यता भिसा जाँच,उता मदिरापान

यता भिसा जाँच,उता मदिरापान
सुन्नुहोस्

‘देशअनुसारको भेष’ भनेझैँ अमेरिकी दूतावासले विभिन्न मुलुकका लागि जारी गर्ने सूचनाको प्रकृति पनि ठाउँ अनुसारको हुने गरेको छ । नेपालस्थित अमेरिकी दूतावास र सिंगापुरस्थित अमेरिकी दूतावासले हालै जारी गरेका सूचनाले समेत उक्त उखान चरितार्थ गरेको छ ।

अमेरिकामा पछिल्लो समय अवैध आप्रवासीलाई निष्कासन गर्ने,हतकडी र  नेल लगाउँदै सम्बन्धित मुलुकसम्म पुर्याएर छाड्ने क्रम जारी छ । नेपालमा पनि तीन साताअघि एक दर्जन त्यस्ता नेपालीलाई अमेरिकी  विमानले काठमाडौंस्थित त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडिदिएको थियो ।

अहिले सोही सन्दर्भमा काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्नो मुलुकको भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने जनाएको छ । सामाजिक सञ्जालमा जारी सूचनामा भनिएको छ, ‘सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरु पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रुपमा भिसा वाहकहरुको जाँच गर्छौं र यदि उनीहरुले नियम उल्लंघन गरेका खण्डमा उनीहरुको भिसा रध्द गरी देशबाट निष्कासन गर्नेछौं ।’

तर, उता सिंगापुरस्थित अमेरिकी दूतावासले भने भिसा,अवैध आप्रवासन, मुलुकबाट निष्कासनको कुरो गरेको छैन । त्यहाँको दूतावासले जारी गरेको सूचनामा कार्यवाहक राजदूतले व्यापार, व्यवसाय र आर्थिक सम्बन्ध बढाउन मदिरा बजारको सम्भाव्यतालाई नजिकबाट नियालेको जनाएको छ । 

गत साता कार्यवाहक राजदूत क्यासे मेसले स्थानीय बार कन्भेन्ट पुगेर बिक्रेताहरुसँगे उत्कृष्ट मदिराको रसस्वादन गरेको जनाइएको छ । लेखिएको छ, ‘अमेरिकी ब्राण्डका मदिराले सिंगापुरसँगको व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग र दुबै मुलुकको अर्थतन्त्र अभिबृध्दिमा मद्दत पुगेको छ ।’

टिप्पणीहरू