मलेसियामा नहुन सक्छन् जिबी राई

मलेसियामा नहुन सक्छन् जिबी राई
सुन्नुहोस्

कुमार रम्तेलसँगै समातिइसकेका जिबी राई कसरी फुत्किए ? अनि, के अहिले पनि उनी साँच्चै नै मलेसियामै लुकिरहेका छन् ? यद्यपि, तथ्यले त्यसो भन्दैन ।

सहकारी ठगीपछि फरार रहेका जिबी कहाँ छन् भन्ने कुराको अनुसन्धानका क्रममा उनी चर्चामा आएजस्तो मलेसियामै भएको कुनै यकिन प्रमाण छैन । गत वर्षको भदौमा जब सूर्यदर्शन सहकारीका कोषाध्यक्ष तथा जिबीका विश्वासपात्र कुमार रम्तेल काठमाडौंमा समातिए, त्यतिबेलै जिबी पनि प्रहरीकै फन्दामा परेका थिए । प्रहरीस्रोतका अनुसार, एमालेका एक जना उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतको दबाबमा भगाइए र त्यसपछि देश छाडेर हिँडे । 

अध्यागमन विवरणका आधारमा गत वर्ष, अर्थात् सन् २०२३ जुलाई २७ को दिन जिबी मलेसिया गएको देखिन्छ । अर्को महिनाको अगष्ट २७ मा काठमाडौं आएको । पछि उनको चहलपहल देखिँदैन । हुनसक्छ, उनी स्थलमार्ग भएर भारत पसे । तर, भारतका विमानस्थलबाट कुनै पनि नेपाली राहदानीवाहकले अर्को देशका लागि यात्रा गर्नुपर्ने अवस्थामा दिल्लीस्थित नेपाली दूतावासबाट अनुमति पत्र (नो अब्जेक्सन लेटर) लिएको हुनुपर्ने व्यवस्था छ ।

जिबीको हकमा दिल्ली दूतावासबाट त्यस्तो कुनै कागजात जारी भएको देखिँदैन । कुनै किसिमले उनी मलेसिया गएकै भए पनि भारतीय अध्यागमनबाट हेर्न मिल्छ । अनुमान के पनि गरिएको छ भने, जिबी भारतको सिक्किम, दार्जिलिङ वा कुनै कुनामा या त नेपालभित्रै लुकेका छन् । मलेसिया–मलेसिया भनेर यत्रोविधि हो–हल्ला चलिरहँदा फेरि पनि उनी मलेसियामै बसिरहेका छन् भन्ने कुरा अनुसन्धानकर्मीहरु पत्याउने पक्षमा छैनन् । रवि लामिछानेले आकाश–पात्तालबाट समातेर ल्याउने भनी मलेशियाको गफमा जनता अल्मल्याए पनि कुरा अर्कै हुन सक्ने सम्भावना बलियो छ ।

सहकारीमा जिबीको ठगी प्रकरण यसअघिको बहुचर्चित शिवशिखर सहकारीका केदारनाथ शर्माको जस्तै पाइन्छ । केदार पनि झण्डै २०–२२ वटा सहकारीसँग जोडिएका थिए । केदारले शिवशिखरसहित मोरङमा पत्नीलाई सारेर तुलसी सहकारी चलाए । त्यसैले उनीविरुद्ध ठगीसँगै संगठित अपराधको मुद्दा अगाडि बढाउन सकिन्छ । उनले शिखर अर्गनाइजेशन नामक भातृ संस्था खोले । सहकारीको पैसा त्यहाँ लगे । त्यसको अध्यक्ष पत्नीलाई बनाए ।

छोरालाई अध्यक्ष बनाएर अर्को संस्था हुँदै व्यक्तिगत खातामा पैसा लगे । त्यसरी नै जिबीले ठाउँठाउँमा सहकारी खोलेर त्यहाँको पैसाले गोरखा मिडिया नामक कम्पनी खडा गरी अर्बभन्दा बढी रकम चलाएका छन् । कानुनतः गलत नियतले परिपञ्च गरी, मिली संगठित रुपमा, षड्यन्त्रपूर्वक ढंगले गोर्खा मिडियामा रकम ल्याई ठगी गरेको देखिने अनुसन्धानमा संलग्न प्रहरीको ठहर छ । 

गोर्खा मिडिया नेटवर्कमा रविको साझेदारी १५ प्रतिशत हो । त्यसको लगानी र भुक्तानी सहकारीबाट भएको छ । प्रश्न उठ्छ–, कोही व्यक्ति सहकारीमा सदस्य नभई के आधारमा रकम दिइयो÷लिइयो ? यसअघि यसै प्रकारबाट आर्थिक कारोबार गरेको कारण प्रशस्तै मुद्दा चलेका छन् ।

गोर्खा मिडियाका नाममा सहकारीको रकम अपचलन गरेकै कारण सहकारी डुब्यो र सर्वसाधारण बचतकर्ताको रकम त्यसमा परेको छ । उनीहरुले फरक–फरक डे बुक र सफ्टवेयर बनाएर राखेका थिए । त्यसमध्ये एउटा सफ्टवेयर त एकजना भूपूप्रहरीकै घरबाट बरामद भएको थियो । प्रश्न उठ्छ–, कारोबार नभएको भए रविको नाममा खाता किन खुल्यो ? तिरिसकेको, राफसाफ गरिसकेको भए त्यसको विवरण वा प्रमाण दिएर किन क्लिनचिट लिन मानिन्न ?

(साभार:जनआस्था साप्ताहिकबाट)

    

टिप्पणीहरू