​प्रतिभाशाली राउत

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी नेता सीके राउतलाई संबोधन गर्दै भन्नुभएको थियो, ‘उहाँ बहुत प्रतिभाशाली व्यक्ति हुनुहुन्छ ।’
नभन्दै राउतले आफ्नो प्रतिभा देखाउन थालिहाल्नुभयो । काठमाडौंमा सरकारसँग सम्झौता हुँदासम्म खासै प्रतिभा देखाउनुभएको थिएन । जब जनकपुर पुग्नुभयो, आफ्नो प्रतिभा देखाउन थाल्नुभयो । जनकपुर विमानस्थलदेखि नै उहाँको प्रतिभा प्रदर्शन हुन थाल्यो ।

काठमाडौंमा भएको सम्झौतामा जे कुरा अब देखाइँदैन भनिएको थियो, त्यही देखाउँदै जुलुस हुन थाल्यो । कार्यकर्ताले सीके जिन्दावाद, स्वतन्त्र मधेस पनि जिन्दावाद भन्न थालेपछि काठमाडौंमा उहाँसँग सम्झौता गर्ने नेता जम्मैलाई थाहा भयो, उहाँ साँच्चै प्रतिभाशाली हुनुहुँदो रहेछ । प्रतिभा पनि कस्तो, काठमाडौंमा प्रधानमन्त्रीलाई समेत चिल्लै छक्याइदिने । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छक्याउनु सानो कुरा होइन । त्यो सानोतिनो प्रतिभाले गर्न सक्ने काम पनि होइन । यसैबाट थाहा हुन्छ, सीकेसँग कति प्रतिभा रहेछ ! र, अनौठो कुरा त के हो भने उहाँसँग यति धेरै प्रतिभा रहेको कुरा प्रधानमन्त्री केपीलाई पहिल्यै थाहा रहेछ । सम्झौता थाहा हुँदाहुँदै गर्नुभएको रहेछ ।

त्यसैले कमरेड भीम रावल आक्रोशित हुनु स्वाभाविकै हो । कमरेल रावल पार्टीमा बस्नुभएको त्यत्रो वर्ष भइसक्यो । तैपनि उहाँलाई आजसम्म प्रधानमन्त्रीले एकपटक पनि ‘प्रतिभाशाली’ भन्नुभएन । तर अहिले रावललाई छोडेर राउतलाई प्रतिभाशाली भन्न थाल्नुभएको छ । कमरेड रावललाई आफ्नो गुम्सिएको रिस कहाँ पोखुँ भइरहेको थियो, मौका पाइहाल्नुभयो । प्रतिभा त रावलको मात्र कहाँ कम हो र ?

टिप्पणीहरू