भारत र चीनबाट आएका राजदूतहरूलाई बग्गी चढाइयो

नेपालका लागि विभिन्न चार वटा मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरु ओहोदाको प्रमाणपत्र बुझाउन आज दिउँसो शीतल निवास पुगेका छन् । उनीहरुले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
घानाका डा.विनफ्रेड नि ओकाई हामोण्ड, बुल्गेरियाका निकोले यान्कोभ, इरिट्रियाका अलेम टिसिहाए वल्डरमारियम र फिलिपिन्सका जोसेल फ्रान्सिस्की इग्नासियोले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
समारोहमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
नवनियुक्त राजदूतहरुलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
घानाका राजदूत हामोण्ड चीनको बेइजिङस्थित आवासीय राजदूत हुन् भने अन्य तीन मुलुकका राजदूत भारतको नयाँदिल्लीमा आवासीय राजदूत हुन् । उनीहरु सबै अस्ति र हिजो चीनको सिचुआन प्रान्तको छन्तु र भारतको नयाँ दिल्लीबाट काठमाडौं आएका हुन् ।
टिप्पणीहरू