सबै श्रेणीहरू

दिनाभद्रीलाई विभूति घोषणा गर्न मुसहर समुदायको माग

दिनाभद्रीलाई विभूति घोषणा गर्न मुसहर समुदायको माग

दलितमा सबैभन्दा गरिब मानिने मुसहर समुदायका लागि दिनाभद्री केबल धार्मिक आस्थाको मात्र नभएर सामूहिक संघर्ष, प्रतिरोध र आत्मसम्मानका प्रतिक हुन् । देशभरका मुसहरले दिनाभद्री दाजुभाइलाई विभूति घोषणा गरेर आफ्नो समुदायलाई आत्मसम्मान दिलाउन माग गर्दै आइरहेका छन् । 

उनीहरुले आफैं मुठीदान संकलन गरेर हरेक वर्ष मोरङको बुढीगंगा गाउँपालिका–२, टंकीचौकमा दिनाभद्री महोत्सव आयोजना गर्छन् । सांस्कृतिक दिनाभद्री महोत्सवलाई कसैले वास्ता नगरेको उनीहरुको गुनासो छ । राष्ट्रिय मुसहर संघ, कोशी प्रदेशको आयोजनामा माघ ९ गतेदेखि एक हप्ते प्रदेशस्तरीय महोत्सव गरियो । 

उक्त महोत्सवको मुख्य उद्देश्य नेपालमा सबैभन्दा पछाडि पारिएको मुसहरहरुको संस्कृति र एकताको संरक्षणका लागि दिनाभद्रीलाई राष्ट्रिय पहिचान दिलाउनु थियो । तर, सबैले उपेक्षा गर्दा सो महोत्सवको कहीँकतै चर्चा नै भएन । दिनाभद्री दाजुभाइ कर्मकाण्डको मात्र नभएर सांस्कृतिक एकता र संघर्षको प्रतिक मानिन्छन् ।

मुसहर समुदायको आत्मसम्मानका लागि दिनाभद्रीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने उनीहरुको भनाइ छ । दिनाभद्रीलाई विभूति घोषणा गरेर मात्र नेपालमा लाखौंको संख्यामा रहेका मुसहर समुदायको आत्मसम्मान उँचो बनाउन सकिने अगुवाहरु बताउँछन् । ऋषिवंशी जनकल्याण संघका अध्यक्ष विषेश्वर ऋषिदेवले आफ्नो पहिचानको एकताका लागि मुठीदान संकलन गरेर १० दिने महोत्सवको आयोजना गरिएको भएतापनि उपेक्षामा परेको बताए । 

उनका अनुसार महोत्सवमा कोशी र मधेशमा रहेका मुसहर समुदायका मानिसहरु मात्र आएका थिए । अरुले चासो नै नदिएको उनको भनाइ छ । राष्ट्रिय मुसहर संघ, कोशीका महासचिव धमेन्द्र ऋषिदेवले पुस्तौंदेखि गरिबी, भूमिहीनता र जातीय विभेद झेल्दै आएको मुसहर समुदायले दिनाभद्रीलाई अन्यायविरुद्ध उभिने ऐतिहासिक स्मृतिका रुपमा स्मरण गर्दै आएको बताए । 

मुसहरहरुले करिब एक सय वर्षदेखि मधेश प्रदेशको सप्तरीमा जन्मिएका दिनाभद्री दाजुभाइलाई संघर्षको प्रतिकका भगवान मानेर पूजाआजा गर्दै आएको उनले जानकारी दिए । मुसहर समुदायमा प्रचलित मौखिक इतिहासअनुसार दिनाभद्री दाजुभाइ सप्तरीमा करिब दुई सय वर्षअगाडि जन्मिएका साधारण श्रमिक व्यक्ति थिए । सामान्ती शासन, जमिनदार प्रथा र सामाजिक उत्पीडनको विरोध गर्ने क्रममा उनीहरुलाई शक्तिशाली वर्गले षड्यन्त्रपूर्वक हत्या गरेका थिए । 

उनीहरुको असामयिक मृत्युपछि मुसहर समुदायले दिनाभद्रीलाई दिनदुःखीको रक्षक लोक देउताका रुपमा स्वीकार गर्दै पूजाआराधना गर्न थालेका हुन् । खासगरी, मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा रहेका मुसहर समुदायले धार्मिक कर्मकाण्डका लागि नभएर सामूहिक पीडा र संघर्षको स्मरणका लागि दिनाभद्रीको पूजा गर्छन् । 

मुसहरको सामूहिक बसोबास भएका बस्ती र टोलहरुमा दिनाभद्रीको मन्दिर छ । कतिपयले घरमै पनि मन्दिर बनाएका छन् । नेपालमा करिब अढाई लाखको संख्यामा मुसहर छन् । प्रायःसँग भूमि छैन । शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यून पहुँच भएका उनीहरु खेती, मजदुरी, ईँट्टाभट्टा र अस्थायी श्रममा निर्भर छन् ।