यस्तै छ साथी, यहाँको हाल

यस्तै छ साथी, यहाँको हाल

विद्यार्थीको आकर्षण घट्दै गएपछि नरैनापुरको एक माध्यमिक विद्यालय कामचलाउ रूपले सञ्चालित छ । तीनवटा वडाको केन्द्रमा एउटा मात्रै माध्यमिक विद्यालय, त्यसमा पनि विद्यार्थी संख्या निकै न्यून हुनु विद्यालयको नियति बनेको छ ।

कुरा हो बाँकेको नरैनापुर गाउँपालिका– २ लक्ष्मणपुरस्थित आदर्श माविको ।

जहाँ भौतिक संरचना पर्याप्त छ तर विद्यार्थी आकर्षण भने निकै न्यून । विद्यालय गाउँपालिका–१ कटकुइया, २ लक्ष्मणपुर र ३ कालाफाँटाको केन्द्रमा छ ।

वडा नम्बर १ को १०६६, २ को ११५८ र ३ को १३५० गरी जम्मा ३५७४ घरधुरीका बालबालिकालाई लक्ष्यित गरेको उक्त विद्यालयमा हाल कक्षा १० मा जम्मा ८ जना मात्रै भर्ना भएका छन् ।

कक्षा १ देखि १० सम्म ४६२ जना विद्यार्थी भर्ना भएको रेकर्डमा छ । भर्ना हुने तर विद्यार्थी नियमित नआउँदा पठनपाठनसँगै बालबालिकाको मानसिकतामा समेत नकारात्मक असर परेको छ ।

तीनवटा वडामा एउटा पनि माध्यमिक विद्यालय नभएपछि २०६९ मा माध्यमिक स्तरको पढाइ शुरु गरिएको हो ।

जति कक्षा माथि चढ्दै गयो उति घट्दै जाने भएका कारण अहिले विद्यार्थी संख्या जुटाउन धौधौ परेको बताइन्छ ।

माध्यमिक तहको कक्षा सञ्चालन भएको ८ वर्ष बितिसक्दासमेत एसईई नतिजा निल आउने गरेको छ । एउटै शिक्षकले सबै विषय पढाउनुपर्ने बाध्यता छ ।

हाल ३ जनाको मात्रै स्थायी शिक्षक दरबन्दी छ । माध्यमिक तहका लागि २ जना अस्थायी र माध्यमिक तहको लागि जम्मा १ जना शिक्षक कार्यरत छन् ।

माध्यमिक तहका शिक्षक काजमा काम गरिरहेका छन् । उता, माध्यमिक तहमा विज्ञान विषयका शिक्षकको मात्रै दरबन्दी छ । अंग्रेजी, गणितलगायत मुख्य विषयकै शिक्षक नहँुदा पठनपाठन कामचलाउ अवस्थामा छ ।

टिप्पणीहरू