जर्नेलले बलात्कार गरेको भन्दै पत्रकारसङ्ग हारगुहार

जर्नेलले बलात्कार गरेको भन्दै पत्रकारसङ्ग हारगुहार

नेपाली सेनाका एक जना अवकाशप्राप्त जर्नेलमाथि बलात्कारको आरोप लागेको छ । 

केही समयअघि मात्र अवकाश पाएका जर्नेल ईश्वरकुमार श्रेष्ठले पटकपटक जबरजस्ती करणी गरेको भन्दै पीडित उमादेवी खत्रीले प्रहरी गुहारेकी हुन् । जिल्ला प्रहरी परिसर, टेकुमा जाहेरी दिएको लामो समय बितिसक्दासमेत प्रहरीले उनलाई कारबाही नगरेको पीडित खत्रीको गुनासो छ । 

जर्नेल श्रेष्ठले गरेको ज्यादती र प्रहरीको आलटालको विरोधमा उनले आज पत्रकार सम्मेलन आयोजना गरेकी छिन् । रिपोर्टर्स क्लबमा दिउँसो २ बजेदेखि सम्मेलन शुरु हुने जानकारी दिइएको छ । सम्मेलनको वक्ता नेपाल समाजवादी मोर्चाका संयोजक एवं अभियन्ता युवराज सफल रहेका छन् । 

भएको के हो ? 

जर्नेल श्रेष्ठ र पीडितबीच चिनजान भएको लामो समय भइसकेको छ । उनीहरुको भेट डिजिटल कलर ल्याबमा भएको हो । श्रेष्ठ त्यतिबेला सेनाको मिडिया सेक्टर हेर्दथे । यता, उमा भने कलर ल्याब सञ्चालन गर्दथिन् । श्रेष्ठ त्यहाँ आइरहने भएकाले उनीहरु नजिकिएका हुन् । 

भेटघाट हुँदा श्रेष्ठले एक्लै जीवन बिताइरहेकी उमाको अभिभावकत्व निर्वाह गर्ने बताएका थिए । उनले पनि होला भन्ठानिन् । तर, अविभावकत्वको नाम दिएर उनको नियत शारीरिक सम्बन्ध राख्नु भएको उमादेवीले पछि मात्र थाहा पाइन् । उनले पटकपटक जबरजस्ती शारीरिक सम्बन्ध राखेको पीडितको भनाइ छ । गत कात्तिकमा उनले अन्तिम पटक जबरजस्ती करणी गरेको उनले बताएकी छन् । 

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीकहाँ पुगेकी उनलाई श्रेष्ठले ‘ज्यान मार्नेसम्मको धम्की’ दिएका छन् । ‘मारेर बोरामा हालेर फोहोरमा फालिदिन्छु’ लगायतका धम्की दिएको र प्रहरीलाई जानकारी गराउँदासमेत श्रेष्ठलाई पक्राउ नगरेकाले पत्रकार सम्मेलन गर्न लागिएको संयोजक सफलले बताए । 

‘उहाँहरुको लामो समयदेखि चिनजान रहेछ । श्रेष्ठले चाँहि जबरजस्ती रुपमा उहाँसँग पटकपटक शारीरिक सम्पर्क राख्नुभएको रहेछ । अन्तिम पटक कात्तिकमा जबरजस्ती करणी गरेपछि उहाँ प्रहरीकहाँ जानुभएछ। तर, प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन । उहाँलाई श्रेष्ठले ज्यान मार्ने धम्की दिइरहेका छन्’, उनले भने । 

उमादेवी चर्चित शिकारी चलचित्रकी निर्मात्री हुन् । त्यस्तै,उनले अन्य थुप्रै टेलिश्रृङ्खला निर्माण गरेकी छन् । हाल उनी निर्माण व्यवसायमा आबद्ध छिन् ।

यता, जर्नेल श्रेष्ठलाई पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन् ।

 

टिप्पणीहरू