बालुवाटार, विद्या र विवादका विस्तृत विवरण

बालुवाटार, विद्या र विवादका विस्तृत विवरण

‘विधान अधिवेशनमा दायाँ बायाँ गर्दाको नतिजा के हुन्छ त्यो आगामी महाधिवेशनमा देखाइन्छ’ विद्या भण्डारीको पक्षमा लाग्ने र अर्को हप्ता गोदावरीमा फरक मत राखेर आफूलाई ७० वर्षे उमेर हदको शिकार बनाइन सक्ने सम्भावनालाई पूर्ण रूपमा निषेध गर्ने उद्देश्यसहित नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले दिएको पछिल्लो कडा धम्की हो यो । काठमाडौँका अधिवेशन प्रतिनिधिहरूलाई बालुवाटारमा अघिल्लो बुधबार राति यसरी धम्क्याएपछि एमाले गणमा एक प्रकारको आतंक नै सिर्जना भएको केही नेता बताउँछन् । समाचार स्रोतका अनुसार फरक मत पेश हुने अवस्था देखेपछि केन्द्रीय कमिटीको बैठक नै पछि सारेका ओली अब तर्साएर र धम्क्याएर नै पकड कायम राख्ने रणनीतिमा पुगेका हुन् । 

प्रशिक्षण दिने नाममा ओलीले बालुवाटारमा आयोजना गरेको  ‘चेतावनी’ भेलाका एक सहभागीका अनुसार त्यहाँ ओली विद्या भण्डारीविरुद्ध निकै अनुदार रूपमा प्रस्तुत भएका थिए । आफू भण्डारीजस्तो सबैको प्यारो बन्न नखोज्ने नेता भएको बताउँदै भने, ‘आँखामा राख्दासमेत नबिझाउने लालगेडी भएर पार्टी चल्दैन । समाचार स्रोतको दावी छ कि केपी ओलीले मदन भण्डारीले प्रतिपादन गरेर अघि बढाएको जनताको बहुदलीयले जनवादलाई समेत मूल नाराबाट हटाएर विधान महाधिवेशनमा आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई विकसित गर्ने योजनामा छन् । कतिपय नेताहरू के पनि भन्ने गर्छन् भने केपी र विद्याको खास मतभेद यही विषयबाट अघि बढेको हो ।

कतिपयले के समेत शङ्का गरेका छन् भने अब आगामी महाधिवेशनबाट आफ्नो नारालाई स्थापित गरेपछि विद्या भण्डारीको नेतृत्वलाई स्वीकार गर्न केपीलाई त्यति गाह्रो पर्ने देखिंदैन । ओलीले बालुवाटारको कार्यकर्ता भेलामा थोरै त्यस्तो संकेत गरेको समेत त्यहाँ सहभागीले बताउने गरेका छन् । उनीहरूका अनुसार उनले भनेका थिए, ‘कहिलेकाहीँ त म आफैंलाई सपनामा पो छु कि जस्तो लाग्छ । विद्याजी चुनाव लडेर त पार्टी अध्यक्ष बन्नुहुन्न । त्यसैले साथीहरूले उहाँलाई त्यसका लागि नउक्साएको भए हुन्थ्यो । हुन त विद्याबाहेक मसँग चुनावमा लड्ने कसैको दम छैन, उहाँले छोडिदिए सबै मिल्छ । त्यसैले पार्टी एकताका लागि समेत विधान अधिवेशनलाई संयमित बनाउन जरुरी छ ।’ उनले अगाडि थपेका थिए, ‘विद्याजीको शान र मानका लागि समेत उहाँलाई उचाल्नु हुँदैन । कसैले पनि प्रोटोकोल हेरेर प्रतिष्ठा बनाउनु हुँदैन ।’

यसरी आफ्नो पछाडि राखेर विद्यालाई दोस्रो वरीयताको नेता मान्न ओली सहमत भएको देखिएको ठहर धेरैको छ । केपी ओलीले च्यासलले सदस्यता खाएको भन्दै विद्याले लगाएको आरोपको समेत खण्डन गरेका थिए । च्यासलले सदस्यता खाएको होइन, प्रक्रिया पुर्‍याएर आवेदन दिनुस् मात्र भनेको हो भन्दै विद्याबारे केही सम्मानित शब्दसमेत खर्चेका ओलीले ईश्वर पोखरेललाई चाहिँ अभागीलाई खाने बेलामा रिस उठ्छ भन्थे, हो रहेछ’ भन्दै तीतो टिप्पणी गरेका थिए । यसरी आफ्नो पार्टीका नेताविरुद्ध मात्र खनिएनन् । बरु आफूले सहयोग गरेर सांसद बनाएका राजेन्द्र लिङदेनसँग पनि निकै रिसाएका देखिन्थे । उनले राजेन्द्र लिङ्देनलाई अब सहयोग नगर्ने बताउँदै कसरी जित्दा रहेछन् एमालेको सहयोग बिना हेरौं भनी चेतावनीसमेत दिएका छन् ।

अनेमसंघको टोली र काठमाडौंका प्रतिनिधिसँगको भेटमा ओलीले नेतृत्वमा आफूलाई चुनौती दिने गरी आउन नहुने धारणा राखेका थिए । अर्थात ११ औं महाधिवेशनमा पनि निर्विकल्प अध्यक्ष हुन खोजेकोमा विद्या भण्डारीले बाधा हाल्नुहुन्न भन्ने उनको प्रष्ट आशय थियो । 

उता विद्या भण्डारीले यस्तो विषयमा छलफल गर्नुको कुनै तुक नरहेको साउन ६ गते निवासमा पत्रकारमाझ बताएकी थिइन् । सीमित पत्रकारहरूका बीचमा भनिन्,  ‘नवौं महाधिवेशनमा हाम्रो टिमबाट ईश्वर पोखरेल कि म अध्यक्षमा उठ्ने भन्ने छलफल भएको थियो, त्यो बेला एकपटक ओलीलाई नै दिऊँ न त भन्ने कुरा भयो र उहाँ अध्यक्ष हुनुभएको हो ।’ बुटवलको आठौं महाधिवेशनमा पनि अध्यक्ष उठेर ओली झलनाथ खनालसँग पराजित भएका थिए । नवौं महाधिवेशनका बेला भएको छलफलको स्मरण गर्दै भण्डारीले ओलीको कक्षा नदोहोर्‍याउने अभिव्यक्ति स्मरण स्मरण गराएकी थिइन् । हुन पनि ओलीले आफू अर्को पटक अध्यक्षमा नउठ्ने त्यसबेला नै अभिव्यक्ति दिएका थिए तर उनै आजीवन अध्यक्ष हुन चाहिरहेको भन्दै विरोधका स्वर चर्किन थालेको छ । त्यसमा विद्या भण्डारी बाधक बन्ने देखेपछि दीपक निरौला, कृष्ण राई र आनन्द पोखरेलहरूका अगाडि तथानाम बोलेको कतिपयको बुझाइ छ ।

यसबीच १२ गते बिहान विद्या भण्डारीलाई भंगाल पुगेर दीपक निरौलाले भेट गरी ओलीले अघिल्लो राति नेता–कार्यकर्ताका बीचमा भनेका सबै कुराको ब्रिफिङ दिएका छन् । ४८ बुँदाभन्दा पनि धेरै विषय छन्, जुन सार्वजनिक गर्न उचित ठानिनँ तर त्यही कुरा खण्डनका नाममा बालुवाटारले सार्वजनिक गरेर आफैँ खण्डित भएको भन्दै १३ गते पुनः फेसबुकमा निरौलाले लेखेका छन् । विद्या भण्डारीलाई भीम रावल बन्नुपर्ने चेतावनीसहितको भिडियो प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएको थियो ।

(जनआस्था साप्ताहिकको भदौ १८ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू