ज्ञानेन्द्र र कुलमानका गड्बडी
कुनै पनि क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनेलाई ‘अवार्ड’ दिइन्छ । ‘अवार्ड’ सम्मान हो । तर, पछिल्लो समय अवार्ड भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउन थालेका छन् । तर, समाजमा यस्ता पनि व्यक्तित्व छन्, जो अवार्ड भन्नेबित्तिकै हुरुक्क हुन्छन् । तर, अवार्ड कस्तो संस्थाले दिइरहेको छ ? कस्तो व्यक्तिले प्रदान गर्दैछ ? हेरिँदैन ।
विवादित संघसंस्थाबाट अवार्ड लिँदा आफैं विवादमा परिन्छ । हालै एक नेता र एक चर्चित कर्मचारी अमेरिकामा सम्मानित भएका छन् । राप्रपा सांसद ज्ञानेन्द्र शाही र विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई अघिल्लो महिना ‘हामी नेपाली ग्लोबल हिरो अवार्ड–२०२५’ लिन जुलाई २७ मा न्युयोर्क पुगेका थिए । उनीहरूलाई ख्यातिप्राप्त अवार्ड पाएको भन्दै धेरैले बधाई दिइरहेका छन् तर सो अवार्डको वास्तविकताबारे धेरैलाई जानकारी छैन ।
सन् २०१८ मा खुलेको सो संस्थाको अध्यक्ष अमर लामा ब्राडफोर्ड भन्ने ठाउँमा बसोबास गर्छन् र सिन्धुपाल्चोकका उनी धादिङ्गे राप्रपा नेता बुद्धिमान तामाङ्गका आफन्त हुन् । संस्थाको स्थापना गर्ने श्रेष्ठ थरका व्यक्ति भने लामाकै कारण अलग्गिएका छन् ।
अहिले लामा एक्लैले संस्था चलाइरहेका छन् । स्थापनाको ६ वर्ष बितिसक्दासमेत हालसम्म साधारण सभा र अधिवेशन नै नभएको संस्थाबाट अवार्ड ग्रहण गरेका सांसद शाहीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै गुणगान गाएका छन् ।
उनको स्ट्याटसले सो अवार्ड अन्तर्राष्ट्रिय उपाधिभन्दा कम नभएकोजस्तो दर्शाउँछ । लेखिएको छ, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु ।’ यता, कुलमानले पनि सो अवार्ड दिइएकोप्रति आभार व्यक्त गरेका छन् ।
सबैतिरबाट बधाई बटुलिरहेका उनीहरू सो संस्थाको विषयमा बिल्कुलै अञ्जान देखिन्छन् । ‘हामी नेपाली ग्लोबल’ नामक वेबसाइटमा संस्थाबारे कुनै जानकारी छैन । यतिसम्म कि, स्थापनाको मितिसमेत उल्लेख छैन ।चुनाव नजिकिँदै गर्दा विभिन्न व्यक्तिलाई लामाले सम्मानित गर्ने गरेको श्रोत बताउँछ । उनीमाथि कार्यक्रमका नाममा मान्छे ओसारेको आरोप पनि लाग्दै आएको छ । धेरैलाई अमेरिका लगिसकेकोमा सन् २०२३ मा दूतावासले अवार्डका लागि छनौटमा परेका अधिकांशलाई भीसा नै दिएन । र, काठमाडौंमै कार्यक्रम आयोजना गरे । गत असोज १९ गते राजधानीको होटल मल्लमा ‘उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन–२०२४’ आयोजना भयो ।
अमेरिकाले संस्था र पाहुनाको मूल्यांकन गरेर मात्र भीसा दिने भनेपछि यसपटक राजनीतिक व्यक्तिलाई छानिएको स्रोत बताउँछ । कार्यक्रममा सांसदहरू दावा तामाङ, हितमान तामाङ, तीर्थ लामा, छिरिङ दोर्जे लामालगायतका नेताहरूलाई निमन्त्रणा गरिएको थियो । प्रमुख अतिथि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई बनाइयो । अर्का अतिथि सांसद शाही थिए ।
यस्तो छ शाहीलाई बोलाउनुको कारण
अध्यक्ष लामा विगतदेखि नै राप्रपामा सक्रिय छन् । उनले नातेदारसमेत पर्ने सांसद तामाङकै प्रस्तावमा शाहीलाई बोलाएका हुन् । अतिथिका रूपमा अधिकांश तामाङलाई आमन्त्रण गरिएपछि चर्को आलोचना भएको थियो । सोही कारणले शाहीलाई उक्त अवार्ड पाउने बाटो खुलेको हो ।
लामाको एकल जोडबलमा शाही र तामाङका आफ्नै ज्वाइँ घिसिङलाई अवार्ड दिने निर्णय भएपछि धेरै जना निराश भएका छन् । घिसिङकी श्रीमती दिपा तामाङ राप्रपा धादिङको उपाध्यक्ष हुन् । संस्थाका एक ट्रष्टी भन्छन्, ‘राप्रपाका नेताको आग्रहमा राप्रपाकै अर्को नेतालाई अवार्ड दिइन्छ । नोबेल पुरस्कारजसरी चर्चा गरिन्छ । नेपालीको हितका लागि स्थापित संस्थाको कुनै गरिमा नै रहेन ।’
उद्देश्य एकातिर, गराइ अर्कोतिर
वेबसाइटमा विश्वभर छरिएका नेपालीलाई एकताबद्ध गराउने उद्देश्य उल्लेख छ । संस्था गैरराजनीतिक, गैरजातीय र गैरधार्मिक भएको प्रष्ट लेखिएको छ । त्यसैगरी, विविध पृष्ठभूमि र स्थानमा रहेकालाई एक साथ ल्याएर एकता, ऐक्यबद्धता र आपसी सहकार्यको भावना प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । तर, अध्यक्ष लामाले त्यसमध्ये कुनैको पनि पालना गरेका छैनन् । जसले गर्दा उनीमाथि जातीय र आफ्नो विचारधाराको राजनीतिलाई प्रश्रय दिएको आरोप लागेको छ ।
यता, उपाध्यक्ष बुद्धिमान तामाङले भने लामालाई नचिन्ने दाबी गरे । ‘म उनलाई चिन्दिन । बरु म कुलमान अमेरिकाबाट फर्किएपछि उनीसँग कुरा गराइदिन सक्छु’, उनले भने ।
टिप्पणीहरू