जो लेखेकै कारण मारिए

जो लेखेकै कारण मारिए

आज २२औँ इच्छुक स्मृति दिवस । सशक्त साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुकको आजैको दिन हत्या भएको थियो । माओवादी सम्वद्ध विभिन्न संगठनहरुले विशेष कार्यक्रम गरेर इच्छुक स्मृति दिवस मनाउँदैछन् । 

इच्छुक वास्तवमा को थिए ? कसरी र कहाँ मारिए ? यसबारे छोटो चर्चा गरौँ । इतिहास वा अभिलेखमा गर्विलो उपस्थित बनाइराख्न कोही मान्छे ७०/८० वर्ष बाँच्नुपर्छ भन्ने हुँदैन । यसको उदाहरण हुन्- इच्छुक । 

लेखन कलाद्वारा परिवर्तनको पक्षमा आवाज बुलन्द पारेका उनलाई तत्कालिन राज्यले हत्या गरेको थियो । ४६ वर्षकै उमेरमै ससारबाट बिदा भएका इच्छुकले नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिए । 

इच्छुकका बुबा (यामबहादुर) भारतीय सेना थिए । आमा भिमकुमारीको कोखबाट २०१३ सालमा उनी भारतमै जन्मिए । बाल्यकाल (करिब ६ वर्ष) उतै बित्यो । इच्छुकको पुख्र्यौली घर प्युठानको साराङकोट हो । तर, परिवार बसाइ सरेर अर्घाखाँचीको जुलुके पुगेको थियो । 

सानैदेखिको जिज्ञासु स्वभावका इच्छुक पढाई-लेखाइमा अब्बल थिए । आफूलाई रुचि रहेको र प्रभावित पार्ने विषयको पूर्ण जानकारी लिन्थे । त्यसले उनमा स्वअध्ययनको बानी विकास भयो, र तन्नेरी उमेरमै वैचारिक बहस गर्न सक्ने भए । 

अध्यननको सिलसिलामा इच्छुकले भोगेका दुःखका थुप्रै किस्साहरु छन् । ८ कक्षासम्म दाङको देउखुरीस्थित आदर्श विद्यालयमा पढेका उनले ९ र १० भने लालमटियास्थित सरस्वती स्कुलमा पढे । पारिवारिक स्रोतका अनुसार इच्छुकले कुनै तयारीबिना नै एसएलसी दिएका थिए। 

०३२ सालको एसएलसी हो, उनको । तर परिक्षाको अघिल्लो दिनसम्म पनि उनी जिल्ला बाहिर थिए । हतार हतारमा बिना तयारी परीक्षा दिएका इच्छुकलाई लागेको थियो- पक्कै फेल भइन्छ, अर्को वर्ष फेरि दिनुपर्ने भो । 

तर, उनी दोश्रो श्रेणीमा उतिर्ण भए । एसएलसीपछि इच्छुक उच्च शिक्षा लिन चाहन्थे । तर, सोचजस्तो भएन । घरको कमजोर आर्थिक अवस्थाले उनलाई कोइलाबास पुगेर साल्ट ट्रेडिङ्गमा काम गनुपर्ने बाध्यता आइपर्यो । त्यहाँ जागिर गरिरहँदा उनी दिनभर काम गर्थे भने रातभर विभिन्न पुस्तक पढ्थे । उनी विस्तारै ‘स्टडी एडिक्ट’ बन्दै गएको इच्छुक निकटहरु बताउछन् । 

जागिरको सिलसिलामा उनले भारतबाट प्राइभेट परीक्षा दिएर आइए पास गरे । त्यसपछि काठमाडौँ फर्किएर त्रिभुवन विश्वविद्यालयबाट बीएड सकाए । उनी त्रिविबाटै एमएड पढ्न चाहान्थे । भर्ना पनि भए । तर, त्यसपछिको पढाइ भने पूरा गर्न सकेनन् । 

शब्दसँग इच्छुकको लगाव सानैदेखि थियो । ०३३ सालमा उनले पहिलो कविता लेखे- 'भोलीप्रति' । कविता त्यसबेलाको चर्चित पत्रिका 'मातृभूमि साप्ताहिक' मा प्रकाशित भएको थियो । 

इच्छुकलाई नजिकबाट चिन्नेहरु भन्छन्, 'वास्तवमा यही कविता नै इच्छुकको लेखनको 'टर्निङ प्वाइन्ट' थियो । यसपछि उनले लगातार विभिन्न पत्रिकामा आलेख र कविताहरु छाप्न थाले ।' 

लेखनकै कारण दिनप्रतिदिन उनको चर्चा बढिरहँदा तत्कालिन पञ्चायती शासक भने असह्य थिए । फलस्वरुप लेखेकै कारण उनी २०३६ सालमा पहिलो पटक पक्राउ परे । जतिबेला विद्यार्थी आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । 

करिब दुई महिनाको कारगार बसाइपछि छुटेका इच्छुक विद्यार्थी आन्दोलनमा थप सक्रिय हुन थाले । विभिन्न पत्रिकामा आलेखहरु लेखिरहे । जसका कारण ०३९ मा उनी फेरि दोश्रो पटक पक्राउ परे । (जुन कुरा उनले पहिलोपटक थुनामुक्त हुँदै गर्दा अनुमान गरिसकेका थिए) इच्छुकलाई यसपटक भने ५ वर्ष कारागारमा राखियो । र ०४४ सालमा मात्र उनी थुनामुक्त भए ।

इच्छुकले ०३४ सालमा पहिलोपल्ट कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ०४५ सालमा उनलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दियो । तत्कालिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । त्यसको एक वर्षपछि अर्थात ०४६ सालमा उनी कम्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय ब्यूरोको सेक्रेटरी बनेर कुशलतका साथ जिम्मेवारी सम्हाले । 

यतिन्जेलसम्म इच्छुक केन्द्रीय राजनीति वृतको ‘अर्थव्यास’ बनिसकेका थिए । क्रमशः उनी संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य बने । अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्षको जिम्मेवारी पनि उनैलाई थियो । प्रगतिशील लेखक संघको केन्द्रीय पार्षद, पत्रकार महासंघका पार्षद र दक्षिण एसियाली पत्रकार सघंका सदस्य पनि बने । जनअधिकार सरोकार अभियानका सदस्य पनि भए ।

इच्छुक भावुक स्वभावका थिए । दाङको कारागारमा बस्दा उनले हत्या भएका विद्यार्थी नेता मित्रमणि आचार्यको सम्झनामा 'शोकाञ्जली' लेखे । जुन उनको पहिलो कृति पनि थियो । इच्छुकका चर्चित आधा दर्जन रचनाहरु पनि उनले कारागारको चिसो र अध्याँरो कोठामै लेखेका थिए ।

'इतिहासको यो घडीमा', 'बन्दी र चन्द्रागिरि', 'शोकाञ्जली' लगायतका कृतिहरुले उनलाई स्थापित गराउन ठूलो सहयोग गर्यो । 
 
इच्छुक कवि र अब्बल पत्रकार त थिए नै, त्यसबाहेक उनी जनयुद्धको एक योद्धा पनि थिए । परिवर्तनको बैचारिक नेतृत्व गर्ने इच्छुक र उनले फैलाएको चेतना त्यतिबेलाका शासकहरुलाई मन पर्ने कुरा थिएन । त्यसकारण उनलाई पटक-पटक झूठा मुद्धामा पक्राउ गरी करिब १० वर्ष कारागारको चिसो र अध्याँरो कोठामा बन्दी बनाइयो । कारागारमा हुँदा इच्छुकलाई दिइएको यातनाको हिसाब नै छैन, यद्यपि उनले हार मानेनन् । बरु उनी झन् सशक्त र विद्रोही बन्दै गए । 

इच्छुक ०५९ साल असारको अन्तिम साता भालुवाङ (दाङ, नेपालगन्ज र रोल्पा प्युठानको संगम)मा आयोजित एउटा आमसभामा सहभागी थिए । त्यहाँ माओवादीका दर्जनौँ प्रभावशाली नेताहरुको उपस्थिति थियो।

कार्यक्रममा लगभग आधा दर्जन वक्ताहरुले मन्तव्य राखे । उनीहरुले मञ्चमा बोलिरहदा उपस्थित जनता आपसमा गफ गरिरहेका थिए । हल्ला मच्चिरहेको थियो । तर, कार्यक्रमलाई सम्बोधन गर्न जब इच्छुक मञ्चमा उक्लिए, तब वातावरण एकाएक शान्त बन्यो । 

सबैले इच्छुकको सम्बोधनलाई कान ठाडो पारेर सुन्न थाले । माहोल यस्तो बन्यो कि मञ्चमा उनी बोलिरहँदा उपस्थित बच्चदेखि  वृद्धसम्मको आँखा र कान मञ्चतिरै केन्द्रित थियो ।

इच्छुक भनिरहेका थिए– तपाईहरुको सानो छोरोले सोध्ला, आन्दोलन भनेको के हो ? त्यतिबेला तपाईले सचेत भएर जवाफ दिनुपर्छ । किनकि तपाईको छोरोको अवोध मस्तिष्कबारे ख्याल गर्नुपर्छ । उसलाई आन्दोलन भनेकै बन्दुक–वारुद, गोली–छर्रा, क्रोध–आक्रोश, विद्रोह–बलिदान मात्र हो भन्ने भाष्यबाट मुक्त गराउनुपर्छ तपाईहरुले । तपाईहरुको सानी छोरीले पनि सोध्ला, क्रान्ति भनेको के हो ? तपाईहरुले बुझाउनुपर्छ क्रान्ति भनेको परिवर्तन हो वा समृद्धिको निर्देशमार्ग हो । क्रान्ति भनेको नयाँ युगको अठोट हो । र क्रान्ति भनेको सुन्दर जनजीवनको अभ्यास हो । 

उनले मञ्चबाट ओझेल पर्ने अनुमति मागिरहँदा त्यहाँ बेजोड ताली गुञ्जियो । तर, अपसोच ! त्यही कार्यक्रम नै इच्छुकको अन्तिम सार्वजनिक कार्यक्रम बन्न पुग्यो । 

त्यतिबेला उनी जनदिशा दैनिक पत्रिकाको नेतृत्वमा थिए । भालुवाङको आमसभा सकेर उनी भोलिपल्ट काठमाडौँ फर्किए । त्यसको केही दिनपछि ०५९ जेठ ६ गते पक्राउ परे । आँखामा कालोपट्टी बाँधेर महेन्द्र पुलिस क्लबको हिरासतमा पुर्याइयो । त्यहाँ उनको खुट्टा र ढाड भाँचियो । एक साताको चरम यातनापछि जेष्ठ १३ गते हिरासतमै उनको हत्या गरियो । 

यसरी जनताको आवाज बोलेकै कारण तत्कालिन निरङ्कुश शासकले इच्छुकको क्रुरतापूर्वक हत्या गर्यो । स्मरण रहोस्, त्यतिबेला हत्याको समाचार जनआस्था साप्ताहिकले नै ब्रेक गरेको थियो । 

अन्त्यमा, उनै जनप्रिय कवि तथा पत्रकार इच्छुकको एउटा चर्चित कविताः

कान्छी, भट्टी र देश 
......
अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो
र, अलिकति गरिब माइतीको पुरानो दाइजोले
मानौँ, प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर
चियाको किट्लीजस्तै भकभकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरूमा पस्केर
सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ

यात्रीहरू आइरहेछन् र गइरहेछन्
परदेशीहरू गइरहेछन् र आइरहेछन्
कोही उसको रूपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छटपटीको तातो भुंग्रोभित्र
खिन्न सुस्केराहरूमा पीडाका धुँवाहरू फाल्दै
दिनरात क्लेश काटिरहिछ
कान्छी भट्टी थापिरहिछ

भट्टीमा भात पाकिरहेछ
भात सँगसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासु सँगसँगै कान्छीको आँशु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ
नेपाली छोरी ऊ
हिमालकी गोरी ऊ
विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैँ
गहबाट बहका नदीहरू झारिरहिछ
कान्छी भट्टी थापिरहिछ।

उसका आँशुहरू
मानौँ, खुशी खोसिएका कोशीका अशान्त छालहरू हुन्
उसका रहरहरू
मानौँ, बन्धकी परेका गण्डकीका बेचैन लहरहरू हुन्
र ऊ, मानौँ, गरिब घरकी सुन्दर कन्याजस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो
जो आफूदेखि धेरै टाढा
सुदूर छाउनी र पराईका मोर्चाहरूमा बेखबर
प्रिय पति र मायालु बन्धुहरूलाई सम्झेर
स्नेहपूर्ण भाकामा डाकिरहिछ
कान्छी भट्टी थापिरहिछ।

 

टिप्पणीहरू