गृहमन्त्रीको गृहजिल्लामा विपदै विपद् : अनुगमनका लागि संविधान दिवसको पर्खाइ

गृहमन्त्रीको गृहजिल्लामा विपदै विपद् : अनुगमनका लागि संविधान दिवसको पर्खाइ

नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा विपद्का घटना घटेको हप्तौं बितिसकेको छ । आफ्नै क्षेत्रमा बाढीपहिरो, हत्यालगायतका घटना घट्दासम्म उनको मौनताले जिल्लावासी दुःखी बनेका छन् ।

गत भाद्र १० गते परेको अविरल वर्षाका कारण तहसनहस भएको र औद्योगिक क्षेत्रसमेत रहेको मधबलियामा करोडौं बराबरको क्षति हुँदा,बुटवलको ज्योतिनगर पहिरो र तिनाउ नदीको कटानले ५० घरपरिवार विस्थापित हुँदा, जिल्ला भर बाढीले चार जनाको ज्यान जाँदा तथा एक जना बेपत्ता हुँदा र आफ्नै गृहनगरमा रहस्यमय हत्या हुँदा उनको चासो नदेखिएको गुनासो आउन थालेका छन् ।

‘आवश्यक परे घटनाको अनुसन्धान गर्न सिआइबीको टोलीसमेत पठाउन तयार रहेको,’ मन्त्रीको भनाइ छ ।

केही समयअघि मेलम्चीमा आएको बाढीको दृश्यावलोकान हेलिकोप्टरबाट गरेका उनको अहिले आफ्नै गृहजिल्लामा बिरोध छ । रुपन्देहीको देवदहमा पुल भासिँदा क्षतिको विवरणसमेत नलिएको आरोप मन्त्रीमाथि लाग्दै आएको छ । स्थानीय सञ्चारकर्मीहरुका अनुसार आफ्नै घर छेउमा एउटी विवाहित चेलीको रहस्यमय हत्या हुँदा उक्त विषयमा पनि खाँणले चासो नदिएको बताइएको छ ।

बुटवलमा भदौ ११ गते गएको पहिरोमा नेकपा एमालेका नेता विष्णु पौडेलले क्षेत्रगत अनुगमन गर्दा मन्त्री खाँणको उपस्थिति थिएन ।

कहिले जान्छन् त गृहमन्त्री रुपन्देही ?

गृहमन्त्री बालकृष्ण खाँणले संविधान दिवसपछि गृहजिल्ला रुपन्देही जाने बताएका छन् । आज जनआस्थासँग कुराकानी गर्दै उनले अहिले सदनमा गृहमन्त्रालयले गर्नुपर्ने कार्यहरु धेरै भएको र भाँडभैलोमा चलिरहेको सदनको व्यवस्थापन नहुँदासम्म आफूले चाहेर पनि समय व्यवस्थापन गर्न नसकेको प्रतिक्रिया दिएका हुन् । संविधान दिवस नजिकिँदै गएको र दिवसमा पनि गृहले कैयौं कार्य गर्नुपर्ने जनाउँदै समय मिलाएर जाने प्रयास गरिरहेको उनको भनाइ छ ।

बाढीपहिरोलगायतका घटनावारे आफूले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग समन्वय गरेर विवरण लिएको बताउँदै हिजो गएको पहिरोले भोलि म आफैँलाई पनि क्षति पुर्याउन सक्ने भन्दै समय मिल्नेबित्तिकै अनुगमनमा जाने खाँणले बताएका छन् ।

गृहजिल्लामा विपद् आइलाग्दा अन्यत्र अनुगमनमा जानुले आफ्नै जिल्लाका नेता कार्यकर्ता रिसाएको छन् भन्ने गुनासा आएका छन् नि ? भन्ने जनआस्थाको प्रश्नमा जवाफ दिदैँ खाँणले अत्यधिक क्षति भएको क्षेत्र हेलम्बु र सो ठाउँका डाँडा कमजोर बनेकाले राष्ट्रिय गौरवको परियोजना मेलम्ची आयोजनाको विवरण लिन गएको बताए । उनले अगाडि भने, ‘छिटोभन्दा छिटो काठमाण्डौंबासीलाई मेलम्चीको पानी खुवाउन गृहले गर्नुपर्ने कार्यअगाडि बढाएको छु ।’

यस्तै,गृहनगर तिलोत्तमामा घटेको पछिल्लो रहस्यमय मृत्युको घटनाबारे बताउँदै खाँणले सिडिओलाई घटनास्थलमा खटाएर अनुसन्धानमा कमि आउन नदिन समेत अह्राएको जानकारी दिएका छन् । ‘आवश्यक परे घटनाको अनुसन्धान गर्न सिआइबीको टोलीसमेत पठाउन तयार रहेको,’ मन्त्रीको भनाइ छ ।

प्रहरीले हत्याको घटनालाई आत्महत्या भनेर अनुसन्धान गरेको विषयमा बुझ्दा मन्त्रीले तथ्यका आधारमा अनुसन्धान भएको र दोषीले सजाय पाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

टिप्पणीहरू