दुर्गा प्रसाईंको जग्गा कब्जा अभियान

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ महाअभियानले जग्गा कब्जा अभियान थालेको छ । सिन्धुलीबाट शुरु भएको जग्गा कब्जा अभियानले माओवादी युुद्धकालको झल्को दिएको स्थानीयले बताएका छन् ।

अन्यत्र सेलाएपनि पछिल्लो समय सिन्धुलीमा आफ्ना गतिविधिलाई तीब्र बनाईरहेको महाअभियानमा संलग्नहरुले कमलामाई नगरपालिका १४ चन्दनपुरका विनोद गुप्ताको जग्गा कब्जा गरेका हुन् । जग्गा पास गरेर ऋण उपलब्ध गराएकोमा जग्गाधनीहरुलाई जानकारी नै नगराई उनीहरुको जग्गा बेचबिखन गरेको भन्दै महाअभियानले गुप्ताको जग्गा कब्जा गरेको जनाएको छ । 

गुप्ताले कमलामाईसँगै जोडिएको दुधौली नगरपालिका ६ की धनसरिया अधिकारी, बेचनी कुँवरलगायतलाई उनीहरुको जग्गा आफ्नो नाममा पास गरेर ऋण उपलब्ध गराएका थिए । न्यायका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय सिन्धुलीको ध्यानाकर्षण गराएपनि प्रमुख जिल्ला अधिकारीले बेवास्ता गरेपछि गुप्ताको जग्गा कब्जा गर्नुपरेको महाअभियानका अगुवा विजय थापाले बताए । 

उनले आफू महाअभियानको सचिवालय सदस्य रहेको जानकारी दिएका छन् । थापाको कमाण्डमा उदयपुर र सिन्धुली जिल्लामा महाअभियानले गतिविधि तीब्र बनाएको छ । डा. गोविन्द केसीको मागको ठिक विपरित मेडिकल कलेज स्थापनाको अनुमति सहजै दिनुपर्ने माग राख्दै अनशन अभियान थालेका थापा एकताका निकै चर्चामा थिए । केसीले जहाँ अनशन सुरु गर्थे थापा पनि त्यही स्थानमा विरुद्धमा अनशन बस्थे । त्यतिबेला प्रसाईंले उनलाई अभियन्ता केसीविरुद्ध परिचालन गरेको चर्चा चलेको थियो । 

महाअभियानले सिन्धुलीकै अरुण महतोको जग्गा पनि कब्जा गरेको बताइएको छ । महतोले सात जना आदिवासी जनजाति कछाडे दनुवारको जग्गा आफ्नो नाममाम पास गरेर ऋण दिएका थिए । उनले कुमारी कुवँरको १३ कठ्ठा, मेसलवती अधिकारीको ७ कठ्ठा, मन्सरी अधिकारीको ५ कठ्ठा, सतुनी अधिकारीको ११ कठ्ठा, हन्सा धामीको १० र घुस्कि अधिकारीको १४ कठ्ठा जग्गा आफ्नो नाममा पास दुईदेखि तीन लाख रुपैयाँका दरले ऋण दिएका थिए ।  

त्यसवापत चर्को ब्याज असुल्दै आएका महतोले ती जग्गाधनीहरुलाई जानकारी नदिई ती जग्गा धितो राखेर बैंक तथा वित्तिय सँस्थाहरुबाट धेरै ऋण लिएको बताइन्छ । थापाले महतोको सबैजग्गा कब्जा गर्ने योजना बनाएको उल्लेख गरे ।

महाअभियानले राजनीतिक दलका स्थानीय नेताहरुलेसमेत गाउँघरमा मीटरब्याजमा ऋण लगाउने गरेको आरोप लगाएको छ । दुधौलीका स्थानीय कांग्रेस नेता वृजनारायण साहुले चैती अधिकारीको १० कठ्ठा र लिलावती अधिकारीको ५ कठ्ठा जग्गा झुक्काएर दृष्टिबन्धक गरेको उनीहरुको भनाई छ । दुधौलीकै प्रमोद कपाडीले उपेन्द्र अधिकारीको दुई लाख ५० हजारको कारोबार भन्दै जालसाजी गरेर आठ लाख रुपैयाँको कागज गराई १० कठ्ठा जग्गा पास गरेको अर्को आरोप छ । 

त्यस्तै कपाडीले नै स्थानीय प्रेमलाल अधिकारीको ५ कठ्ठा जग्गा आफ्नो नाममा सारेका हुन् । अधिकारीलाई एक लाख ४० हजार दिएर सात लाखको कपाली कागज गराएका थिए । समयमा तिर्न नसकेको जनाउँदै कपाडीले अधिकारीको उक्त जग्गा हडपेका हुन् ।

महाअभियानले सिन्धुलीमा आफ्नो गतिविधि थालेको सात महिना भएको छ । उक्त अवधिमा मिटरब्याजीले हडपेको ११ बिघा १८ कठा जग्गा खोसेर सम्बन्धित जग्गाधनीलाई फिर्ता गरेको छ भने मंगलपुर, जगाती, पत्रिगां र संखटार क्षेत्रका पनि करिब २ बिघा ११ कठ्ठा जग्गा मिटरब्याजीबाट खोसेर पिडीतहरुलाई भोगचलन गर्ने वातावरण मिलाइदिएको महाअभियानले जनाएको छ । मीटरब्याजीहरुले दर्ता गरेको चेक बाउन्सका सात वटा मुद्दा फिर्ता गराएको दाबी गरेका छन् । 

महाअभियानले सिन्धुली र उदयपुरका वित्तीय संस्थाहरुबाट २ सय ५० जनाभन्दा धेरैको बचत फिर्ता गराएको र अति विपन्न सिन्धुलीकी शुष्मा सदाको ऋण समेत मिनाहा गराइदिएको जानकारी दिएका छन् । थापाका अनुसार महाअभियानले उदयपुरमा निशान राई र सिन्धुलीमा बर्माबहादुर विश्वकर्मालाई नेतृत्वको जिम्मा दिएको छ । 

दुबै जिल्लामा सदस्यता शुल्क वापत एक मुठी चामल र दाल तोकिएको छ । प्रसार्ईंले उठाएको राजतन्त्र ब्युँताउने मुद्दामा भने महाअभियानमै होमिएका धेरैजसोको असहमति रहेको पाइन्छ । उक्त समूहले २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्नुपर्ने माग राखेर आन्दोलन गर्दै आएको छ ।

टिप्पणीहरू