जाजरकोट भूकम्पले रोकिएको सात महिनापछि राष्ट्रपति विदेश यात्रामा

जाजरकोट भूकम्पले रोकिएको सात महिनापछि राष्ट्रपति विदेश यात्रामा

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै १८ जनाको टोलीसहित जेनेभा जानुभएको छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यता जानुभएको हो । राष्ट्रपतिले पर्सि ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद् घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

स्वीस राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गरेपछि उहाँ जर्मनी जानुहुने छ । असार १ गतेदेखि ४ गतेसम्म जर्मनी भ्रमणको क्रममा त्यहाँका राष्ट्रपतिसँग भेट्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलको टोलीमा धर्मपत्नी सविता पौडेल,परराष्ट्र मामिला विज्ञ डा. सुरेशचन्द्र चालिसे,राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल सहभागी छन् । स्विट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरूलाई पनि भ्रमण दलमा सामेल गराइएको छ ।

प्राप्त विवरणअनुसार टोलीमा शिष्टाचार महापाल विष्णुप्रसाद गौतम,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल,सञ्चार विज्ञ किरण पोखरेल,चिकित्सक निरज बम,परराष्ट्रका सहसचिव गणेशप्रसाद ढकाल,उपसचिव जिम्सनन रुम्दाली राई,शिष्टाचार अधिकृत प्रवीण भट्टराई,सहायक रथी मदन केसी,प्रमुख सेनानी बालमुकुन्द विष्ट,सहसेनानी सफल कार्की, सहयोगी महेश्वर अर्याल, नेपाल टेलिभिजनका पुरुषोत्तम घिमिरे र निजी फोटोग्राफर अनिस रेग्मी पनि आजै जेनेभा गएका छन् ।

राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ । उहाँको गत कात्तिकमा जेनेभा जाने कार्यक्रम जाजरकोट भूकम्पका कारण रोकिएको थियो ।

यसअघि राष्ट्रपति सवार विमान उड्नुअघि साढे ५ बजेदेखि काठमाडौं वरपरको आकाशमा उडान प्रतिबन्ध (नोटाम) जारी गरिएको थियो । हिजो र अस्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली जाने र  फर्कने क्रममा पनि त्यस्तै प्रतिबन्ध लगाइएको थियो । असार ५ गते राष्ट्रपति पौडेल स्वदेश फर्कने क्रममा पनि नोटाम जारी गरिँदै छ ।

टिप्पणीहरू