पैसा नपाउँदा महाकालीको काम अलपत्र

पैसा नपाउँदा महाकालीको काम अलपत्र
सुन्नुहोस्

सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा महाकाली कोरिडोर सडक निर्माण प्रभावित भएको छ । निर्माणमा संलग्न कम्पनीलाई १६ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको सडक योजनाले जनाएको छ । चालु वर्ष विनियोजन गरिएको २९ करोड रूपैयाँ माघमै सकिएको छ । फागुनदेखि थप बजेट माग गरिए पनि पर्याप्त निकासा नभएको योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । महिनौँसम्मको प्रयासपछि वैशाख पहिलो साता ५ करोड रूपैयाँ थपिएकोमा भोलिपल्टै भुक्तानी गरिएको योजना कार्यालयले जनाएको छ । 

‘अहिलेसम्म निर्माण भइसकेको तर भुक्तानी गर्न बाँकी रकम १६ करोड छ, थप बजेट प्राप्त भएपछि मात्रै भुक्तानी हुनेछ’ योजना प्रमुख लक्ष्मणदत्त जोशीले भन्नुभयो । जेठ र असारमा गरिने निर्माण कार्यको समेत भुक्तानी गर्न २५ करोड रूपैयाँ थप आवश्यक पर्ने उहाँले बताउनुभयो । अर्थ मन्त्रालयले तीन वर्षअघि बजेटको स्रोत सुनिश्चितता गरे पनि महाकाली कोरिडोर सडक योजनामा पर्याप्त बजेट दिइरहेको छैन । गत वर्ष शुरुमा ४१ करोड रूपैयाँ विनियोजन भएकोमा आर्थिक वर्षको अन्त्यसम्म १३ करोड रूपैयाँ थपिएको थियो । गत आर्थिक वर्ष कोरिडोर योजनाले ५४ करोड ३५ लाख रूपैयाँ बजेट खर्च गरेको अभिलेख छ । 

हाल एक दर्जन ठेक्का सञ्चालनमा छन् । तर, बजेट अभावले निर्माण सुस्ताएको सडक योजना कार्यालयले जनाएको छ । ‘निर्माण कार्य ठप्प नै भएको छैन तर ठेकेदारहरूले काममा सुस्तता ल्याएका छन्, हालसम्म गरिएको कामको भुक्तानी नै हुन नसकेपछि थप काम गराउन चुनौती रहेको छ’ योजनामा सूचना अधिकारी एवं इञ्जिनियर दीपक विष्टले भन्नुभयो ।

महाकाली कोरिडोरअन्तर्गत हाल दार्चुलामा तीनवटा सडक कालोपत्रेका ठेक्का सञ्चालनमा छन् । सुन्सेरा र धन्थला–धरमघर क्षेत्रमा सडक फराकिलो बनाउने, नाली निर्माणको ठेक्का चलिरहेको छ । दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको भूगोलमा ट्रयाक निर्माणको ठेक्का चालु छ । दार्चुलाको सुगरखालीदेखि कुशकाणा गाउँसम्मको २ किलोमिटर सडक ट्रयाक निर्माण भएको छ । लालीको मकन्नाक्षेत्रमा पनि सडक बनिरहेको छ ।

डडेल्धुराको जोगबुढाक्षेत्रमा ५ किलोमिटर लामो सडक कालोपत्रेको ठेक्का भएकोमा हालसम्म डेढ किलोमिटर  कालोपत्रे गरिएको इञ्जिनियर विष्टले बताउनुभयो । दार्चुलाको बेतदेखि उकुसम्मको खण्डमा सडक कालोपत्रे गर्ने ठेक्काअन्तर्गत २८ प्रतिशत भौतिक प्रगति भएको छ । खलंगादेखि धारीसम्मको कालोपत्रे गर्ने ठेक्काअन्तर्गत ४५ प्रतिशत प्रगति भएको छ भने धारीको चल्लेगडादेखि सुन्सेराको कोटकट्यासम्मको अर्को ठेक्कामा १३ प्रतिशत प्रगति छ । कालोपत्रे निर्माणको ठेक्काअन्तर्गत सडक चौडा बनाउने, टेवापर्खाल निर्माण र नाली निर्माण भइरहेको योजनाले जनाएको छ । 

धन्थलादेखि धरमघरक्षेत्रको ५ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि ठेक्का भए पनि अपेक्षित प्रगति भएको छैन । बजेट अभावले निर्माण कम्पनी पर्ख र हेरको स्थितिमा छन् ।

सुन्सेराको कोरकट्यादेखि गल्थासम्मको क्षेत्रमा सडक फराकिलो बनाउने ३ ठेक्कामध्ये दुईटाको निर्माण सम्पन्न भएको छ । बजेट अभावले सदरमुकाम खलंगा क्षेत्रमा भइरहेको करिब ६ सय मिटर लामो आरसिसी कंक्रिट गर्ने कार्य पनि दुई महिनादेखि बन्द छ । ठेकेदारलाई पर्याप्त भुक्तानी गर्न नसक्दा निर्माण प्रभावित भएको र योजना कार्यालयले थप दबाव दिन नसकेको इञ्जिनियर दीपक विष्टको भनाइ छ । बजेट थपिएपछि असारभित्रै खलंगा क्षेत्रको सडक निर्माण पूरा हुने उहाँले बताउनुभयो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू