काङ्ग्रेसमा जिल्ला,कसलाई कति सीट मिल्ला ?

काङ्ग्रेसमा जिल्ला,कसलाई कति सीट मिल्ला ?

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसलाई महाधिवेशनले झ्याप्पै छोपिसकेको छ । महाधिवेशनको मिति नजिकिंदै गर्दा केन्द्रदेखि वडासम्मको आगामी नेतृत्व आफ्नो पक्षमा पार्न जोड-घटाउ शुरु भैसकेको छ । कांग्रेसमा मुख्य रुपमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुनावी प्रतिष्पर्धा हुने धेरैको अनुमान छ । तर,दुवै पक्षभित्र केही नेता समूहबध्द भएर नेतृत्वको आकांक्षी देखिएपछि नेतृत्व चयनमा बहुपक्षीय भिडन्त हुनसक्ने आंकलनसमेत गरिएको छ ।

त्यसो त,क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित हुँदा घोषित मितिमा महाधिवेशन नहुने खतरा पनि देखिएको छ । तर,तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यताका कारण भदौ १६-१९ को राष्ट्रिय महाधिवेशन सर्ने सम्भावना लगभग छैन ।

घोषित मितिमै राष्ट्रिय महाधिवेशन गर्ने बताएको कांग्रेसले क्रियाशील सदस्यता विवादमा वडास्तरका अधिवेशनहरु भने स्थगित गरेको छ । साउन १२ गतेका लागि तोकिएको वडा अधिवेशन अर्को मिति नतिकिएसम्मका लागि स्थगन गरिएको छ ।

वडा अधिवेशन स्थगित भएपनि महाधिवेशनको रन्को गाउँसम्मै पुगेको छ । वडादेखि शुरु हुने प्रतिनिधि चयन प्रक्रिया नै केन्द्रीय महाधिवेशनको जग भएकाले पनि निर्वाचित प्रतिनिधि आफ्नो पक्षमा पार्न विभिन्न पक्षबीच रस्साकस्सी चलिरहेको छ ।

केन्द्रमा सभापति देउवा र वरिष्ठ नेता पौडेलको ध्रुवमा विभाजित काँग्रेस तल्ला तहसम्म आइपुग्दा अन्य नेताहरु निर्णायक देखिएका छन् । केन्द्रीय राजनीतिमा खासै चर्चामा नदेखिएका नेताहरुको पनि आफ्नो क्षेत्रमा बलियो पकड देखिएको छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।

महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीको गृह जिल्लासमेत भएकोले सुर्खेतलाई केन्द्रले पनि निकै चासोका साथ हेरेको छ । खड्का सभापति देउवा र थानी वरिष्ठ नेता पौडेल पक्षका हुन् ।

सुर्खेतमा नौ स्थानीय तह र ९९ वडा छन् । स्थानीय तहलाई आधार मान्दा आठ वटामा खड्का पक्ष बलियो रहेको बताइन्छ भने वडा तहमा झण्डै ५० प्रतिशत थानी पक्षका कार्यकर्ता रहेको दावी गरिएको छ ।

क्षेत्र नं. १ मा ५४ र क्षेत्र नं. २ मा ४५ वडा गरी कूल ९९ वडामध्ये थानी पक्षले ६३ वडामा आफ्नो पकड रहेको दावी गरेको छ । सात वटा वडामा मिश्रित प्रतिनिधि निर्वाचित हुने बताइन्छ । स्थानीय तहको अवस्था जस्तो भएपनि वडामा आफ्नो पकड बलियो हुँदा थानीपक्ष ढुक्क छ । यद्यपि ती सवै वडामा खड्का र थानी पक्षले आ-आफ्ना गतिविधि गर्दै आएका छन् ।

अघिल्लो अधिवेशनमा कमजोर मानिएका सिम्ता,गुर्भाकोट र भेरीगंगामा पनि थानी पक्षले सुधार भएको दावी गरेको छ भने पश्चिमतर्फको चौकुने,पंचपुरी र बराहतालमा पनि सुधार भएपछि हौसिएको छ । चिंगाड,लेकबेसी र वीरेन्द्रनगरबाट अघिल्लो अधिवेशनमा खड्का पक्षबाट प्रतिनिधि शून्य थियो ।

अहिलेको अधिवेशनले वडालाई निकै महत्वपूर्ण जिम्मेवारी दिएको छ । वडाबाटै छनौट भएर आएका प्रतिनिधिहरुले गाउँ/नगर,प्रदेश, क्षेत्र र जिल्लालाई मतदान गर्ने हुँदा चर्को प्रतिस्पर्धा हुने निश्चित छ ।

सुर्खेतका वडामा कम्तीमा १६ जनादेखि ४६ जनासम्म प्रतिनिधि आउनेछन् । सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिका वडा नं. २ र ६ बाट ४५/४६ जना प्रतिनिधि छनौट हुनेछन् भने अन्य वडाबाट कम्तीमा १६ जना छनौट हुनेछन् ।

सुर्खेतमा वडाबाट करिव १८ सय प्रतिनिधि छनौट हुनेछन् । कांग्रेसको विधानमा गाउँ/नगर र वडा समितिमा उम्मेदवार हुन क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था छ भने प्रदेश,क्षेत्र समितिमा उम्मेदवार हुन वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिनुपर्नेछ । जिल्लामा उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि छनौट हुनुपर्ने प्रावधान छ ।

यसैगरी,कर्णाली प्रदेशमा पनि पौडेल पक्ष हावी छ । १० जिल्लामध्ये हुम्लाबाहेक अन्य नौ जिल्लामा पौडेल पक्षधर जिल्ला सभापति छन् । अवको अधिवेशनमा पनि धेरैजसो वर्तमान सभापतिहरुले नै दोहोर्याउन सक्ने सम्भावना रहेको कांग्रेसका नेता-कार्यकर्ता बताउँछन् । सुर्खेतसहित,रुकुम,कालीकोट र डोल्पामा अहिलेका सभापतिहरु नै दोहोरिने बताइएको छ । यी सबै पौडेल पक्षका हुन् ।

यस्तै हुम्ला,सल्यान,दैलेख र जाजरकोटका सभापतिहरु दुई कार्यकाल सभापति भइसकेकोले ती जिल्लामा नयाँ नेतृत्व चयन हुनेछ भने मुगुमा पनि दोहोरिने या नयाँ नेतृत्व चयनवारे छलफल भइरहेको जनाइएको छ । दोहोरिने र नयाँ नेतृत्व लिन चाहनेहरुमा धेरैजसो पौडेल पक्षधर छन् ।

त्यसैले प्रदेशमा पौडेल पक्षले आफ्नो पकड यथावत राख्नेमा दृढ देखिएको छ भने सुर्खेतमा धेरैजसो वडा आफ्नो पकडमा भएकोले थानी पक्षधरले आफू बलियो भएको जनाएको छ ।

टिप्पणीहरू