करणी काण्डकी युवतीलाई होस्टाइल बनाउँदै कमरेड

करणी काण्डकी युवतीलाई होस्टाइल बनाउँदै कमरेड

अभिनेता पल शाह बलात्कार मुद्दामा समातिएपछि एउटा शब्द निकै चर्चामा आएको थियो,‘होस्टाइल’ । सो शब्दको कानुनी अर्थ मुद्दाको प्रतिकूल बयान दिनु, पहिलेको जाहेरी वा बयान फेर्नु, पीडक वा अभियुक्तलाई सहज हुनेगरी बयान दिनु हो । पीडितलाई प्रलोभनमा पारेर अनुकूल बयान दिन लगाउने र उम्किने कार्य पछिल्लो समय मौलाएको छ । पहुँचवालाले कसरी पीडितलाई होस्टाइल बनाउँछन् र आफू उम्किन्छन् ? त्यसैको एउटा नमूना हो यो । प्रहरी प्रशासनदेखि सरकारी वकिल कार्यालयसम्मको सट्याकसुटुकमा पीडित किशोरीलाई होस्टाइल गराएर एक एमाले नेता बलात्कार मुद्दाबाट जोगिएका छन् । यतिबेला जेलमा हुनुपर्ने ती नेताविरुद्धको मुद्दा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तामेलीमा राखेको छ । अर्कोतर्फ पीडित किशोरीको कुनै अत्तोपत्तो छैन । व्यापक खोजी गर्दासमेत फेला परेकी छैनन् । 

घटना पोहोर राजधानीमा भएको हो । २०८१ वैशाख १९ गते आफूमाथि बलात्कार भएको भन्दै एक किशोरी प्रहरी वृत्त, दरबारमार्ग पुगिन् । ४५ वर्षीय दोलखाली एमाले नेता तथा निर्माण व्यवसायी विदुर शर्माले जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको १९ वर्षीया किशोरीको आरोप छ ।  शर्मा केही महिनाअघि एमालेको जिल्ला अधिवेशनमा आफू पदाधिकारीका लागि छुट्नै नहुने मान्छे भन्दै प्रचार गर्दै थिए । उपसचिवमा उम्मेदवार भएर पराजित शर्मा पार्टी विभाजनपछि जिल्ला कमिटी सदस्यका रुपमा उदाएका हुन् ।

काठमाडौं महानगरपालिका–२६ स्थित विश्वनाथ होटलमा दिउँसो १२ बजेर ५० मीनेटमा बलात्कार गरेको व्यहोरा जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीलगत्तै प्रहरीले घटनाको मुचुल्का उठाएको र पीडितको स्वास्थ्य परीक्षण गराएको कागजात पनि छ । यता, घटना भएको होटलको सिसिटिभी फुटेज जाँच गर्दा पल शाहजस्तै ती दुई जना सँगै बसेको देखिएको छ । अर्कोतर्फ, क्रिकेटर सन्दिप लामिछानेको नाबालिका बलात्कार काण्डताका होटल सञ्चालकले उनीहरू सँगै आएर एउटै कोठामा बसेको भनी बकपत्र गरिदिएका छन् । प्रतिवादी र पीडितबीच पटकपटक सम्पर्क भएको विवरणसहित फोनको सिडिआर पनि मिसिलमा राखिएको छ । त्यसपछि उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट पुर्जी लिएर प्रहरी परिचालन गरिएको छ । तर, घटनाको एक वर्ष बितिसक्दा पनि प्रहरीले बिदुरलाई भेट्टाउँदैन । दोलखाको मेलुङ गाउँपालिका निवासी विदुर भक्तपुरको बालकोट बस्छन् । मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघरमा उनैको प्रदेश निर्माण सेवा नामक ठेकेदार कम्पनी छ । मीटरब्याजमा पैसा लगाउँदै आएका उनी फरार रहेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा फरार लेखेर प्रहरीले राम्रै सहयोग गरेको स्रोत बताउँछ । 

रोचक प्रसंग त के भने, दरबारमार्गमा दर्ता भएको जाहेरी शुरुवातदेखि नै जिल्ला प्रहरी परिसर, काठमाडौंले हेरिरहेको छ । एमालेसँग निकटता बढाउनका लागि परिसरका केही अधिकृतले यस मुद्दामा अलि बढी नै चासो राखेको बताइन्छ । स्रोत भन्छ, ‘काँग्रेस र एमालेले बाँडचुड गरेर काठमाडौं र ललितपुरको एसएसपी ल्याएको हो । जाहेरी वृत्तमा दर्ता भएको छ, परिसरले हेरिरहेको छ । यसमा परिसरका अधिकृतहरूले अलि बढी नै रुचि देखाएका छन् । एमालेसँग नजिक हुन पाइन्छ भनेर पनि होला !’ स्रोतका अनुसार मुद्दा परेदेखि नै सेटिङ्ग शुरु भएको थियो । मुद्दा मिलाउन एक करोड रूपैयाँको डिल भएको स्रोतको दावी छ । उपन्यायाधिवक्ता फणिन्द्र बडुवालले मुद्दा मिलाउन सक्दो प्रयास गरे तर सकेनन् । उनी सरुवा भएर अन्यत्र पुगेको केही समयपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा हुलाकमार्फत एउटा निवेदन आयो । 

जसमा ‘मैले आवेगमा आएर झुठ्ठा जाहेरी दिएको’ भनी लेखिएको छ । वकिल कार्यालयले सो पत्र सिधै प्रहरीलाई पठायो । मानौं, कार्यालय त्यही पत्र कुरेर बसेको थियो । न ती पीडितलाई सम्पर्क गरियो न निवेदनको सत्यता पुष्ट्याइँ गर्न खोजियो । सो मुद्दा अदालतमा विचाराधीन हुँदा यता जिल्ला प्रहरी परिसर, ललितपुरले आपराधिक लाभसम्बन्धी कसूरमा एक जनालाई पक्राउ गर्‍यो । 

उनी थिए, ताजमुल इस्लाम । यी तिनै व्यक्ति हुन्, जसले भैंसेपाटी प्रभागको तत्कालीन इन्स्पेक्टर बिनु शाहीसँग मिलेर व्यापारीबाट ३० लाख रूपैयाँ असुलेका थिए । उनले बयानमा ती पीडित किशोरीमाथि जबरजस्ती करणी भएको बताए । प्रहरीले उनको र पीडित किशोरीको कल डिटेल चेक ग¥यो । जसबाट दुवैबीच सम्पर्क हुने गरेको प्रमाण भेटिएको छ । त्यसपछि प्रहरीले खोजी शुरु गर्दा फोन स्वीच अफ थियो । निवेदनमा रहेको ठेगानामा खोजतलास गर्नका लागि सुनसरीको ईटहरीस्थित प्रहरीलाई खटाइयो । तर, उनी त्यहाँ भेटिइनन् । उनी बेपत्ता भएको भन्दै सुनसरी प्रहरीले काठमाडौं प्रहरीलाई पत्र पठायो । सो निवेदन उनले नै लेखेको हो कि अर्कोले ? पुष्टि गर्ने एउटै आधार थियो–औंठाछाप । प्रहरीले औंठाछाप परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठायो । 

सो औंठाछाप पीडितसँग मेल खाएको रिपोर्ट प्रयोगशालाले दिएको छ । प्रहरीको रायअनुसार दस्तखत नामले पनि औंलाको रेखा अकाट्य हुन्छ भन्दै सरकारी वकिल कार्यालयले मुद्दा तामेलीमा राख्यो । कार्यालयका एक अधिकृतका अनुसार उनीहरूले लेनदेन गरेर पीडित किशोरीलाई निवेदन पठाउन लगाएका हुन् । ‘ती किशोरीलाई मुद्दा लेख्न लगाएर हुलाकमार्फत पठाए अनि शर्मालाई जोगाए । पत्र उनले नै लेखेको हो भन्ने पुष्टि गर्नका लागि औंठाछाप पनि गर्न लगाए । अहिले ती किशोरी कहाँ छिन् ? कसैलाई जानकारी छैन । मुद्दा तामेलीमा राखिएको छ’,ती अधिकृतले भने । जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाखमा उनलाई हनिट्रयाप समूहले फसाएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ । ‘शर्मालाई जोगाउन ठूलै प्लानिङ्ग भएको छ । उनीमाथि झुठ्ठा आरोप लगाएको देखाउन सरकारी वकिलदेखि प्रहरीसम्मले खेल खेलेको छ । नभए जबरजस्ती करणीमा प्रमाण हुँदाहुँदै मुद्दा नचल्ने कहीँ हुन्छ ? उनीहरू होटलमा गएर सँगै बसेको पुष्टि भइसकेको छ । तर, पीडितलाई होस्टाइल गरेर पहुँचको आडमा उनी उम्किएका छन्’, स्रोतले भन्यो ।
 

टिप्पणीहरू