‘बाइदु कप’ चिनियाँ युवा फुटबलको आधारस्तम्भ
चीनको राजधानी बेइजिङमा अगष्ट ८ का दिन शुरु भएको ४२औँ ‘बाइदु कप’ फुटबल प्रतियोगिता अस्ति सकिएको छ । बर्खामा आयोजित प्रतियोगिताले बालखेलाडीलाई गर्मीमा शीतलता मात्र नभएर राजधानीमा पुनः एकपटक फुटबलको माहोललाई तताएको बताइन्छ ।
५१ वर्षीय पूर्व चिनियाँ फुटबल खेलाडी याङ चेनले बालबालिकालाई खेलिरहेको देख्दा चार दशकअघि आफूले पहिलो संस्करणमा खेलेको सम्झना ताजा भएको बताए । ‘मैले यहाँ साथीहरूसँग दौडिएको, जितका लागि मेहनत गरेको क्षण अझै पनि जीवन्त छ । यहीँबाट मेरो सपना सुरु भएको हो,’ बेइजिङका स्थायी बासिन्दा याङले भने ।
सन् १९८४ मा पहिलोपटक ११२ टोलीले सहभागिता जनाएको यो प्रतियोगितामा हाल हजारौँ टोलीसम्म पुगिसकेको छ । यस वर्षको खेल अगष्ट १७ सम्म बेइजिङका विभिन्न छ जिल्लामा आयोजना गरिएको थियो ।
१० वर्षीय ली जिङलिनले भने, ‘गर्मीको बिदामा ‘बाइदु कप’ मेरो सबैभन्दा प्रतिक्षित कार्यक्रम हो । यो त फुटबल पर्वजस्तै भएको छ ।’ नौ वर्षीय वाङ यिबोले यसपालि पहिलोपटक प्रतियोगितामा डेब्यू गरेका छन् । उनकी आमा गुओ लेलेका अनुसार, ‘शारीरिक क्षमता बढाउन फुटबल सुरु गरे पनि अहिले ऊ आफ्नो मेहनतले निरन्तर प्रगति गरिरहेको छ ।’
प्रतियोगिता विस्तारसँगै अन्य प्रान्त तथा विदेशी खेलाडीहरुको आकर्षण पनि बढ्दो छ । यसपटक कुइचौ प्रान्तको रोंगजियाङ काउन्टीबाट प्रशिक्षक मा झिकियाङ आफ्ना शिष्यसहित बेइजिङ आइपुगेका हुन् । उनले भने, ‘बालबालिकामा खेलप्रतिको जोश अद्भुत छ, उनीहरूले भविष्यमा ठूलो मञ्चमा खेल्ने सपना बोकेका छन् ।’
त्यसैगरी, जिम्बाबेका ११ वर्षीय क्रिस्टियानो कोनोनोंले बेइजिङस्थित जेडेल फुटबल एकेडेमीमार्फत प्रतियोगितामा सहभागिता जनाए । यो एकेडेमी पूर्व प्रोफेसनल खेलाडी वाल्टर मुसान्हुले २०१९ मा स्थापना गरेका हुन् । मुसान्हु भन्छन्, ‘म यी बालबालिकालाई जीवनकै उत्कृष्ट स्मृति दिन चाहन्छु । उनीहरूले मेरोभन्दा बढी सफलता हासिल गरून् भन्ने मेरो इच्छा हो ।’
बेइजिङ फुटबल संघका महासचिव काओ जुनका अनुसार, ‘प्रतियोगिताले लोकप्रियता बढाउँदै लगेका कारण यसलाई हरेक वर्ष आयोजना गर्ने परम्परा बसालिएको छ ।’ ४२ वर्षको यात्रामा ‘बाइदु कप’ चिनियाँ युवा फुटबलको आधारस्तम्भ बनेको छ । यसै प्रतियोगिताबाट साओ जियायी र लिउ यिङजस्ता पूर्व राष्ट्रिय खेलाडी उदाएका थिए ।
हाल चिनियाँ सुपर लिग क्लब छिङताओ वेस्ट कोस्टका मुख्य प्रशिक्षक साओ जियायीले भने, ‘बाइदु कपबाट अझ धेरै नयाँ प्रतिभा उदाउँदै जाओस् र चिनियाँ फुटबललाई योगदान पुर्याओस् भन्ने मेरो अपेक्षा छ ।’
टिप्पणीहरू