आलु र स्याउपछि विप्लवहरु अब भेडातिर

आलु र स्याउपछि विप्लवहरु अब भेडातिर

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भेडा पालन शुरु गरेको छ । कालिकोटको चिसापानीमा 'त्रिवेणी साझेदारी भेडा फर्म' सञ्चालनमा ल्याएको हो । 

एक कार्यक्रमका बीच ब्यानर पढ्दै भेडा समातेर विप्लवले फर्म उद्घाटन गरे । त्यसपछिको भाषणमा उनले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अघि बढाउन उत्पादन र आर्थिक आत्मनिर्भरता आवश्यक रहेको बताए । अन्य राजनीतिक दलहरुलाई पनि अपारदर्शी र शंकास्पद चन्दा लिनुभन्दा उत्पादनमा लाग्न उनको सुझाव छ ।

विप्लवले पार्टीलाई आर्थिक रुपमा सबलीकरण गर्न उत्पादनको क्षेत्र बढाएको बताएका छन् । ‘अहिले पार्टीको उत्पादन कहिँकतै घाटामा छैन, १७ सय क्विन्टल धान र ४० टन आलु उत्पादन गयौँ’, उनले भने, ‘हामीले आफैँ उत्पादन गरेको मह, घ्यू, जुम्लाको सिमी उपभोक्तासम्म पुर्याउन काठमाडौँमा सी व्यापार केन्द्र पनि खोलेका छौँ ।’

पार्टीको उत्पादनसम्बन्धी अवधारणले किसानलाई पनि फाइदा पुग्ने विप्लवहरुको विश्वास छ । ‘हाम्रो क्रान्तिको उद्धेश्य त किसानले जमिन  पाउनुपर्छ, उसको उत्पादनले बजार पाउनुपर्छ भन्ने हो नि, अनि त्यसको सुरुवात पनि हामीलगायत सम्पूर्ण राजनीतिक दलहरुले गर्नुपर्छ’, उनले भने । 

विप्लव जुम्लाको धाँचुगाउँ र कालिकोटकै फोइ गाउँमा स्याउ रोप्ने कार्यक्रम सकेर भेडा फर्म सञ्चालनको लागि हिजो साँझ चिसापानी पुगेका हुन् ।

टिप्पणीहरू