निलम्बित मेयरविरुद्ध ३० करोड भ्रष्टाचारको अर्को मुद्दा

निलम्बित मेयरविरुद्ध ३० करोड भ्रष्टाचारको अर्को मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित) भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीसहित छ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इञ्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । 

बागमती नगरपालिका–४ र १२ मा अवस्थित बागमती माछापोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् गरिएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्रीवितरणमा उनीहरुले करोडौं भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दर्ता गरेको हो । 

यसअघि गत चैत २८ गते अख्तियारले गैरकानूनी रुपमा सम्पत्ति आयआर्जन गरेको भन्दै पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो मागदाबीसहित प्रमुख थापाविरुद्ध मुद्दा हालेको थियो ।
 

टिप्पणीहरू