महाकाली नदीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, अर्का बेपत्ता

महाकाली नदीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, अर्का बेपत्ता

महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो अपरान्ह महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परेकामध्ये एक बालक अझै बेपत्ता छन् ।

आज जनआस्थासँग कुराकानी गर्दै शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउदले सशस्त्र प्रहरी बलले नदीमा डुङ्गा चलाउन नदिए पनि आफुखुशी लुकेर भारत जाने क्रममा दुर्घटनामा परेको बताउनुभएको छ । उहाँकाअनुसार मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मिना साउद हुन् । बेपत्ता हुनेमा सोही स्थानका आठ वर्षीय सन्दीप साउद हुन् ।

दुर्घटनामा मिना र सन्दीप बेपत्ता रहेकामा मिनाको शव आज बिहान साढे ७ बजे महाकाली नदी किनारमा फेला परेको अध्यक्ष साउदले बताउनुभएको छ । साउदका अनुसार बेपत्ता सन्दीपको खोजी कार्य जारी छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेको बताइन्छ । डुङ्गा ढुङ्गामा ठोक्किएर दुर्घटना भएको अध्यक्षले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू