र्‍याप सुन्दा प्रधानमन्त्री प्रसन्न

र्‍याप सुन्दा प्रधानमन्त्री प्रसन्न
सुन्नुहोस्

रमाइलो गर्नु वा गर्न खोज्नु मानवीय स्वभाव हो । तर,रमाइलो गर्ने पनि एउटा ठाउँ हुन्छ,समय हुन्छ । रमाइलो गर्ने नाममा कसैले आफ्नो पदीय मर्यादा बिर्सिनुहुँदैन । विडम्बना ! देश आर्थिक संकटमा छ,जनतामा निराशा छाएको छ तर कला देखाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अमूल्य समय र्‍याप सुनाएर बर्बाद गरिएको छ । 

जनताको समस्या सुन्न र अहोरात्र सर्भिस डेलिभरीको काममा जुट्ने बेला सचिवालय टिमले नेकपा (एमाले) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई र्‍यापर र टिकटकर भेट्न बाध्य बनाइएको छ । यसैक्रममा हालैमात्र बालुवाटारमा एक जना र्यापर बोलाएर गुणगानको र्‍याप गाउन लगाइएको छ । सो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

‘सुःखी नेपाली,समृद्ध नेपाल,नयाँ केपी ओली देश नै बबाल’ भन्दै र्‍याप गाएको भिडियोमा देखिन्छ । यसैलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

अरु देशका प्रधानमन्त्रीले वैज्ञानिक,इन्जिनियर सोधकर्ताको महत्व राख्छन्, महत्वबारे बुझ्छन् । हाम्रा प्रधानमन्त्रीचाँहि टिकटकेहरुसँग चटक देखाएर बस्छन् हैट !’ 

सामाजिक सञ्जाल प्रयोगकर्ता प्रकाश केसीले हाँस्य कलाकार हुनुपर्ने व्यक्ति प्रधानमन्त्री भएको भन्दै अफसोस व्यक्त गरेका छन् । ‘धन्य होस् केपी ओलीज्यू, अचम्मको शौख आउँछ है ! देशको स्थिति यस्तो धराशायी बनेको बेलामा कसरी यसलाई राम्रो गर्न सकिन्छ भन्नेतिर कहिल्यै ध्यान जाँदैन । जहिले जोक्स,चुट्किला यस्तैयस्तै ।’,उनले लेखेका छन् । 

त्यसैगरी, प्रधानमन्त्री निवास, बालुवाटारलाई मजाकको स्थान बनाएकोमा सञ्जिव रेग्मीले गम्भीर आपत्ति प्रकट गरेका छन् । उनी भन्छन्,‘बालुवाटारलाई कस्तो मजाकको स्थान बनायौ । जनताको दुःख कहिले नसकिने भो । भोट अझै यिनलाई हाल्छन्, चेतनामा सुधार भएन ।’

कमल खड्का लेख्छन्,‘अरु देशका प्रधानमन्त्रीले वैज्ञानिक,इन्जिनियर सोधकर्ताको महत्व राख्छन्, महत्वबारे बुझ्छन् । हाम्रा प्रधानमन्त्रीचाँहि टिकटकेहरुसँग चटक देखाएर बस्छन् हैट !’ विकासको योजना लिएर जानेलाई प्रधानमन्त्री ओलीले समय नदिने भन्दै थलाङ सुरेन्द्रले गुनासो पोखेका छन् । उनले भनेका छन्,‘विकासको योजनाहरु लिएर गए भेट पाउँदैनन् । यस्ता नौटंकी र डिजिटल भिखारीहरुले भेट पाउँछन् ।’

केही समयअघि सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग आफ्ना जनताले पानी खान नपाएको दुःखेसो सुनाउन सिंहदरबार आएका थिए । तर, प्रधानमन्त्री ओलीले उनलाई भेटघाटका लागि समय नै दिनुभएन । घण्टौं कुरेका उनी समय नपाएपछि त्यत्तिकै फर्किए । 

प्रतिनिधि सभाको बैठक छोडेर टिकटकर मिस पबी (पवित्रा शाँकी) र अंशु वर्मासँग भेटघाटमा मस्त भएपछि ओलीको चर्को विरोध भएको थियो । पछिल्लोपटक प्रधानमन्त्री नियुक्त भएदेखि नै विवादमा घेरामा रहेका उहाँमाथि आफ्नै दुनियाँमा मस्तमगन रहेको आरोप छ । केही समययता उहाँ टिकटक र फेसबुकमा चाहिनेभन्दा बढी नै सक्रिय देखिनुहुन्छ ।

टिप्पणीहरू