योगमायाको जिल्लामा जसमायाँको जय

मर्नु न बाँच्नुको कष्टकर अवस्था झेलिरहेका भोजपुर षडानन्द नगरपालिका–३ खार्तम्छा चिचिलाका ७५ वर्षीय रामबहादुर राई र सुस्तमनस्थितिका २२ वर्षीय छोरासहित ठिंगुरो ठोकेर अनि बाँधेर राखिएका दुई जना मानसिक रोगीको उद्धार गरेपछि प्रदेश १ सरकारकी मन्त्री जसमाया गजमेरको चर्चा चुलिएको छ ।

परिवारमा कोही पनि नभएको र आर्थिक अवस्था पनि साह्रै कमजोर भएकाले दयनीय अवस्थामा ‘न मर्नु न बाँच्नु’ को कष्ट झेलिरहेका वृद्ध रामबहादुर र उनका २२ वर्षीय छोरा मणिकुमारसहित सोही नगरपालिकाको १२ नम्बर वडाबाट नौ वर्षदेखि ढिंगुरो हालेर राखिएका ४४ वर्षीय जितबहादुर तामाङ र ४ वर्षदेखि बाँधेर खोरमा राखिएका १९ वर्षीय ज्ञानबहादुर श्रेष्ठको शनिबार घरघरमा पुगेर उद्धार गरेपछि राज्यमन्त्रीको चर्चा चुलिएको हो । सबैले उनले गरेको कामको सराहना गर्दै भन्ने गरेका छन्, ‘क्याबात मन्त्रीज्यू, दीनदुःखीका लागि भगवान् भनिने सरकार भनेको यस्तो पो हुनुपर्छ त !’

कष्टकर अवस्थामा जीवन गुजार्नुपरिरहेको सूचना पाएपछि शुक्रबार प्रदेश १ राजधानी विराटनगरबाट राज्यमन्त्री गजमेरको टोली मानव सेवा आश्रमका अभियन्ताहरूलाई साथमा लिएर वृद्ध रामबहादुरको उद्धार गर्न भोजपुर हिँडेको थियो । शुक्रबार संखुवासभाको खाँदबारी हुँदै दिङला पुगेर बसेको मन्त्रीको टोलीले शनिबार षडानन्द नगरपालिका पुगेर वृद्ध रामबहादुर र उनको सुस्तमनस्थितिका छोरो अनि दुई जना कडाखाले मनोरोगीको उद्धार गरेको हो । ‘साह्रै नै दयनीय अवस्थामा बाँचिरहेको जानकारी पाएपछि वृद्ध रामबहादुरको उद्धार गर्न प्रदेश १ सरकारको तर्फबाट म आफैँ मानव सेवक अभियन्तालाई लिएर आएकी हुँ, यहाँ अरु पनि अशक्त फेला पर्नुभयो, अब सबैको उपचार र संरक्षण सरकारले नै गर्छ’, बृद्ध र मानसिक रोगीको उद्धारपछि राज्यमन्त्री जसमायाले भनिन् ।

घरघरमै आएर प्रदेश सरकारको मन्त्रीले असक्त र रोगीहरूको संरक्षणका लागि उद्धार गरेकोमा अति नै हर्ष लागेको षडानन्द नगरपालिका–३ का अध्यक्ष गणेश अधिकारीले बताए । उनले भने, ‘हामीले खोजेको सरकार यसैगरी दुःखीका घरघरमा आउने खालको हो, अब अरु कुरामा पनि सरकारलाई सफलता मिलोस् ।’

स्थानीयका अनुसार रामबहादुर युवा उमेरमा कर्तव्य ज्यान कसुरमा जेल परेका र लामो समय जेल बसेर फर्केपछि विवाह गरेका थिए । धेरै सन्तान जन्मिए पनि कोही बाँचेका थिएनन् । कान्छो छोरा बाँचे पनि सुस्तमनस्थितिका भए । कान्छो छोरालाई जन्म दिएपछि श्रीमतीको पनि मृत्यु भयो । जायजेथा केही नभएकाले रामबहादुरले मजदुरी गरेर आफू र छोरालाई पाल्दै आएका थिए । दसैमा अचानक सिकिस्त बिरामी भएपछि दिसापिसाब एकै ठाउँ भएको थियो । वडाअध्यक्षकै निर्देशनमा दसैं अगाडिदेखि बिरामी भएका बृद्ध रामबहादुरको स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले छिमेकी बोधिमाया तामाङको घरछेउको कटेरोमा सारेर परालको ओछ्यानमा राखी स्लाइन पानी चढाएर प्राथमिक उपचार गरेको थियो ।

उनको घरमा एउटा ओड्ने खास्टोबाहेक ओछ्याउने तन्नासमेत थिएन । भत्किएको नाम मात्रको घरमा कष्ट झेल्दै एक्लै बस्दै आएका राईको स्थानीय सहयोगीहरूले उद्धार गरेर गोठमा सारी उपचार गराउन थालेका थिए । यसैगरी, ४४ वर्षीय मनोरोगी तामाङको मानसिक सन्तुलन बिग्रिएपछि परिवारले खोरभित्र ठिंगुरो हालेर ९ वर्षदेखि राख्दै आएको थियो । अनि १९ वर्षीय श्रेष्ठलाई पनि मानसिक रोग लागेकै कारण घरमा ४ वर्षदेखि अलग्गै बाँधेर राख्ने गरिएको थियो ।

मन्त्री गजमेरका अनुसार उद्धार गरिएका सबैलाई प्रदेश सरकारको सहयोगमा विराटनगरमा सञ्चालन भइरहेको मानव सेवा आश्रममा ल्याई संरक्षण दिएर राखिनेछ । सबैको उपचार आश्रमकै रेखदेखमा भैरहेको छ । यसअघि प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि धेरै जना खोरमा थुनिएका, बाँधेर राखेका र सडकमा भौंतारिरहेका मनोरोगीको उद्धार गरिसकेका छन् ।

विराटनगरस्थित आश्रमका अभियन्ता नवराज केसीका अनुसार हालसम्म प्रदेश १ सरकार स्थानीय पालिका र दयालु दाताहरूको सहयोगमा सय जति बेसहाराको उद्धार भइसकेको छ । उनीहरू सबैलाई विराटनगरको तीनटोलिया र पोखरियास्थित सेवा आश्रममा राखेर निःशुल्क खानपान र उपचार सेवा प्रदान गरिँदै आएको छ ।

प्रदेश १ सरकारले बेसहारा मानवहरूको संरक्षणका लागि मोरङको ग्रामथानमा सुविधा सम्पन्न अस्पतालसहितको आश्रम पनि निर्माण गर्न थालेको छ ।

– आषिका लम्सालबाट

टिप्पणीहरू