जेल बस्ने मन्त्रीबीच सौताको ब्यवहार

जेल बस्ने मन्त्रीबीच सौताको ब्यवहार

न्यायशास्त्रमा एउटा भनाइ छ–इच एण्ड एभ्रीबडी इज इक्वल अण्डर द ल । त्यसको अर्थ कानुनको नजरमा हरेक नागरिक समान हुन् भन्ने हो । कानुन र अधिकार सबैलाई बराबरी हुन्छ। सबै नागरिकले पाउने अधिकार समान हुन्छ । त्यसैगरी,अपराध गरेमा पाउने सजाय पनि एउटै हुन्छ । जेलको हकमा पनि त्यही नै हो । जेलमा भएका सबै कैदीबन्दीलाई दिने सेवासुविधा सराबरी हुन्छ । जतिसुकै विशिष्ट पदमा पुगेको व्यक्ति भए तापनि जेलभित्र गएपछि सबै कैदी बन्दी हुन्छन् । सबैलाई एउटै व्यवहार गरिनुपर्ने ठानिन्छ । 

तर, पछिल्लो समय लोकप्रियतावादको आधारमा जेलभित्र सेवासुविधा दिन थालिएको छ । जसको फ्यान बढी छ, उसलाई छुट्टै सेवासुविधा दिइन्छ । जसको जल्दोबल्दो उदाहरण हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । उनी सहकारी ठगी प्रकरणअन्तर्गत नख्खु कारागारमा छन् । यसअघि भैरहवा कारागार बसेका उनलाई छुट्टै कोठा दिइएको थियो । अन्य कैदीबन्दी एउटै कोठामा कोचाकोच गरी बसिरहँदा सिंगो कोठा पाएका रविको सेवासुविधालाई लिएर राष्ट्रियस्तरमै बहस छेडिएको थियो । 

उनलाई पर्याप्त सेवासुविधा नदिएको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन पनि गर्यो । र, झ्यालमा प्लाईको साटो जाली हाल्न निर्देशन दिइयो । हाल रविलाई स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको छ । यहाँ पनि कोठा छुट्टै छ । नख्खु कारागारको तीन वटा ब्लकमध्ये उनी सिआरसी ब्लकमा बस्छन् । एक हजार २८१ जना कैदीबन्दी रहेकोमा एउटै कोठामा दर्जनौं जसोतसो बसिरहेका छन् । 

कारागारका एक कर्मचारीले भने,‘उहाँलाई त पहिलेदेखि नै छुट्टै कोठामा राखिएको हो । अहिले पनि सो सुविधा दिइएको छ ।’ सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा अस्तिदेखि पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बहस सकिएपछि थुनामा पठाउने आदेश गरेबमोजिम उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको हो । 

केन्द्रीय कारागारका तीन वटा ब्लकमा झण्डै तीन हजार आठ सय कैदीबन्दी छन् । उनीहरुसँगै बस्छन्,महरा । महरालाई अन्य कैदीबन्दीसँगै राखिएको पारिवारिक स्रोतले जनाएको छ । हिजो उनलाई भेट्न पुगेका परिवारका एक सदस्यले भने,‘उहाँलाई अरु कैदीबन्दी जसरी बस्छन्,त्यसरी नै राखिएको छ । भेटघाटचाँहि सहज बनाइदिएको रहेछ । एउटा छुट्टै डायरी राखिदिएको छ ।’

‘म आफैंले उहाँलाई भेटेको थिएँ । उहाँ एकदमै कमजोर हुनुहुँदो रहेछ । उहाँसँग एकाध जना छन् । अहिले कैदीबन्दी धेरै नभएकाले त्यस्तो समस्याचाँहि छैन ।’

जेलर कृष्ण चापागाईँले अधिकांश कैदीबन्दी भागेकाले कारागार खुल्ला नै रहेको बताए । महरासँग केही व्यक्ति रहेको जानकारी दिए । जनआस्थासँग भने,‘म आफैंले उहाँलाई भेटेको थिएँ । उहाँ एकदमै कमजोर हुनुहुँदो रहेछ । उहाँसँग एकाध जना छन् । अहिले कैदीबन्दी धेरै नभएकाले त्यस्तो समस्याचाँहि छैन ।’

महरा पूर्वउपप्रधानमन्त्री,गृहमन्त्री, अर्थमन्त्री,सूचना तथा सञ्चारमन्त्री, सभामुख भइसकेका व्यक्ति हुन् । पूर्वउपप्रधान,भौतिक योजना तथा निर्माण,शान्ति तथा पुनःर्निर्माण, स्थानीय विकास र ऊर्जामन्त्री बनिसकेका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्लीबजार कारागारमा छन् । भदौ २३ गतेको जेनजी प्रदर्शन र भदौ २४ गतेको विध्वंशअघि सुन्धारा कारागारमा रहेका उनलाई त्यसपश्चात् डिल्लीबजार सारिएको छ । 

सुन्धारामा हुँदा टोपबहादुर अन्य कैदीबन्दीसँगै बस्थे भने डिल्लीबजारमा पनि उनी अरुसँगै रुम सेयर गरिरहेका छन् । काठमाडौंको सबैभन्दा सानो कारागार डिल्लीबजारमा दुई वटा ब्लक छन् । कारागारमा ५३८ कैदीबन्दी भएको जेलर बाबुराम अर्यालले बताए । भन्छन्,‘जेलभित्र आएपछि सबै सराबरी हुन् । उहाँलाई अरु कैदीबन्दीसँगै राखिएको छ । यहाँचाँहि क्षमताभित्रै कैदीबन्दी छन् ।’

कारागारमा रहेका अन्य दुई मन्त्रीको इतिहास हेर्ने हो भने रविभन्दा धेरैपटक मन्त्री भएका छन् । तर, रविलाई मात्र विशेष सुविधा किन ? प्रश्न उठेको छ । रवि जेल गएपछि सर्वसाधारण र विशिष्टबीच विभेद शुरु भएकोमा मन्त्री–मन्त्रीबीच पनि फरक व्यवहार गरिएको छ । गृहमन्त्री भएका एउटा मन्त्रीलाई अमेरिकी स्टाइलमा अट्याच बाथरुमवाला सिंगल रुम दिइएको छ भने अर्कोलाई अन्यसँग कोचेर राखिएको छ । 

यसको पछाडिको एउटै कारण हो–पपुलारिज्म । रवि ‘सेलिब्रेटी मन्त्री’ हुन् । लोकरिझ्याइँका आधारमा उनले पटकपटक कानुन तोडेका छन् । नागरिकता, राहदानी दुरुपयोगलगायत बारम्बार कानुनलाई चुनौती दिने कार्य गरेर पनि बचेका उनी सहकारी ठगीमा भने तीनै तहका अदालतबाट जेल पठाइएका हुन् । सहकारी ठगी काण्डमा उनी जेल चलान भएपछि ‘चौथो दलको पार्टीका नेतालाई त्यस्तो अवस्थामा राख्न पाइँदैन’ भनेर विरोध भएको थियो । 

तर, कसैले यो कुराको हेक्का राखेनन् कि जेलभित्र सबैको पहिचान एउटै हुन्छ–कैदीबन्दी । एक वरिष्ठ अधिवक्ता रविलाई सिंगल रुम दिनु नै गलत भएको बताउँछन् । जेलभित्र साधारण नागरिक र उच्च पदस्थ नहुने उल्लेख गर्दै उनले सबैलाई समान व्यवहार गरिनुपर्ने बताए । जनआस्थासँग भने,‘कारागार चलान भएपछि उच्च पदस्थ र साधारण नागरिक भन्ने हुँदैन । सबै समान हुन्छन् । जेलमा कसैलाई भिआईपी सुविधा दिन मिल्दैन, तर कसैमाथि अमानवीय व्यवहार पनि हुनुहुँदैन ।’

टिप्पणीहरू