जनप्रतिनिधिले नै पैसा तिर्दैनन् यहाँ

जनप्रतिनिधिले नै पैसा तिर्दैनन् यहाँ

मुलुकभरको सहकारीमा पछिल्लो समय आर्थिक समस्या गहिरिँदै गएको छ । एकपछि अर्को सहकारी संकटग्रस्त बनिरहेको छ । शहर केन्द्रित सहकारीहरू धमाधम बन्द भइरहेको छ । सञ्चालनमा रहेका सहकारीले पनि बचत फिर्ता दिन सकिरहेका छैनन् । गाउँघरमा बसोबास गर्नेहरूको जीवनस्तर उकास्न खोलिएको सहकारीमा पनि समस्या देखिन थालेको छ । बचतकर्तालाई पैसा फिर्ता गर्न सहकारीहरूलाई हम्मेहम्मे परिरहेको छ । थोरैथोरै गरेर जम्मा गरेको बचत जोखिममा परेपछि बचतकर्ताहरू तनावमा छन् । यता, वित्तीय संस्थाको ऋण तिर्न नपर्ने भनी केही व्यक्तिले भ्रम फैलाइरहेका छन् । ऋण असुल नभएर सहकारीहरूले बचत फिर्ता गर्न नसकेपछि स्थानीय पालिकाहरूले ऋणीहरूलाई ऋणको किस्ता तिर्न आग्रह गरिरहेका छन् । 

समयमै ऋण तिरेर सहकारीमा देखिएको समस्या समाधानका लागि सहयोग गरिदिन भनी प्रायःजसो स्थानीय तहले सूचना प्रकाशित गरेको छ । तर, समाजका जान्नेमान्ने व्यक्तिले नै ऋण तिर्न बेवास्ता गरिरहेको पाइएको छ । स्थानीय तह भने तिनलाई कारबाही गर्नबाट पछि हटिरहेको अवस्था छ । ऋण असुलीमा स्थानीय तह कडा रूपमा प्रस्तुत नहुँदा बचतकर्ताहरू मर्कामा परेका छन् । 

ऋण चुक्ता गर्न भन्दै राष्ट्रिय स्तरका ठूला नेताका नाममा समेत सार्वजनिक सूचना जारी भएको छ । हिमाली जिल्ला म्याग्दीमा बहालवाला जनप्रतिनिधिको नाममै ऋण चुक्ताको सूचना जारी भएको छ । 

सदरमुकाम बेनी बजारस्थित म्याग्दीकै पुरानो बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बहालवाला वडाध्यक्षको नाम खराब ऋणीमा प्रकाशित गरेको छ । सहकारीले स्थानीय ‘रिखार राष्ट्रिय दैनिक’ मा बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठको नाममा ऋण चुक्ताको ३५ दिने सूचना निकालेको हो । जेठ ३ गते भाखा नाघिसक्दासमेत ऋण तिर्न नआउने झण्डै एक दर्जन खराब ऋणी तथा धनजमानीको नामावली सार्वजनिक भएको थियो । त्यसमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठको नाम पनि परेको हो । उनको तस्बिर पनि सार्वजनिक भएको छ । स्थानीय देवी श्रेष्ठले ऋण लिँदा धनजमानी बसेको र पटकपटक ऋण तिर्न ताकेता गर्दापनि बेवास्ता गरेकाले सूचना प्रकाशित गरिएको सहकारीले जनाएको छ । 

ऋण लगानी तथा असुलीमा मध्यस्थता हुनुपर्ने जनप्रतिनिधिकै नाममा ऋण चुक्ताको सूचना जारी भएपछि स्थानीय आश्चर्यचकित छन् । वडाध्यक्ष श्रेष्ठले ऋण तिर्न पहल नगरेको भन्दै स्थानीयले आलोचना गरिरहेका छन् । यता, श्रेष्ठले भने सो विषय मिलिसकेको बताए । ‘व्यवस्थापन भइसकेको छ । जग्गाको कुरा नमिलेर ढिलाई भएको हो’, उनले भने । 

सहकारीबाट लिएको ऋण समयमा नतिर्ने सूचीमा अन्य थुप्रै अगुवा छन् । उक्त सहकारीले यसअघि पनि ऋण नतिर्ने दर्जनौंको नामावली सार्वजनिक गरिसकेको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री जगतप्रसाद गौचन पनि पर्छन् । उनी बेनी नगरपालिका–९ की भीमकुमारी शाहीको लागि धनजमानी बसेका थिए । भाखा नाघेको लामो समयसम्म ऋण नतिरेपछि सहकारीले बारम्बार ताकेता गर्‍यो । तैपनि बेवास्ता गरेपछि सहकारीले सूचना निकालेको हो । नेपाली कांग्रेसका पूर्व उपसभापति मिनबहादुर कार्कीको नाममा पनि ऋण चुक्ताको सूचना जारी भएको छ । उनी बेनी नगरपालिका–३ की तुलसा थापामगरले ऋण लिँदा धनजमानी बसेका थिए । 

जिल्ला बचत तथा ऋण सहकारी संघको उपाध्यक्षसमेत रहेका कार्की अन्य सहकारीमा समेत जमानी बसेका छन् । तिनले पनि उनको नाममा ऋण चुक्ता गर्न सूचना प्रकाशित गरेको  तर कुनै पनि सहकारीमा ऋण चुक्ता भएको छैन । जमानीकर्ता बसेका बेनी नगरपालिका–१ का पूर्ववडाध्यक्ष टेकबहादुर रावलले ऋण चुक्तामा भूमिका नखेलेपछि गोर्खा भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले खराब ऋणीमा नाम प्रकाशन गरेको थियो । ऋण चुक्ताका लागि तारन्तार आग्रह गर्दापनि अवज्ञा गरेपछि बाध्य भएर पत्रिकामा नामावली सार्वजनिक गर्नुपरेको बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठले बताए । ऋणी तथा जमानीलाई धेरैपटक मौका दिएको भए पनि अटेरी गरेको उनको भनाइ छ । विप्लव नेतृत्वको नेकपा निकट पत्रकारका जिल्ला अध्यक्ष बादल शाही पनि जमानी बसेर पत्नीको नाममा ऋण निकाली चुक्ता नगर्नेमा मुछिएका छन् । 

‘हामीले उहाँहरूलाई पटकपटक ताकेता गर्‍यौंं । तर, उहाँहरूले ऋण चुक्ता गर्न तदारुकता देखाउनुभएन । त्यसैले कानुनी रूपमा अगाडि बढ्न बाध्य भएका हौं । उहाँहरू सूचनाअनुरूप ऋण चुक्ता गर्न आउनुभयो भने समन्वय गर्छौं । आउनुभएन भने अचल सम्पत्ति लिलाम गरेर ऋण असुली हुन्छ’, उनले भने । 

टिप्पणीहरू