आजदेखि निलबाराही द्यो प्याखँ (निलबाराही गणनाच)
आजदेखि भक्तपुरमा निलबाराही द्यो प्याखँ (निलबाराही गणनाच) शुरु हुँदैछ । मध्यपुरथिमि नगरपालिका–८ र ९ बोदेको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक विधि विधानयुक्त मल्लकालीन यो नाच गाईजात्राको भोलिपल्टदेखि भाद्रकृष्ण द्वितियादेखि चार दिन चार रात प्रदर्शन हुने यो नाच बोदेको नारायणथानबाट शुरु हुन्छ ।
यो नाचमा १९ देवता (भैरव, बाराही, कुमारी, सिंह, द्वारपाल, गणेश) र सयभन्दा बढी सहयोगीहरू सहभागी हुन्छन् । नाचमा देवता बनेका व्यक्ति घरबाट निस्केदेखि थकाइ बिना दैनिक १४–१५ घण्टा विधिपूर्वक नाच्नुपर्ने नियम छ ।
प्रचलित कथा अनुसार, नाचको शुरुवात परम्परागत रूपमा बोदेका धों श्रेष्ठ परिवारसँग जोडिन्छ, जहाँ निलबाराही देवीले स्वयं नाच सिकाएर विधिपूर्वक संरक्षण गरेको विश्वास गरिन्छ । देवताहरूले आफ्नो सम्पूर्ण खर्च आफैं व्यहोर्छन् र गुठीले भेटीबाट सङ्कलन गरिएको रकमले अन्तिम दिन सामूहिक भोज आयोजना गर्छन् ।
मल्लकालदेखि निरन्तर चलेको यो नाचलाई मध्यपुरथिमि नगरपालिकाले संरक्षणका लागि आर्थिक र सामग्री सहयोग गर्दै आएको जनाएको छ ।
टिप्पणीहरू