पथलैया राजस्व अनुसन्धानमा उपलब्धि : धरौटी असुलीमा उच्च वृद्धि

पथलैया राजस्व अनुसन्धानमा  उपलब्धि : धरौटी असुलीमा उच्च वृद्धि

राजस्व अनुसन्धान कार्यालय, पथलैयाले राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धि गरेको छ। अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा गत आव २०८१/८२ मा राजस्व संकलनको स्थिति उच्च रहेको जनाइएको छ ।

प्राप्त तथ्यांकअनुसार गत आवमा कार्यालयले राजस्व चुहावट र विदेशी विनियमसम्बन्धी २८ वटा मुद्दा दर्ता गरेकोमा ६ करोड ११ लाख ७३५ रुपैयाँ धरौटी सदरस्याहा भएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा दुई करोड चार लाख ३४ हजार ६९५ रुपैयाँ मात्र धरौटी सदरस्याहा भएको थियो।

धरौटीलाई निष्क्रियको सट्टा राजस्व खातामा दाखिला गर्दा त्यसको औचित्य सिद्ध हुने भएकाले धरौटी सदरस्याहालाई प्राथमिकतामा राखिएको कार्यालयको भनाइ छ। यस्तै, सूचना तथा उजुरी फछ्र्यौटमा पनि कार्यालयले तीव्रता दिएको देखिन्छ । अघिल्लो आवमा ५८.३२ प्रतिशत सूचना–उजुरी फछ्र्यौट भएकोमा गत वर्ष ९३.४९ प्रतिशत फछ्र्यौट भएको र बाँकी प्रक्रियामा रहेको पथलैया राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरि शर्माले जानकारी दिए  ।

कार्यालयले अघिल्लो आर्थिक वर्षमा ६ करोड ११ लाख ३५ हजार ८५७ रुपैयाँ राजस्व चुहावट धरौटी संकलन गरेकोमा गत आवमा ११ करोड ७६ लाख ८५ हजार १ रुपैयाँ असुलेको जनाएको छ। अघिल्लो आवको तुलनामा यो ९२.५० प्रतिशतले बढी हो।

आर्थिक वर्ष ०८०/८१ मा चार करोड ५४ लाख ११ हजार २९८ बिगो मागदाबीसहित राजस्व चुहावटका तीनवटा मुद्दा दर्ता भएकोमा गत आवमा ७६ करोड ३५ लाख ३६ हजार ३०० रुपैयाँ बिगोसहित १४ वटा दायर गरिएको कार्यालयको दाबी छ ।

कार्यालयले लिलाम बिक्रीमा पनि उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। आव २०८०/८१ मा ८४ लाख ८६ हजार ८५९ रुपैयाँ बराबरको लिलाम बिक्री भएकोमा आव २०८१/८२ मा यस्तो रकम पाँच करोड ४९ लाख १८ हजार ६२६ रुपैयाँ बराबर पुगेको छ।

यसैगरी, भीसीटीएस जरिवानाबापत अघिल्लो आवमा ९८ लाख १५ हजार रुपैयाँ असुली गरिएकोमा गत आवमा ९९ लाख ९८ हजार रुपैयाँ दाखिला भएको आँकडा कार्यालयले उपलब्ध गराएको छ ।

 

टिप्पणीहरू