बार्दली सभाको आक्रोश र ज्ञानेन्द्रको बहिर्गमन

बार्दली सभाको आक्रोश र ज्ञानेन्द्रको बहिर्गमन

कुनै पनि वस्तुको उत्थान र पतन त्यसमा अन्तरनिहित गुण र दोषका कारणले हुन्छ । यो महान् दार्शनिक कार्ल मार्क्सको अन्वेषणको ठोस पक्ष हो । मार्क्सवादी विचारको एउटा आधार पनि हो । कुनै पनि वस्तु र विचारको उत्थान तथा पतनमा बाह्य कारणले पनि काम गरेको हुन्छ । तर,बाह्य कारण सहायक मात्र हुन्छ । मुख्य तथा निर्णायक कारण भने आन्तरिक नै हुन्छ । यो कुरा व्यक्ति र विचारमा समेत लागू हुन्छ । व्यक्ति आफैले चाहेर मात्र गलत या सही बाटो समात्न सक्छ । अरूको प्रभाव सहायक तथा सहयोगी मात्र हुन्छ ।

अहिले नेपालको राजनीतिमा आफूले गरेको कमजोरीको दोष अरूमाथि थोपर्ने प्रवृत्ति बढेको छ । देशका प्रधानमन्त्रीसमेत अरूलाई गाली गरेर आफ्नो कमजोरी छोप्ने प्रयत्नमा लिप्त देखिन्छन् । अझ आफूलाई मार्क्सवादी–लेनिनवादी ठान्ने नेकपा एमालेका नेताले अरूमाथि दोष थोपरेर पानीमाथिको ओभानो बन्न खोज्नुले उनीहरूको विचारको स्तरलाई मात्र प्रस्ट पारिरहेको हुन्छ । अझ आफैलाई विचार,संगठन र शक्तिको स्रोत ठान्ने स्वनामधन्य राजनेताको बार्दली सभा र त्यहाँ व्यक्त भाषा, शैली र विचारले दुनियाँलाई सोच्न बाध्य बनाइदिएको छ ।

हुन त बार्दली सभाको प्रवचन सत्ता छाड्नुपर्दाको आक्रोश मात्र होला । सिंगो देशमा एकलौटी राज्य चलाइरहेका कमरेड ओलीको सत्तालिप्साको अभिव्यक्ति मात्र पनि हुन सक्छ । बार्दलीसभामार्फत भएको निर्लज्ज चिच्याहट आफ्ना अन्ध समर्थक र सण्ड–मुसण्डहरूमा तागत भर्न उनले गरेको नाटक पनि हुन सक्छ । चाहे जेसुकै होस्,पटक–पटक देशको प्रधानमन्त्री र नेकपा एमालेजस्तो लोकतान्त्रिक पार्टीको अध्यक्षजस्तो पदमा बसेको व्यक्तिका लागि त्यस्तो बर्बराहट पटक्कै सुहाइरहेको थिएन ।

त्यही सर्वोच्च अदालतले फागुन २३ गते मागभन्दा बाहिर गएर आफूअनुकूल राजनीतिक फैसला गर्दा दीपावलीसहित स्वागत गर्ने तत्वहरूले अहिले संविधानको भावना र सांसदहरूको मागबमोजिम फैसला गर्दा पुत्ला जलाइरहेको अवस्था छ ।

पहिलो त जनादेश र परमादेश भन्दै अदालतको अपमान र सांसदहरूको अवमूल्यन एकैचोटि गरिएको छ । प्रधानमन्त्री स्वयंले आफ्नो सम्बोधनमा अदालतले संविधान मिचेको कुरा गर्नुभएको छ । त्यसलगत्तै उहाँका निजी कार्यकर्ताले सडकमा प्रधानन्यायाधीशको पुत्ला जलाउने र शक्तिपृथकीकरणको सिद्धान्तविपरीत तल्लो स्तरको नाराबाजी गर्ने काम भएको छ । त्यही सर्वोच्च अदालतले फागुन २३ गते मागभन्दा बाहिर गएर आफूअनुकूल राजनीतिक फैसला गर्दा दीपावलीसहित स्वागत गर्ने तत्वहरूले अहिले संविधानको भावना र सांसदहरूको मागबमोजिम फैसला गर्दा पुत्ला जलाइरहेको अवस्था छ ।

यी सबै सत्ता छाड्नुपर्दाको छटपटी मात्र हो । प्रधानमन्त्री केपी शर्मा ओली अहिले अरूको कारणले होइन,आफैँभित्र अन्तरनिहीत अहंकार,गुटवादिता र भयंकर कमजोरीका कारण पराजित हुन पुगेका हुन् । उनले आफूलाई समीक्षा गरेर आफूभित्रका कमजोरी खोज्नु र आफ्नो वरिपरिका सहयोगीको भूमिकाको समीक्षा गर्नु आवश्यक थियो । तर त्यतातिर थोरै पनि ध्यान गएको देखिँदैन । देखियो त केवल माधव नेपालविरुद्ध तल्लो दर्जाको गाली बेइज्जती । आफ्नो पदीय मर्यादालाई समेत भुल्दै ‘माधव नेपालजस्ता लाजशरम हराएका मान्छेलाई अब पार्टीमा कुनै स्थान छैन’ भन्दै ओलीजीले गाली गरेको सुन्नेहरू नै लज्जित भएका छन् । लाग्छ,नेकपा एमाले उनले आफ्नो बार्दलीमा बसेर बनाएको निजी कम्पनी हो ।

कमरेड ओली आफू त शपथग्रहण समारोहमा गएनन् । बधाई दिन पुगेका पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत तुच्छ गाली गर्न अग्रसर भए ।

उनी अझ अगाडि बढेर भन्छन्, ‘उनका पछाडि लाग्ने केही व्यक्ति सच्चिएर पार्टीमा काम गर्न चाहन्छन् भने काम दिन सकिन्छ । तर,माधव नेपालका लागि भने आत्मालोचना गरेर गल्ती कमजोरी स्वीकार गरे पनि पार्टीमा कुनै स्थान हुने छैन । माधव नेपालजस्ता गद्दारलाई क्षमा गर्न पनि सकिन्न ।” केपी ओलीको यस्तो खालको भनाइ अत्यन्त आपत्तिजनक र खेदजनक पनि छ । ओली र उनका अनुयायीले बुझ्नु जरुरी छ-नेकपा एमाले उनी वा कसैको पेवामा आएको पार्टी होइन । यो कसैले बार्दलीमा बसेर फर्मान जारी गरेर बनाएको पार्टी पनि होइन । यो लाखौँ नेपाली जनताको माया र त्याग,तपस्या र बलिदान गरेका हजारौँ नेता–कार्यकर्ता र शहीदहरूको समर्पणबाट बनेको पार्टी हो ।

कमरेड ओलीको यस्तो अभिव्यक्ति सरकारबाट बाहिरिनुको पीडा र चरम सत्ता लोलुपताको अभिव्यक्ति पनि हो । यो उनीभित्र रहेको कुर्सीवाद र सत्तालिप्साको छटपटी पनि हो । यसले उनमा सत्तामोह कति रहेछ भन्ने प्रष्ट बुझिन्छ । अझ राजनीति गर्ने व्यक्तिका लागि सत्ता र कुर्सी स्थायी चिज होइन । यो आउने–जाने भइरहन्छ । अझ लोकतन्त्र र संसदीय प्रणालीमा सत्ता आउने – जाने भइरहन्छ । आफ्नो हातमा सरकार आउँदा सक्षमतापूर्वक काम गर्ने र जाँदा खुशी–खुशी हस्तान्तरण गर्ने चलन हुन्छ । असल व्यक्तिले संयमता अपनाउने गर्छन् । लोकतान्त्रिक प्रणालीमा सरकारमा आउने र जाने प्रधानमन्त्रीहरूको बीचमा बिदाइ र बधाई आदान–प्रदान हुन्छ । आफूले छोडेपछिको प्रधानमन्त्रीको शपथग्रहण समारोहमा जाने र बधाई दिने परम्परा छ । कमरेड ओली आफू त शपथग्रहण समारोहमा गएनन् । बधाई दिन पुगेका पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत तुच्छ गाली गर्न अग्रसर भए । यसले उनको लोकतन्त्रप्रतिको निष्ठामा समेत प्रश्न उब्जिएको छ ।

आफूलाई ‘सफल र सवल नेता’ भन्नेले आफै आवेग र उत्तेजनामा आएर मनपरी बोल्न र गर्न थाल्यो भने के होला ? असल नेता र अरू सामान्य व्यक्तिमा के नै फरक होला ?

अहिलेसम्मको कमरेड ओलीको प्रवृत्ति तामझाममा विश्वास गर्ने खालको छ । साम–दाम–दण्ड–भेदजस्ता कलामा विश्वास गर्ने खालको छ । यो ताम–झाम र साम–दाम भनेको निकै खर्चिलो धन्दा हो । यो धन्दा स्वच्छ र सत्कर्मबाट सम्भव छैन । प्रधानमन्त्री पदबाट बहिर्गमन हुँदासमेत यति खर्चिलो बाजा–गाजा र हुल–बथानसहितको गृह प्रवेश पराजय छोप्ने र पराजयलाई अस्वीकार गर्ने अहंकार प्रदर्शन मात्र हो । त्यति मात्र होइन,आफ्ना अनुयायीहरूलाई उक्साएर समकक्षी माधव नेपालको पुत्ला जलाउने,फाँसीको माग गर्दै नाराबाजी गर्ने र घर डेरा घेराउ गर्नेसम्मको काम गर्नु गराउनु कायरताबाहेक केही होइन । यस्ता कुरा कुनै पनि लोकतान्त्रिक पार्टी र त्यसको नेतालाई सुहाउने कुरा हुँदै होइन ।

अझ गज्जबको कुरा त पहिलो पटक प्रधानमन्त्री भएको समयमा कमरेड ओली आफ्नो सहयोगी दलसँग बेइमानी गरेर सत्ताच्युत भएका थिए । यसपटक पनि कमरेड ओली आफैँले एकता गरेर बनाएको नेकपा जोगाउन नसकेर अल्पमतमा परेका हुन् । फागुन २३ गतेको सर्वोच्च अदालतबाट पुनःस्थापित आफ्नै पार्टी नेकपा एमालेलाई व्यवस्थित नेतृत्व गर्न नसकेर सत्ताच्यूत भएका हुन् । आफू सत्ताच्यूत भएको झोकमा अहिले ‘हारल विलाई खावा नोचे’ भन्ने उखानलाई चरितार्थ गर्न थालेका छन् । आफ्नै अहंकार र व्यक्तिवादी प्रवृत्तिका कारण एक्लिएर पतनको बाटोमा अग्रसर भएका छन् ।

संसारमा जुनसुकै प्रकारका अग्रज र अगुवाहरूले एकक्षणका लागि मात्र काम गर्ने होइन । भविष्यलाई हेरेर काम गर्ने हो । अझ असल नेताले रोल मोडल बन्ने हो । उदाहरण बन्ने हो । असल रोल मोडलले बोली–व्यवहार,सेवा र संस्कारमा समेत आफूलाई नमुना बनाउन सक्नुपर्छ । आफूलाई ‘सफल र सवल नेता’ भन्नेले आफै आवेग र उत्तेजनामा आएर मनपरी बोल्न र गर्न थाल्यो भने के होला ? असल नेता र अरू सामान्य व्यक्तिमा के नै फरक होला ? अझ सबैलाई हाँक्ने र लिड गर्ने भएकाले लिडर भनिएको हो । लिडर त अरू सभ्य र संस्कारित हुनु आवश्यक हुन्छ ।

लिडर त रोल मोडल (नमुना) हुनै पर्छ । आफूलाई चित्त नबुझेर रिस उठ्नासाथ जाइलाग्ने हो भने त केको लिडर ? कम से कम आफैँले विघटन गरेको प्रतिनिधिसभा ब्युँताएर दलहरूको निर्णय स्वीकार गर्दै खुरुखुरु नारायणहिटी छाडेर गएका राजा ज्ञानेन्द्रको सहनशीलताबाट सिके पनि हुन्थ्यो । त्यसभन्दा अघि आफूलाई सही लोकतन्त्रवादी भन्ने महान् नेताहरूले आफूलाई ज्ञानेन्द्रभन्दा तल झार्ने काम नगरे हुन्थ्यो । देशमा लोकतन्त्रको लागि लामो संघर्ष गरेर विजय भावसहित बाँचिरहेका नेपाली जनतालाई हीनताबोध गराउने काम नगरे हुन्थ्यो । आफ्नाहरूको लागि मात्र होइन,आमजनताको लागि पनि सोचिदिए हुन्थ्यो ! जय जय होस् !

टिप्पणीहरू