भक्तपुरमा टुहुरा बालबालिकालाई भत्ता
भक्तपुर नगरपालिकाले आमाबुबा नभएका टुहुरा बालबालिकालाई भत्ता उपलब्ध गराउने भएको छ ।
‘बाबुआमाविहीन बालबालिका संरक्षण कार्यक्रम’ अन्तर्गत नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने १८ वर्षमुनिका त्यस्ता बालबालिकालाई भत्ता उपलब्ध गराउन लागिएको हो । नगरपालिकाले सूचना जारी गर्दै यस कार्यक्रममा सहभागी हुनका लागि आगामी १५ दिनभित्र निवेदन पेश गर्न भनेको छ ।
बाबु र आमा दुवैको मुत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट वञ्चित बालबालिका वा संरक्षकले निवेदन दिन सक्ने जनाइएको छ ।
‘बाबुआमाविहीन (बाबु र आमा दुवैको मृत्यु भएका दुवैको संरक्षण र रेखदेखबाट वञ्चित भई अरुको संरक्षणमा रहेका) १८ वर्ष मुनिका बालबालिकाहरुलाई बाबुआमाविहीन संरक्षण कार्यक्रमबाट भत्ता उपलब्ध गराउने भएकोले यस नगरपालिकामा स्थायी बसोबास भएका बाबुआमाविहीन बालबालिका वा संरक्षकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र नगरपालिकाको प्रशासन शाखामा आइपुग्ने गरी आवश्यक कागजातसहित निवेदन पेश गर्नुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
निवेदनका साथ जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बाबुआमा दुवैको मृत्यु भएको प्रमाणपत्रको प्रतिलिपि, विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको भएमा विद्यालयले दिएको सिफारिसपत्र, संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित बालबालिकाको संरक्षक हो भनी सम्बन्धित वडाले दिएको सिफारिसपत्र बुझाउनुपर्ने छ ।
टिप्पणीहरू