एकल महिला वा पुरुषले नयाँ जीवन जिउन खोज्नु गलत हो ?

एकल महिला वा पुरुषले नयाँ जीवन जिउन खोज्नु गलत हो ?

एकल महिला वा पुरुषले आफू अनुकूलको नयाँ साथी खोज्नु अपराध हो ? अहिले सोलुखुम्बुमा एउटी महिलामाथि त्यस्तै आरोप लगाइएको छ । एउटी महिलाले उमेर छँदै श्रीमानको निधनपछि अर्को पुरुषसँग सामान्य सम्बन्ध राखेकोमा समेत कर्के नजरले हेर्ने गरिएको छ । झन् विवाह गर्न खोज्ने हो भने समाजले काण्डै मच्चाउँछ ।

अहिले सोलुखुम्बुमा एउटी त्यस्तै महिलालाई शारीरिक तथा मानसिक यातना दिइएको छ । प्रदेश नम्बर १ को सोलुखुम्बुमा साउन १७ गते डरलाग्दो घटना भयो । तर,पीडित महिलाबाहेक सम्बन्धित पक्षले यसबारे केही पनि बताउन चाहेनन् ।

थुलुंग दूधकोशी गाउँपालिकास्थित लोखिमकी ४१ वर्षीया एक शेर्पिनी महिलालाई त्यस्तै आरोप लगाएर उनकै परिवारले मरणासन्न कुटपिट गरेको छ । उनलाई स्थानीय ४८ वर्षीय विधुर पुरुषसँग नजिकिएको भन्दै निर्घात कुटिएको हो ।

‘उनीहरुले पटक पटक मार्ने धम्की दिने गरेका छन् । एक पटक उनीहरुले रातको समयमा ती पुरुषसँगै उनलाई एउटा कुर्सीमा बाँधेर उनको संवेदनशील अंगमा अगुल्टो झोसिदिएका थिए । तर पछि गाउँलेले बचाए ।’

उनीहरु दुबै जना एकल हुन्, दुबैका छोरा छोरी छन् तर उमेर अधबैंशे छ । माइती खोटाङ भएकी महिलामाथि विधवा भएर पनि ४८ वर्षीय पुरुषसँग सम्बन्ध राखेको भन्दै उनका छोरा टासी, भतिजहरु लोक्साङ् र सोना शेर्पा, देवरहरु आङदावा शेर्पा र दादिङ्गीले पटक पटक शारीरिक तथा मानसिक यातना दिएको यथार्थ बाहिर आएको छ ।

पीडितलाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘उनीहरुले पटक पटक मार्ने धम्की दिने गरेका छन् । एक पटक उनीहरुले रातको समयमा ती पुरुषसँगै उनलाई एउटा कुर्सीमा बाँधेर उनको संवेदनशील अंगमा अगुल्टो झोसिदिएका थिए । तर पछि गाउँलेले बचाए ।’

अहिले प्रहरी हिरासतमा रहेका देवर आङ दावाले उनलाई मदिरा सेवन गरी पटक पटक अभद्र ब्यवहारको गरेको बताइन्छ । एक पटक उनीहरुले प्रहरीको सामुन्ने लछारपछार गरेको कारण उनको एउटा हात नचल्ने भएको छ ।

पीडित महिलाले घर परिवारको यातना सहन नसकेर बाहिर अरुको घरमा आश्रय लिएकी थिइन् । परिवारको डरले उनी घरको नाम लिनेबित्तिक्कै तर्सिन थाल्छिन्न । हाल थुनामा रहेका देवर र भतिजाहरु थुनामुक्त भएमा आफू मर्नुको विकल्प नभएको महिलाले बताइन् ।

दूधकोशीस्थित प्रहरी कार्यालयका एक जना कर्मचारीले पनि घटनाबारे आफूहरुलाई जानकारी भएको बताए । कार्यालयले भनेको छ,‘यसबारे मध्यरातमा टेलिफोनबाट जानकारी आयो, लगत्तै प्रहरी घटनास्थलमा पुग्दा पीडितको शरीरमा निलडाम देखियो ।’

स्थानीयले उक्त घटनालाई तलै मिलाउन खोजे पनि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको बताइएको छ । प्रहरीका अनुसार महिलाले कुटपिटमा आफ्नो छोराको संलग्नता नरहेको तर देवर र भतिजाको संलग्नता रहेको भन्दै जाहेरी दिएपछि एकल महिलामाथि भएको हिंसाको तथ्य बाहिर आएको हो ।

प्रहरीको कारबाही प्रक्रिया जिल्ला तहमा पुगेको छ । उता एकल महिला र एकल पुरुष वैवाहिक जीवनमा बाँधिएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्ला दिनमा उनीहरुलाई धम्काउने क्रम रोकिएको छ ।

टिप्पणीहरू