सर्टिफिकेट नक्कली, मुख्यमन्त्री कार्यालयमा जागिर सक्कली

सर्टिफिकेट नक्कली, मुख्यमन्त्री कार्यालयमा जागिर सक्कली

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढी,कैलालीमा कार्यरत शाखा अधिकृत (सातौं तह) लक्ष्मण शाहविरुद्ध नक्कली शैक्षिक योग्यतासम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

शाहले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशनअन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको झुटो योग्यताको प्रमाणपत्र पेश गरी नेपालको सरकारी सेवामा नियुक्ति लिएको अख्तियारको आरोप छ । 

अख्तियारका अनुसार उक्त प्रमाणपत्र पेश गरी शुरुमा निजामती सेवाको कम्प्युटर अपरेटर पदमा प्रवेश गरेका उनी बढुवा हुँदै शाखा अधिकृतमा नियुक्त भएका हुन् । राष्ट्र सेवकको ओहोदा र लाभ प्राप्त गर्ने उद्देश्यका साथ उनले सो कार्य गरेको देखिएको उल्लेख गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ बमोजिम सजाय हुन मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू