तिनले शहर डढाए, यिनले धेरै थोक जोगाए
- हरि गजुरेल
भनिन्छ, भीडको विवेक हुँदैन । हातमा लाठी, भाला, खुकुरी, पेट्रोल, लाइटर जस्ता सामग्री बोकेर मुलुकको प्रमुख प्रशासकीय केन्द्रमा छिरेको सयौंका हुललाई तल्ला तहका केही कर्मचारी तथा अभियन्ताले विनम्रतापूर्वक सम्झाउँदा तीमध्येका केही युटर्न भएको र लाखौंको सरकारी सम्पत्ति, कागजी अभिलेख थप खरानी हुनबाट जोगिएको छ ।
यसरी बचेका भौतिक सँरचनामा नयाँ बन्दै गरेको संसद भवन, रेडियो नेपाल, उद्योग मन्त्रालय, पुरातत्व विभाग छन् । चीन सरकारको अनुदानमा निर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजीहरुको पहिलो निशानामा किन पर्यो ? कालान्तरमा यो बिषय उत्खनन होला नै । त्यही संसद भवन जलिरहँदा घट्टेकुलोस्थित डेरामा थिए नासु रामप्रसाद सापकोटा, जो ५ बर्षदेखि संसद सचिवालयमा कार्यरत छन् । राष्ट्रिय सभाको विधेयक शाखामा कार्यरत उनी २४ गते दिउँसो १ बजेतिर सिंहदरबार छिरे । मूल गेटबाट केही अघि मात्र छ, संसद सचिवालयको २ नम्बर बिल्डिङ । अपरान्हतिर सेना, सशस्त्र, नेपाल प्रहरी, सिंहदरबार हेर्ने सुरक्षा निकाय सबैको घेरा तोडेर प्रदर्शनकारी छिरे । एक हुलले मन्त्रालयहरुमा तोडफोड गर्दथ्यो । अर्काे हुलले पेट्रोल खन्याएर आगो झोस्थ्यो । सचिवालयको मुख्यद्वारमा उभिएर उनले प्रदर्शनकारीहरुलाई सम्झाइरहे, ‘संसद भवन त गइसक्यो । यहाँचाहिँ तोडफोड नगरिदनुहोस्, भोलि जो आए पनि यो भवन चाहिन्छ’भनिरहे ।
यसरी सम्झाउँदा कसैले ओलीका झोले भने त कोही कोही हातपात गर्न तम्सिए । उनले जति गाली खाए पनि भवन क्षति हुन पाएन । भीडसंग भाँडभैलो गर्ने शक्ति हुन्छ । तर त्यस्तो विध्वँशमा समेत विवेक भर्न सकिँदो रहेछ । एक जना सुब्बाका कारण संसद्को २ नम्बर भवन जोगाउन सम्भव भयो भने १ नम्बर बिल्डिङलाई जोगाउन सकियो त्यहीँका पालेको कारण । संसदका कार्यालय सहयोगी हुन् दशरथ भट्ट । उनीसँग न दमकल थियो, न त विशेष उपकरण । यद्यपि मनमा थियो ‘कर्तव्य र जिम्मेवारी ।’त्यही आत्मविश्वास र अठोटका कारण उनी एक्लैले ट्वाइलेटको पानी बाल्टिनमा बोकेर आगो खन्याउँदै आगलागी हुनबाट जोगाए । सोही कारण सभामुख, उपसभामुखको कार्यकक्ष, विभिन्न संसदीय समिति खरानी हुनबाट जोगियो । केही संसदीय दलका कार्यालयहरु पनि सग्लै रहे । संघीय संसद सचिवालयका अनुसार सो कार्यालयका १८ वटा सवारी साधन खरानी भएका छन् ।
पोस्टर, प्ले कार्ड र ब्यानरमै पुरातत्व विभाग जोगाऊ भन्दै नउभिएको भए र ढुङ्गा मुढा, पेट्रोल, लाइटर बोकेर आएका प्रदर्शनकारीहरुलाई यसभित्र लिपुलेक र कालापानीको नक्सा छ भनी नफर्काएको भए बर्बाद हुने थियो ।
भट्टले झैं अदम्य साहस देखाउने अर्काे ड्राइभर र पालेका कारण भौतिक र खानेपानी मन्त्रालय खरानी हुनबाट बचेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयमा धेरै क्षति हुन पाएन । हलुका सवारी चालक कृष्णकुमार रञ्जितकार सीतापाइलाबाट कुद्दै नआएको भए ती मन्त्रालय खरानी हुन्थे । रन्जितकार भौतिकका सवारी चालक हुन् । २४ गतेको ढुंगामुढा र आगजनीबाट यी मन्त्रालयमा खासै असर गरेको थिएन तर खानेपानी मन्त्रालयको पश्चिमपट्टीबाट अकस्मात आगो सल्किएको खबर त्यहीँका पालेले सुनाएपछि सालीको स्कुटरमा मन्त्रालय पुगेका उनले बाल्टीमा बोक्दै घण्टौँको संघर्षपछि आगो नियन्त्रण गर्न सफल भए ।
उता, आरती चटौत लगायतको अग्रसरताका कारण नेपाल टेलिभिजन खरानी हुनबाट जोगिएको त्यहीँ कार्यरत पत्रकारहरु बताँउछन् । पश्चिम गेटबाट छिर्नेबित्तिकै पहिल्यै आउँछ नेपाल टेलिभिजनको कार्यालय । ‘हान्, हान्’भन्दै छिरेका उग्र प्रदर्शनकारीहरुसँग झण्डै तीन घण्टा एक्लै भिडेर कन्भिन्स गराउन सफल भएकै कारण नेपाल टेलिभिजनमा उति धेरै क्षति हुन नसकेको आरतीका सहकर्मीहरुले जनाएका छन् ।
यस्तै, रवि लामिछाने कारागारैबाट भाग्दा उनका दाइ हरिशरण लामिछानेले रेडियो नेपाल नै २० मीनेट कब्जा गरेर आन्दोलनकारीलाई लाइभमै उकासेको पायो । तर रेडियो नेपालको समाचार शाखामा कार्यरत राजेन्द्रविक्रम शाही र कार्यालय सहयोगी नारायण श्रेष्ठहरुले प्रदर्शनकारीलाई नमस्कार गर्दै, सम्झाउँदै बुझाउँदै रेडियो नेपाल युवाहरुको आवाज बोक्ने, युवाहरुको ढुकढुकी हो भन्दै सम्झाएका कारण कुनै क्षति हुन पाएन । त्यही हुल उद्योग मन्त्रालयमा जाँदा तिनै राष्ट्रसेवकहरुले यो सबै रेडियो नेपालको सम्पत्ति हो भनेर जोगाए । रेडियो नेपाल हान्न आएका प्रदर्शनकारी त्यसपछि प्रधानमन्त्री कार्यालयतिर पुगे र तोडफोडमा उत्रिए । संकटको यो घडीमा यसैगरी अरु कर्मचारी टाउको लुकाएर नहिंडेको भए र आ–आफ्नो ठाउँबाट इमान्दारीतापूर्वक प्रयास गरेको भए सिंहदरबारका अन्य भवन पनि जोगाउन सकिने रहेछ । प्रधानमन्त्री कार्यालय अगाडि ठूलो पोखरी छ । आगो लागेको तीन दिन पछिमात्र सरकारी कर्मचारीहरु अनुगमनका नाममा सिंहदरबार छिरेका थिए जबकि त्यहाँ झण्डै सात हजार कर्मचारी छन् ।
उता, कलाकार जुपिटर प्रधानहरुको टोली पोस्टर, प्ले कार्ड र ब्यानरमै पुरातत्व विभाग जोगाऊ भन्दै नउभिएको भए र ढुङ्गा मुढा, पेट्रोल, लाइटर बोकेर आएका प्रदर्शनकारीहरुलाई यसभित्र लिपुलेक र कालापानीको नक्सा छ भनी नफर्काएको भए बर्बाद हुने थियो ।
टिप्पणीहरू