कम उमेरको विवाहको के दिने न्याय ?

कम उमेरको विवाहको के दिने न्याय ?

कम उमेरको विवाह मोरङमा स्थानीय तहका न्यायिक समिति र अधिकारकर्मीको लागि टाउको दुखाइ बनिरहेको छ । उमेर नपुगी किशोर अवस्थामा देखासिखी विवाह गर्ने र छोराछोरी जन्माएर सम्बन्ध विच्छेदको अवस्थामा पुगिसक्ने अवस्था अधिकारकर्मी र न्यायिक समितिका लागि समस्या बनेको छ ।

लेटाङ नगरपालिका न्यायिक समिति संयोजक कृष्णकुमारी निरौलाका अनुसार समितिमा आउने धेरै समस्या कम उमेरमा भएका विवाहसम्बन्धी छन् । श्रीमान्ले कुटपिट गर्ने, खान लगाउन नदिने, छोराछोरीको संरक्षण नगर्नेदेखि घरपरिवारबाट हिंसा भएको भन्दै पीडित महिला न्यायिक समितिमा आउने गरेका छन् । धेरैले मिलेर बस्न नसक्ने भन्दै अंश दिलाइदिन वा सम्बन्धविच्छेद गराइदिन अनुरोध गर्ने गरेका छन् । तर, कम उमेरमा विवाह भएकाले विवाह दर्ता गराउन नसकिने र झगडाले गर्दा मेलमिलाप गराउन पनि समस्या पर्ने गरेको छ । नगरपालिका उपप्रमुख समेत रहेकी निरौलाका अनुसार लहलहैमा देखावटी प्रेमसम्बन्धमा परेर बिहे गर्नेहरू बीस वर्ष उमेर पुगिसक्दा पछुताएर छुट्टिने अवस्थामा पुगिसकेका हुन्छन् ।

शुरुका केही दिन रमाइलोसँग बिते पनि आर्थिक र पारिवारिक समस्याले गर्दा कसैलाई घरेलु हिंसाले सताउने गरेको छ त कसैका श्रीमान् र श्रीमतीले अर्कैसँग जाने गरेका छन् । जसले गर्दा जायजन्म भएका छोराछोरीको बिचल्लीसमेत हुने गरेको छ ।

विवाह गर्ने उमेरलाई बीसबाट घटाएर १८ बनाउनुपर्ने अवस्था छ ।

कानुनअनुसार बीस वर्ष उमेर नपुगी केटा र केटीले बिहे गर्न पाउँदैनन् । यसैले कम उमेरमा बिहे गरेर समस्या भेलिरहेकाहरूलाई न्यायिक समितिले बिहे दर्ता पनि गराउन सक्दैन । मेलमिलाप गराउन अनेक प्रयत्न गर्दा पनि घरपरिवार नै विभाजित भैसकेकोले धेरैको मेलमिलाप हुन सक्दैन । यसैले महिलाहरू हिंसा सहेर जीवन धान्न बाध्य हुन्छन् ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल कम उमेरमा हुने विवाहको समस्या मोरङको दक्षिणी क्षेत्रमा मात्र नभएर उत्तरतर्फ पनि मनग्गे भएको बताउँछन् । अशिक्षा, गरिबी र प्रविधिको दुरूपयोगले गर्दा कम उमेरमा बिहे गर्ने चलन नियन्त्रण हुन नसकेको उनको बुझाई छ । यसैले कम उमेरमा बिहे गर्नेहरूको समस्या समाधान गर्नका लागि विवाह गर्ने उमेरलाई बीसबाट घटाएर १८ बनाउनुपर्ने अवस्था छ । पोखरेलको भनाइसँग कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले पनि सहमति जनाउँछन् ।

कसै–कसैले छोरी अपहरण गरेर बलात्कार भन्दै किटानी जाहेरी पनि दर्ता गराउने गरेका छन् ।

ओरेक नेपालको लेटाङ नगरपालिका महिला फेडरेशनकी अध्यक्ष ईन्दु चौधरी कम उमेरको विवाहका कारण आफूहरूले सास्ती पाइरहेको र समाजमा धेरै विचलन ल्याएको बताउँछिन् । उनका अनुसार कसै–कसैले त भनेजस्तो नभएपछि छोरी अपहरण गरेर बलात्कार गरेको भन्दै किटानी जाहेरी पनि दर्ता गराउने गरेका छन् । मोरङको लेटाङमा भर्खरै बिहे गर्ने केटालाई प्रहरीले समातेर मुद्दा दर्ता गराइसकेको छ । चौधरीले भनिन्, ‘केटी पक्ष प्रहरीमा गएकाले कम उमेरमा सहमतिको बिहे अपहरणपछि बलात्कारको कसुरमा परिणत भयो ।’

रंगेली नगरपालिका न्यायिक समिति संयोजक केशवकुमारी खराल पनि कम उमेरमा हुने विवाह आफूहरूका लागि जटिल भएको बताउँछिन् । उनका अनुसार कानुनअनुसार न्याय दिलाउने ठाउँ नहुँदा अन्याय भएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता छ ।

केराबारी गाउँपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संंयोजक शान्ति भुजेल कम उमेरमा हुने विवाहबारे किशोर÷किशोरीमा व्यापक जनचेतना जगाउन अझै खाँचो रहेको औल्याउँछिन् । लहडको प्रेम विवाहले घर जोड्नभन्दा भत्काउने र जीवनलाई निरासवादी बनाउने काम भइरहेको उनको बुझाइ छ ।

– आषिका लम्साल

टिप्पणीहरू