ठाउँ ठाउँमा विद्यार्थीको राँके जुलुश,गृह मन्त्रालयद्वारा सबै जिल्लामा रोक्न निर्देशन

ठाउँ ठाउँमा विद्यार्थीको राँके जुलुश,गृह मन्त्रालयद्वारा सबै जिल्लामा रोक्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गरेपछि हुनसक्ने विरोध प्रदर्शनलाई ध्यानमा राखेर आज साँझ सरकारले निषेधाज्ञा उल्लंघन गर्दै सर्वसाधारणलाई सडकमा निस्कन नदिन ७७ जना प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ ।

यसैबीच गृह मन्त्रालयमा आज नेपाल प्रहरी,सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका छन् ।
गृह स्रोतले भने हालै जारी गरिएको कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिइएको बताएको छ ।

यता काठमाडौं उपत्यकाको निषेधाज्ञालाई पनि थप कडा बनाउन तीन वटै जिल्ला प्रशासनले आवश्यक गृहकार्य थालेको बताइएको छ । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ र अनावश्यक काममा घर बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

अनुमतिबिना सवारी साधन चलाए कारबाही गर्नसक्ने व्यवस्था पनि अध्यादेशमा उल्लेख छ । जसमा दुईपाँग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सकिने छ ।

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म र अन्य जिल्लामा पनि त्यसैको सेरोफेरोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

टिप्पणीहरू