जहाँ लुट्न रमाउने युवा हुन्छन्,त्यो देश उठ्न गाह्रो हुन्छ
-द्रव्य शाह
गत मंगलबार देशभर फैलिएको आन्दोलनले नेपाललाई पुनः एकपटक अनिश्चितताको भुमरीमा धकेलेको छ । संसद भवन,राष्ट्रपति कार्यालय, मुलकको केन्द्रीय प्रशासनका दर्जनौं मन्त्रालय,सर्वोच्च अदालत,प्रधानमन्त्रीको निवास, जिल्ला अदालतदेखि धेरै होटल र निजी पसल,व्यवसाय आगलागी र तोडफोडमा परेका छन् । यसबाट आगामी दिनमा विदेशी लगानी त धेरै टाढाको कुरा,स्वदेशी लगानी जोगाउन पनि कठिन हुनेको छ ।
नेपालले केही दिनअघि मात्रै गरेको एउटा अध्ययन प्रतिवेदनमा अमेरिकी भन्सार दर नीतिबाट फाइदा लिनसक्ने सम्भावना देखिएको थियो। अमेरिकाले नेपाली सामानमाथि १० प्रतिशत र भारतीय सामानमाथि ५० प्रतिशत भन्सार दर लगाएको घोषणा गरेपछि भारत लगायतका देशबाट पुँजी नेपाल भित्रिन सक्ने सकारात्मक सोचको सञ्चार भएको थियो। तर, त्यो सम्भावना र सोच व्यवहारमा उत्रिन नपाउँदै राजधानीलगायत मुलुकभर फैलिएको डरलाग्दो आगलागी, तोडफोड र हिंसाले लगानीकर्ताको भरोसालाई नै हल्लाइदिएको छ ।
भरोसा खस्कियो
विश्व बैंकका अनुसार, नेपालमा विदेशी प्रत्यक्ष लगानी हाल कूल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्र छ । यसबीच मुलुकभर अराजकता र तोडफोड बढ्दा लगानीकर्ताले नेपाललाई अझै जोखिमपूर्ण गन्तव्यका रूपमा हेर्ने निश्चित छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालको अवस्थाले ‘राजनीतिक–सुरक्षा जोखिम’ बढाउने निश्कर्ष निकालेका छन् । यसबाट विदेशी मात्र होइन, घरेलु पुँजीलाई समेत निरुत्साहित गर्ने अवस्था उत्पन्न गराएको छ ।
निजी क्षेत्रमाथि प्रत्यक्ष प्रहार
आन्दोलनरत समूहहरुले राजधानी र बाहिर रहेका भाटभटेनी डिपार्टमेन्टल स्टोरका अधिकांश भवनमा आगलागी,तोडफोड र लुुटपाट मच्चाएका छन् । केही होटल, पसल र सवारी साधनमा सोही कार्य गरे । यसले होटल उद्योग, खुद्रा बजार र पर्यटक सेवामा तत्काल असर पारेको छ ।
आगलागीका कारण व्यवसायिक संरचना मात्र होइन, व्यवसायीहरूको मनोबल धराशायी भएको छ । एकातिर ‘ढलेको निजी क्षेत्र उठाउने आधार छैन’भने व्यावसायिक समुदायको पीडामा एकाध महिनाबीच यस्तो नुनचुक छर्न थालिएको छ । गत चैत १५ गते पनि राजधानीमा यस्तै हर्कत गरिएको थियो ।
युवाको ऊर्जा,हिंसामा खर्च
देशको भविष्य मानिएका युवा उग्र प्रदर्शनमा उत्रिँदा आर्थिक क्षति अझै चुलिएको छ । आगलागी,लुटपाट र तोडफोडमा रमाउने प्रवृत्ति युवामाझ बढेपछि सामाजिक ऊर्जा नष्ट भएको व्यवसायीहरूको गुनासो छ । उनीहरूका अनुसार ‘युवालाई सिर्जनशील काममा लगाउने अवसर र मार्गदर्शन नदिइएसम्म आर्थिक पुनरुत्थान सम्भव छैन ।’
क्षेत्रीय अवसर हराउँदै
अमेरिकाको भन्सार दर नीतिका कारण भारतमा बढेको लागतले कतिपय व्यवसाय नेपालतर्फ आकर्षित हुनसक्ने परिदृश्य बनेको थियो। तर,असुरक्षित वातावरण र संरचनागत कमजोरीका कारण त्यो सम्भावना क्षीण भएको छ । विदेशी लगानीकर्ताको लागि राजनीतिक स्थायित्व र सुरक्षाको ग्यारेन्टीभन्दा ठूलो प्रोत्साहन अरु केही हुँदैन ।
अब के गर्ने?
अर्थशास्त्रीहरूको सुझाव छ—पहिलो चरणमा क्षतिग्रस्त व्यवसायलाई तत्काल राहत प्याकेज दिनुपर्छ । दोस्रो, सुरक्षालाई सुदृढ र प्रत्याभूत गर्दै लगानीकर्तालाई ‘राजनीतिक जोखिम बीमा’ जस्ता ग्यारेन्टीका उपायमा ल्याउनुपर्छ। तेस्रो, युवालाई रोजगारी र उद्यमशीलतामा आकर्षित गर्ने लक्षित कार्यक्रमबिना हिंसात्मक उग्रतालाई रोक्न सकिँदैन ।
निष्कर्ष
‘हामी फेरि पनि उठ्नेछौं’ भन्ने नारा सडकमा गुन्जिरहे पनि उठ्न आधार चाहिन्छ । राति ओछ्यानमा सुतेर बिहान उठेको भाषामा यस्तो नारा लगाउनुको कुनै अर्थ छैन । त्यस्तो आधार भनेको स्थीर सरकार,सुरक्षित वातावरण, पारदर्शी कानुनी शासन र सिर्जनशील युवाशक्ति हो। यी आधार बिना नेपाल उठ्न चाहेर पनि कहिल्यै उठ्न सक्दैन।
टिप्पणीहरू