महिला प्रहरीका कसले बुझ्ने हुन् मर्म !

महिला प्रहरीका कसले बुझ्ने हुन् मर्म !

२१औं शताब्दीमा आइपुग्दासम्म अन्यत्रका महिलाले झैँ नेपालकाले पनि नगरेको सायदै कुनै पेशा छ । विगतको तुलनामा महिलाहरु अहिले निकै सक्षम छन् । तर जति नै सक्षम भए पनि हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा भने आमूल परिवर्तन हुन सकेको छैन ।

महिलाहरुले पनि केही गरेका छन् र अझै गर्न सक्छन् भनेर विश्वास गर्न हम्मे परेको देखिन्छ । नेपाली समाजले महिलाहरुले गरेका उदाहरणीय कामबाट केही पाठ सिक्न आवश्यक छ । शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेको सुरक्षा निकाय नेपाल प्रहरीभित्रको महिला प्रहरीलाई पनि एउटा गतिलो उदाहरणको रुपमा लिन सकिन्छ ।

प्रहरी भन्नेबित्तिकै सर्वसाधारणदेखि उपल्लो तहसम्मले एक निडर,बलवान, शक्तिशाली र जस्तोसुकै परिस्थितिमा समेत डटेर उभिन सक्ने पुरुष भन्ने मान्यता राख्दै आएका छन् । तर,त्यसमा महिला पनि हुन्छन् र छन् भनेर कसैले सोचेको पाईंदैन । नेपाल प्रहरीमा महिलाले २००८ सालदेखि सेवा गर्न थालेका हुन् । प्रहरीको तथ्याङ्कले पनि २०७३ यता ३ हजार २ सय ३६ जना महिला प्रहरी संगठनभित्र विभिन्न पदमा कार्यरत रहेको देखाउँछ ।

“कतिको गर्भवती भएको बेला चर्को ड्युटी र आवश्यक हेरचाहको अभावमा गर्भपतन भएको पीडा सुनिसाध्य छैन ।”

नेपालको पहिलो महिला प्रहरी भने काठमाडौँको चाबहिलमा जन्मेकी चैतमाया डङ्गोल हुनुहुन्छ । जो झण्डै ३२ वर्ष प्रहरी सेवामा हुनुहुन्थ्यो । २०७५ साल कार्तिक २८ गतेको मन्त्रिपरिषद् बैठकले डा.दुर्गा थापालाई बढुवा गर्ने निर्णय गरेसँगै प्रहरीको माथिल्लो तह प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा नियुक्त हुने हालसम्मकै पहिलो महिला प्रहरी बन्नुभएको छ ।

त्यसअघि सरकारले नायव महानिरीक्षक पदमा २०६४ सालमा बिमला थापालाई र २०६५ सालमा पार्वती थापालाई नियुक्त गरेको थियो । अहिले ललितपुर जिल्ला प्रहरी कार्यालयमा वरिष्ठ प्रहरी उपरीक्षकको पदमा रहनुभएकी किरण बज्राचार्य फिल्डतर्फ नेपाल प्रहरीमा कार्यरतमध्ये सबैभन्दा माथिल्लो पदमा हुनुहुन्छ । यसबाट पुरुष प्रधान समाजमा महिलाले पनि प्रहरी संगठनजस्तो रणनीतिक र चुनौतीपूर्ण संस्थामा जिम्मेवारी सम्हाल्न सक्छन् भन्ने उदाहरण मिलेको छ ।

महिला प्रहरीले हालसम्म गरेका कार्यलाई हेर्दा सतहमा सजिलो देखिए पनि व्यवहारमा निकै चुनौतीपूर्ण र कठिन रहेको उनीहरु नै बताउँछन् । उनीहरूका अनुसार अधिकांश स्थानमा महिला मैत्री शौचालयको अभावका कारण ड्युटीमा खटिएको बेला प्रशस्त पानी खान नमिल्ने निकै कष्टपूर्ण दैनिकी व्याप्त छ । झन् महिनावारी हुँदा निकै गाह्रो हुने गरेको छ । फौजी पोशाक भिर्दै चर्को घाममा प्रदर्शनकारीको भीडमाथि बल प्रयोग गर्नुपर्दाको क्षण निकै दुःखदायी हुने उनीहरु बताउँछन् ।

“टेण्डर गरेर खरिद गर्ने फौजी बुटमा महिला प्रहरीको गोडाको साइजलाई अहिलेसम्म ध्यान दिइएको पाईंदैन ।”

कतिको गर्भवती भएको बेला चर्को ड्युटी र आवश्यक हेरचाहको अभावमा गर्भपतन भएको पीडा सुनिसाध्य छैन । त्यहि कारण प्रहरीभित्र यस्ता धेरै महिला छन्, जसले अहिलेसम्म आमा बनेर सुखभोग गर्न सकेका छैनन् ।

यस्ता चुनौतीपूर्ण कार्यका बाबजुद पनि निरन्तर ड्युटीमा खटिएर महिला प्रहरीले मुलुक,समाज र जनतालाई आफ्नो सेवा प्रदान गरिरहेका छन् । जैविक समस्या, लैंगिक विभेद जस्ता समस्याहरुसँग लड्दै महिला प्रहरीहरु निरन्तर देश र जनताको सुरक्षामा खटिरहँदा भन्ने गरेका छन्, ‘हाम्रो लागि यहि सेवा नै सर्वश्व हो ।’

माथिल्लो तहमा महिला पुग्दा पुरुष प्रहरीले सलाम ठोक्नैपर्ने भए पनि उनीहरुले सम्मान दिने तरिकामा छुट्टै महसुस भएको नाम नबताउने शर्तमा एक जना महिला प्रहरीले बताइन् । महिला प्रहरीहरु माथिल्लो दर्जामा पुगे पनि उनीहरुलाई हेर्ने दृष्टिकोणमा भने खासै परिवर्तन आउन नसकेको उनीहरुको अनुभव छ । पुरुष प्रहरीले पाउने सुविधा महिला प्रहरीलाई दिइएको छ । तर सामाजिक मूल्य,मान्यता र सोचाइमा समानता झल्कन नसकेको उनीहरु बताउँछन् ।

उदाहरणको लागि प्रहरीले टेण्डर गरेर खरिद गर्ने फौजी बुटमा महिला प्रहरीको गोडाको साइजलाई अहिलेसम्म ध्यान दिइएको पाईंदैन । निश्चित नम्बरभन्दा सानो साइजको व्यवस्था नगरिँदा उनीहरुले लोकल पसलमा किनेर आफ्नै साइजको जुत्ता लगाउने बाध्यता छ ।

प्रहरी संगठनले आयोजना गर्ने कुनै पनि कार्यक्रममा महिला प्रहरीको सहभागिता रहेको थाहा पाउने बित्तिक्कै सहभागीको संख्या ह्वात्तै बढेको पाइन्छ । यसले पनि समाजमा महिला प्रहरीलाई हेर्ने दृष्टिकोण बिस्तारै परिवर्तन हुन थालेको भान हुन्छ । आत्मविश्वासले भन्दा पनि प्रहरी संगठनमा महिलाको सहभागितालाई अनौठो ठानेर उपस्थित हुने गरेको प्रहरीको बुझाई छ । संगठनले सर्वसाधारणमा अझै पनि महिला प्रहरी हुन्छन् र भन्ने आशंकाले काम गरेको बुझेको छ ।

हाल आएर प्रहरीमा महिलाहरुको लागि भनेर २० प्रतिशत कोटा छुट्टाइएको छ । संगठनमा महिला प्रहरी भएकै कारण समाजमा हुने गरेका महिला र बालबालिकामाथिको थिचोमिचो र विभिन्न अपराधका केस हेर्न सजिलो हुने गरेको छ ।

टिप्पणीहरू