लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा

सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर ९ देखि २५ सम्म मनाईंदै छ । नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापीरुपमा सञ्चालन हुँदै आएको हो ।

सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।

यो वर्ष Orange the World : end violence against women now नारासहित लैंगिक हिंसाविरुद्धको दिवस विश्वभर मनाईंदै छ । नेपालमा भने घरैबाट सुरु गरौ : महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरु गरिँदै छ । दिवस मनाइरहँदा समेत महिला हिंसाको घटनामा कमी आएको देखिँदैन । संयुक्त राष्ट्र संघका अनुसार लगभग तीनमध्ये एक जना महिला आफ्नो जीवनकालमा दुव्र्यवहारको शिकार भएका छन् ।

युएन वुमनको १३ देशको तथ्याङ्कमा आधारित नयाँ प्रतिवेदनअनुसार महामारीपछि तीनमध्ये दुई महिलाले आफू वा आफूले चिनेका महिलाले कुनै न कुनै प्रकारको हिंसाको अनुभव गरेका छन् । त्यसैगरी उनीहरुले खाद्य असुरक्षाको सामना समेत गर्र्नुपरेको छ । १० मध्ये एक जना महिलाले मात्र मद्दतको लागि प्रहरीमा जाने गरेको बताएका छन् ।

कानुनी तथा नीतिगतरूपमा महिलाअधिकारको प्रवद्र्धन सकारात्मक रहेको देखिए तापनि व्यवहारिक रूपमा समाजमा अझै लैंङ्गिक विभेद, महिला हिंसा विद्यमान छन् ।

घरायसी कामलाई अनुत्पादनमूलक कामको रूपमा लिइनु, विभेद, दमन, शोषण, अत्याचार र बहिष्करण आदि जस्ता पक्षहरूको सिकार आज पनि नेपाली महिलाहरू भइरहेका छन् ।

राष्ट्रिय महिलाअधिकार मञ्च काठमाडौले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई पर्वको रुपमा मनाउने शैली बन्द गर्न आग्रह गरेको छ । अधिकारकर्मी रमिला योञ्जनले महिला हिंसा उन्मूलन दिवसलाई पर्वको रुपमा मनाउने शैली परिवर्तन गर्न महिला हक अधिकार सम्बन्धी काम गर्ने हरेक संघ–संस्थालाई आग्रह गर्नुभएको हो ।

उहाँले महिला हक अधिकार सम्बन्धी र महिला सम्बन्धि बनेका कानुनको व्याख्या गर्ने व्यक्तित्वहरुको वर्षौदेखि भाषण र शासनमा फरक भइरहेको समेत बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘महिला हक अधिकार सम्बन्धी र महिला सम्बन्धी बनेको कानुनको व्याख्या गरेर स्टेज तताउनु भएका हाम्रा वरिष्ठ व्यक्तित्वहरुले आफना भनाइहरु व्यवहारिक रूपमा कार्यान्वयन गर्नु भएको छ त ? वर्षौंदेखि भाषण र शासनमा किन फरक भइरहेको छ त ?’

उहाँ आवद्ध संस्थाले समय बदलिएको र पुरानै शैलीमा महिला दिवसहरु मनाउन छाडेर केही फरक गर्नुपर्ने तथा भीआईपी होटलमा कार्यक्रम आयोजना गरेर बजेट सक्नुभन्दा कुनै अनाथलयलाई व्यवस्थित बनाउन सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

यस्तै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको लैंङ्गिक हिंसा निवारण शाखा प्रमुख ममता विष्टले लैंगिक हिंसाविरुद्ध सबै प्रदेशमा कार्यक्रम भइरहेको र सोविरुद्घ कार्यक्रम गरेर लैंङ्गिक हिंसा रोक्न नसकिने, सचेतना मात्र बढाउन सकिने बताउनुभयो ।

उहाँले अहिले १६ दिन मात्र नभइ अरु समयमा पनि यस्ता कार्यक्रम स्थानीय तहले गर्नु पर्ने भएकाले उनीहरुलाई सँधै गर्न आफूहरुले पहल गर्ने र घच्घच्याउने बाहेक अरु केही गर्न नसक्ने जानकारी समेत दिनुभएको छ ।

उहाँले भन्नु भयो, ‘कार्यक्रम गरेर सचेतना बढाउने हो । हामीले स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै जाने हो । वर्षका अरु दिनमा स्थानीय तहले कार्यक्रम गर्नु पर्ने हुन्छ । तर केही स्थानीय तहले त्यसो गरेका छैनन् भन्ने गुनासो सुन्ने गरिएको छ । हामीले स्थानीय कोष सम्बन्धित ठाउँमा पठाएका छौं । हामीले कार्यक्रम गराउन पहल गर्ने हो । अरु सबै स्थानीय तहको हातमा हुन्छ ।’

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगले महिलामाथि हुने कुनै पनि हिंसा नगर्ने, नसहने र भएमा सशक्त प्रतिकार गर्ने सामूहिक प्रतिबद्धता जनाएको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले ७५ प्रतिशत हिंसा घर, नजिकका आफन्तबाट हुने गरेको पाइएको जानकारी दिनुभयो । उहाँले हिंसामा परेकाले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिने डरले नै अधिकांश महिला हिंसाविरुद्ध उजुरी गर्न नआएको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू