गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ

गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्धामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । 

पूर्वमन्त्री समेत रहेका थापाले अघिल्लो साता एक सार्वजनिक कार्यक्रममा संवैधानिक निकायमा पदाधिकारी नियुक्ति र त्यसविरुद्ध परेको रिटमा भैरहेको ढिलाईबारे टिप्पणी गरेका थिए । चार वर्ष पुरानो उक्त मुद्दामा अदालतले बार्गेनिङ गरेको उनको दाबी थियो । 

त्यतिबेला थापाले भनेका थिए, ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई,तीन वर्षदेखि तँलाई हान्दिऊँ भन्दै झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ?’

उनले अदालतमा विचाराधीन मुद्दामा बार्गेनिङ भएको टिप्पणी अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले अदालतको अवहेलना भएको दावी गर्दै निवेदन दर्ता गराएका थिए ।

टिप्पणीहरू