एचआइभी एड्स विज्ञले पनि अमेरिका छाडे

एचआइभी एड्स विज्ञले पनि अमेरिका छाडे

पछिल्लो समय विभिन्न क्षेत्रका विज्ञहरुले अमेरिका छाड्ने क्रम बढ्दो छ । विशेषगरी चिनियाँ मूलका प्रोफेसर, विज्ञ,वैज्ञानिकहरुले उताको सुख सुविधा छाडेर आफू र आफ्नो पुर्खाको थातथलो रोज्ने क्रम केही समयदेखि ह्वात्तै बढेको छ । विश्वविख्यात एचआईभी विज्ञ तथा वासिङ्टन युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक सान लियाङले चीनको सेन्जेन मेडिकल एकेडेमी अफ रिसर्च एण्ड ट्रान्सलेसनमा वरिष्ठ शोधकर्ताको जिम्मेवारी लिइसकेका छन् ।

चीनको मानव प्रतिरक्षा विज्ञान संस्थानको नेतृत्वमा पुगेका उनी एचआईभी सङ्क्रमणको प्रतिरक्षा–जीवविज्ञान तथा उपचार रणनीतिमा अग्रणी अनुसन्धानकर्ता हुन् । उनले एचआईभीले मानव शरीरको कोष कसरी नष्ट गर्छ भन्ने मेकानिजमबारे स्पष्ट पारेका छन् । उनको अनुसन्धानले मानव शरीरमा लुकेको एचआईभी पत्ता लगाउने र त्यसको उपचारको सम्भावना देखाएको बताइन्छ ।

गत वर्ष अमेरिकामा उनले युवा वैज्ञानिकको पुरस्कार प्राप्त गरेपछि थप विश्व चर्चित भएका हुन् । अमेरिकामा प्राध्यापक सान एड्स अनुसन्धानका लागि मिडवेस्ट विकास केन्द्रमा अनुसन्धानकर्ता र जनस्वास्थ्य विज्ञको रुपमा कार्यरत थिए । उनी यो वर्ष चीनको सेन्जेनस्थित उक्त एकेडेमीमा अमेरिकाबाट आएका तीनजना अनुसन्धानकर्तामध्ये एक हुन् । यसअघि प्राध्यापक ड्यान याङ र अनुसन्धानकर्ता लु वेइ आइसकेका छन् ।

टिप्पणीहरू