नेपालमा अनलाइन शिक्षाको स्तर : रुख चढेर एक घण्टाको कक्षा
कोरोना महामारीका कारण वाध्यात्मकरुपमा प्रविधि मैत्री बनेको नेपाली समाज उत्तिकै दु:खदायी र कष्टकर अवस्थामा छ । वैकल्पिक माध्यमका रुपमा सहज मानिँदै आएको प्रविधिको पहुँच देशका विकट तथा दुर्गम ठाउँमा सहज नहुँदा थप कष्टकर बनेको हो ।
समाज प्रविधिमैत्री बन्दै जाँदा इन्टरनेट,विद्युत आपूर्ति जस्ता समस्याले यसको वितरणमा असहजता थपेको पाइएको छ । महामारी रोकथामका लागि सरकारले डिजिटल प्लेटफर्मलाई वैकल्पिक माध्यमकोरुपमा बिस्तार गरेर सेवा प्रदान गरे पनि यसका कैयौं असहजता फेला पर्न थालेका छन् ।
हालै सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चामा आएको अनलाइन कक्षाका लागि रुखमा डेरा बनाइएका तस्वीर बग्रेल्ती छन् । ग्रामीण क्षेत्रमा मात्र नभई इन्टरनेटको पर्याप्त सुविधा नहुँदा यसको असर शहरी क्षेत्रमा समेत पर्दै आएको छ ।
विशेषगरी अनलाइन कक्षा, अनलाइन फारमलगायतका सेवा सुविधामा प्रविधिको कमजोरी पर्याप्त रहेको नेपाली समाजले देख्दै र भोग्दै आएको छ । अहिले चर्चामा आएको रुखमा बनाइएको विद्यार्थीको डेराले नेपाल अझै पूर्णरुपमा प्रविधिमैत्री बन्न नसकेको प्रष्ट हुन्छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१०,अर्खौले,नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएको खबर बाहिरिएका छन् । सरस्वती मावि अर्खौलेको कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षा लिइरहेका छन् ।
उनले अर्खौले नवलपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताएका छन् । अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उनी रुखमा बनाइएको डेरामा बस्ने गरेका हुन् ।
विद्यालयले साउन २४ गतेदेखि अनलाइन कक्षामार्फत् पढाइ शुरु गरेको छ । तर,नवलपुर सिम्लेमा मोबाइलबाट इन्टनरनेट नचल्ने हुँदा डाटा कनेक्ट गरी जुम मिटिङमा ज्वाइन हुन रुख चढ्नुपर्ने बाध्यता आइलागेको हो । इन्टरनेटको समस्याका कारण आफू ८/९ दिनसम्म अनलाइन कक्षामा सहभागी हुन नसकेको उनको गुनासो छ ।
पढाइ छुट्न थालेपछि एउटा जुक्ति निकाल्दै रुखको फेदमुनि बसेर चेक गर्दा कनेक्सन राम्रो देखेको र रुख चढ्दा अझ राम्रो कनेक्सन हुने ठानेर रुखमा चढेको उनले बताएका छन् । रुखमा चढेपछि आफूले सहजै कक्षा लिन सफल भएको बताएका मगरले रुखमा डेरा बनाउन बाध्य भएको उल्लेख गरे ।
केही समयअघि पनि दोलखाको भीमेश्वर नगरपालिकाका विद्यार्थीहरुले अनलाइन कक्षामा सहभागी हुनका लागि इन्टरनेटको खोजीमा सोही स्थानको एउटा डाँडामा पाल टाँगेर पढेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
यसो त देशका अधिकांश स्थानमा अनलाइन कक्षाको पहुँचका लागि विद्यार्थीहरुले अनेक जुक्ति लगाएका तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हुन थालेको छ ।
इन्टरनेट र विद्युत आपूर्तिमा आएको अवरोधका कारण कैयौं विद्यार्थीले महामारीको समयमा अनलाईनबाट समेत गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेको अभिभावकहरुको गुनासो छ ।
टिप्पणीहरू