भागेका पूर्व गृहसचिव अझै फरार

भागेका पूर्व गृहसचिव अझै फरार

‘रवि लामिछाने पथ’ पछ्याउँदै निस्केको १४ दिनपछि एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीले केन्द्रीय कारागार पुगेर हात उठाएका छन् । असोज ६ गते सोमबार साँझ रायमाझीले आत्मसमर्पण गरेसँगै जेल स्थानान्तरणसमेत गरिएको छ ।

यसअघि सुन्धारास्थित जगन्नाथदेवलमा रहेका उनी लगत्तै सरुवा भएर डिल्लीबजार सदरखोर पुगेका छन् । अब दीपक मनाङ्गेहरूसँगै त्यहाँ रहने छन् । उक्त कारागारबाट ३३ सय जना भागेकामध्ये १ हजार फर्किएको कारागारले जनाएको छ । गत २५ भदौमा डिल्लीबजार कारागारबाट १२५० कैदीबन्दीलाई सुन्धारा सारिएको थियो भने डिल्लीबजार कारागारमा हाल २ सय ७ जना कैदी छन् । 

उनीसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि चलान भएका पूर्व गृहसचिव टेकनारायण पाण्डे भने अझै सम्पर्कमा आएका छैनन् । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार हाराहारी कैदीबन्दी फरार छन् जबकि ६ हजार ३ सय २८ जना कैदीबन्दी फर्किसके । 

एक दिनमै १ सय ४९ जनासम्म कैदी गल्ती भयो भन्दै जेल फर्किएका हुन् । देशभरका २८ कारागार तथा ९ वटा बालसुधार गृहबाट गरी १४ हजार ५ सय ५५ कैदी भागेमध्ये अझै ८ हजार २ सय २६ जना सम्पर्कमा छैनन् । कारागारबाट १३ हजार ५ सय ९१ र सुधारगृहबाट ९ सय ६४ जना भागेका थिए । 

(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू