मनऋषिले छाडे प्रचण्डको साथ

मनऋषिले छाडे प्रचण्डको साथ

मनऋषि धितालले तीन दशक लामो पार्टी र पत्रकारिता जीवनपछि तत्कालीन नेकपा माओवादी केन्द्रसँगको आवद्धता छाडेका छन् । उनले पुरानो नेतृत्वप्रति आस्था र विश्वास गुम्नु र पार्टीभित्र गैरराजनीतिक व्यवहार बढ्नुको कारण दलीय आवद्धता छाडेको बताए ।

धितालले पुष्पकमल दाहाल नेतृत्व माओवादी केन्द्रमा शहरी आन्दोलन, युद्ध मोर्चा,शान्ति प्रक्रिया, चुनावी मोर्चा र प्रवासमा विगत तीन दशकसम्म योगदान दिएका थिए । तर, पार्टी नेतृत्वको निरन्तर सत्तामोह र अप्राकृतिक गठबन्धनका कारण अब त्यहाँ रहनु उचित नरहेको बताउँदै अलग्गिएको घोषणा गरेका हुन् ।

उनले थपे, ‘पुरानै जमेको पोखरी र जेनजी आन्दोलनले खरानी बनाएको नैतिक धरातल सफा नगरी, रक्तरञ्जित क्रान्तिमा योगदान नभएका र जनयुद्धलाई स्वीकार नगर्ने मेन्सेभिक विचारधाराका समूहलाई शीर्ष नेतृत्वमा राख्नु क्रान्तिकारीहरूको लागि उचित छैन ।’

धितालले आफ्नो निर्णयसँगै नवीन पुस्ता र विचारसहितको नयाँ राजनीतिक अभियानमा सक्रिय हुने योजना बनाएको बताए । पार्टीप्रति कुनै व्यक्तिगत गुनासो नभएको तर नेपालमा परिवारवाद, नातावाद, गुटगत स्वार्थ र भ्रस्टाचारजस्ता समस्याले पार्टीभित्र काम गर्न कठिन भएको उल्लेख गरे ।

तीन दशकको क्रान्तिकारी अनुभवसहित धितालले एक दर्जन पुस्तकसमेत नेपाली समाजलाई समर्पण गरिसकेका छन् ।

टिप्पणीहरू