारमा अल्झेको युद्धको कथाले नयाँ मोडलिएको घटनाका रूपमा खारालाई लिने गरिन्छ ।

पछिल्लो पटक विप्लवको नेकपा यात्रा र प्रतिबन्धसँगै एक स्थायी समिति सदस्य सुदर्शन काभ्रेबाट गिरफ्तारमा परे । डबल नेकपा सरकार विप्लव समर्थकलाई हतोत्साही पार्ने जेल हाल्ने आत्मसमर्पण गराउने र गलाउने र फुटाउने रणनीतिमा लागेको छ । सत्ता र शक्तिको दुरूपयोग गर्दै र सागर भट्न जाने नदीमा पौडिँदै गएका माछाहरू जलहारीको बल्छीमा परेजस्तो सूचना प्रविधिको धरापमा परेर ठुल्ठूला घटनासमेत भएको छ । हिजो र आज पनि । निरन्तर उस्तै एम्बुसमा परेका छन् कमरेडहरू किन होला ? यो देख्दा सुगाको कथाजस्तै लाग्छ, यस्तो छ सुगाको कथा । सुगाका पुर्खाहरूले शिकारीका सास्ती निकै भोगेका रहेछन् शिकारीहरूको जालमा परेर धेरै सुगा मरेको देखेपछि एक माउ सुगाले आफ्ना बचेरालाई नारा सिकाएछन् । शिकारी आउँछ जाल बिच्छ्याउँछ न फस्नु है † अब यो गाउँको सुगा गोपी कृष्ण काउ होइन, शिकारी आउँछ जाल बिच्छ्याउँछ नफस्नु है भन्ने नारा लागाउन थालेछन् । यो देखेर चकित भएको शिकारीले नयाँ शिकारी पासो थापेछ तर सुगा भने उही जालको सम्झना गर्दै शिकारी आउँछ जाल बिच्छ्याउँछ नफस्नु है भन्ने नारा लगाइरहेका रहेछन् । जाल र शिकारी पासो कस्तो होला भन्ने नसिकेका ती सुगा शिकारीको पासोमा परेर त्यही नारा लगाइरहेका थिए, शिकारी आउँछ जाल बिच्छयाउँछ नफस्नु है !

उस्तै छ कमरेडहरूको कथा पनि । हिजो प्रकाण्ड गिरफ्तारीपछि सुदर्शनको गिरफ्तारी पनि उस्तै भयो । उस्तै तरिकामा कसैले शैली बदल्न नसकिएपछि निरन्तर गिरफ्तारी भइरहेका छन्, पछिल्लो पटक असलसमेत स्कोर्पियोमा पक्राउ परे । कतिपय कमरेड पनि सुतुरमुर्गले आकाशमा गड्याङगुडुङ गर्दा जमिनमा टाउको लुकाएर सुरक्षित ठानेजस्तो मास्क लगाउने, फोन फेर्ने तर मोबाइल र फेसबुक नछाड्ने नेताहरू अधिकांश जेलनेल परेका थिए । अस्तव्यस्त जीवन शैली र बदलिएको परिस्थिति र परिवेशअनुसार अभ्यस्त हुन नसक्नेहरू जेलयात्रा पुगेका छन् ।

समर्पण, निष्ठा भाव, त्याग र वीरता बलिदान नहुन हाइफाइ रवाफ तडकभडकमा रमाउनेहरू विचारप्रतिको विश्वासकै अभाव हो । कार्यकर्ता समातेपछि खुरुखुरु गएर नेताको सेल्टर देखाउनेबाट कसरी होला त रक्षा हेडक्वार्टरको ? नेताहरू सिम बदल्ने र कैयौं पूर्वसहयोद्धाहरू नै सुराकी गर्नेसम्म हर्कत गरेका छन् । जनयुद्धमा रुकुमको राडी चौकीको सफल हमलाको योजनाकार एकीकृत जनक्रान्तिको प्रक्षेपण नहँुदै दोस्रो पटक सरकारी निशानको एम्बुसमा परेका छन् । कमरेड माओले भनेका थिए, ‘आफूलाई चिन दुस्मन चिन, लडाइँ जित्छौ’ भनेर के नचिनका होलान् कमरेडले ? आफूलाई चिनेन् कि दुस्मनलाई ?

एक सामान्य कार्यकर्ता समात्दा लहरो तान्दा पहरो भनेझैं हेडक्वार्टर नै तानिँदा प्रहरी हौसिएका होलान् । मान्छेलाई कुटेर, चुटेर, यानता दिएर षड्यन्त्र गरेर होइन, प्रशासनले गहन अध्ययन अनुसन्धान गरेर बन्न सकोस् हिजो मोबाइल प्रविधि थिएन, गाउँ शहरको विकास र सडक सञ्जालको विकास थिएन । घर–घर तीनतले बुइँगल थिए, कतिपय नेताले १० वर्ष बुइँगलमै बिताएका थिए । आज घरहरू भुइँ छाप्रोमा बदलिएका छन् । सडक र मोबाइल सञ्जालले ढाकेको छ, कुना कन्दरा यो समाजमा आएको बदलाब हो । रोचक त के भने, पार्टीभन्दा पहिले जनवर्गीय संगठन भूमिगत हुने कस्तो संगठन हो । ठेस लागेपछि ऐया त सबैले भन्छन् तर अलि चार हात परसम्म हेर्न के ले छेक्छ नेताहरूलाई ? हिजो मार्क्सले कम्प्युटर चलाएका थिएनन्, आइफोन चलाएका थिएनन् । लेनिनले फेसबुक र इमेल र ट्वीटर चलाएन अब प्रविधिको सतर्कतापूर्ण उपयोगबारे नसोच्दा आन्दोलनलाई समेत क्षति पुग्न सक्ने खतरा हुन्छ । सवाल आजको हो तर प्रश्न लड्ने र जित्ने नै हो ?

उच्च प्रविधि र घरेलु प्रविधिको प्रयोग आवश्यकताका आधारमा सन्तुलित रूपमा गर्न जरुरी हुन्छ । प्रविधिको प्रयोगले मान्छेको कार्यक्षमता र दक्षता र प्रभावकारितालाई थप गुणस्तरीय र विस्तार गरेको हुन्छ । त्यसलाई सही रूपमा विकास गर्नु र आवश्यकताको आधारमा उपयोग गर्नुचाहिँ वैज्ञानिक हो जस्तो लाग्छ । आजको दुनियाँ ड्रोन मानवरहित प्रविधिमा रमाउँदै छ । आज अर्बौं मान्छेलाई सामाजिक सञ्जालले जोडेको छ । सूचना प्रविधिले गल्ली–गौंडामा धराप थापेको छ ।

नेकपाले आजको नेपालको सामाजिक विशेषतालाई विश्लेषण गर्दै सात बुँदामा उल्लेख गरेको थियो । सूचना प्रविधिमा भएको क्रान्ति र यातायातको विस्तारले नेपाली समाजको नयाँ अवस्थाको विकास भएको निष्कर्ष थियो । २१औं शताब्दीमा आउँदा नेपाली समाजको बदलिएको विशेषतालाई औंल्याउँदै प्रतिबन्धित नेकपाको दस्ताबेजमा महासचिव कमरेड विप्लवले दस्ताबेजमा उल्लेख गरेका छन१९ र २० औँ शताब्दीमा विज्ञान र प्रविधिको विकास यो स्तरसम्म आइसकेको थिएन । प्रायः प्रविधिको नियन्त्रण राज्यसँगै थियो । परन्तु यो शताब्दीमा प्रविधिक क्षेत्रमा अभूतपूर्व क्रान्ति हुन गएको छ । यसलाई विज्ञहरूले चौथो क्रान्ति पनि भन्ने गरेका छन् । प्रविधिमा जनताको पहुँचले गर्दा विगतकालका सामाजिक सम्बन्धहरू बदलिएका छन् । प्रविधिबिना समाज नै अपांग बन्ने देखिन्छ ।

यसरी नेपाली समाज र प्रविधिबारे व्याख्या गर्दै दस्ताबेज लेखिने र नेता–कार्यकर्ता त्यही असावधानीले जेल जान कस्तो संयोग परेको छ । आज हामीलाई सूचना प्रविधिले एकातिर पूरा खुला र व्यापक बनाइएको छ र निकै समाज साँघुरो र बन्दकोठामा कैद गरेको छ । कम्प्युटर टेलिभिजन मोबाइल फोन अनलाइन फेसबुक यातायातका साधन अत्यावश्यक भएका छन् । र, त्यही नै धराप पनि थाप्दै छन् ।

हिजो लेनिन र माओका बेला महिनौं र वर्षौं लाग्ने सूचना आपसि सम्बन्ध र जानपहिचान आज मिनेटमै जोडिन पुगेको छ । हप्तौं र वर्षौं कुर्नुपर्ने सूचना र सम्बन्धहरू आज सेकेन्डमा सहजपूर्वक भएका छन्, यो प्रविधिको विकास हो । जसको बोध र सही रूपमा ग्रहण गर्दै क्रान्तिका यात्रा अगाडि जान जरुरी छ ।

हिजो कृष्णबहादुर महराले सञ्चारमन्त्री हुँदा ल्याएको घर–घरमा इन्टरनेट हातहातमा मोबाइल सेटको नारा त्यही व्यापारको एजेन्डा थियो कि सूचना प्रविधिमा क्रान्ति ? आज मेडिकल साइन्सले ठूलो चिरफार नगरी सानो प्वाल पारेर ठूलो अपरेशन गर्न सक्ने प्रविधि विकास गरेको छ । हाम्रो समाज विज्ञानमा नयाँ विचारले सानो धक्का कम बलिदान र कम क्षतिबाट ठूलो उपलब्धिप्राप्त गर्ने, युद्ध जित्ने अवस्था निर्माण हुन किन सक्दैन ? उत्तरको ठूलो छिमेकीले विखण्डन र एकीकरणको विशाल आरोह–अवरोह खेपेको छ । दक्षिणको छिमेकीले बेलायती उपनिवेश खेपेको छ । तर, यो सानो टुक्रा कसरी बचेको छ । त्यो इतिहासको गौरवलाई जोड्न सक्छ त अबको क्रान्तिले ? त्यसको भूराजनीतिक ऐतिहासिक अर्थराजनीतिक र समाजशास्त्रीय आधारहरू पहिल्याउँदै पकड्न जरुरी छ ।

भनिन्छ, मरे भनेका सपनाहरू ब्युँझिएको छ । आज माओवादी आन्दोलन आस र त्रासमा उभिएको छ । सपनाहरू फेरि त्यो आजादीको सपनाहरू एक लडाइँको संग्रामको डिलमा देश उभिएको छ । जनताको मुक्तिका लागि निरन्तर लड्न जरुरी हुन्छ । सिमकार्डमा अल्झेको सपना उजेल्ने प्रयास गर्न जरुरी छ ।

टिप्पणीहरू