विमानस्थलमा पानी पस्यो, चिनियाँ जहाज उतै फर्कियो

विमानस्थलमा पानी पस्यो, चिनियाँ जहाज उतै फर्कियो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल डुबानमा परेपछि आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । 

एकछिन अगाडि भएको भीषण वर्षाले विभिन्न मुलुकबाट आएको जहाज डाइभर्ट भएका छन् । चीनको सिचुआन प्रान्तको छन्तुबाट आएको एअर चाइनाको सिए-४३७ जहाज अवतरण हुन नसकेपछि पुनः छन्तु फर्किएको छ । 

जहाज अवतरण नभएका कारण छेन्दु हुँदै चीन प्रस्थान गर्न प्रतिक्षारत ८९ जना यात्रु यतै रोकिएका छन् । उनीहरुलाई वायुसेवा कम्पनीले होटल र्‍याडिसनमा राखेको छ । 

त्यस्तै, काठमाडौंको प्रतिकूल मौसमका कारण भारतको कोलकाताबाट आउनुपर्ने एअर इण्डियाको जहाजले उडान स्थगित गरेको छ । सोलुखुम्बुको लुक्लाबाट आएको यति एअरलाइन्सको जहाजलाई डाइभर्ट गरेर रामेछाप विमानस्थलमा अवतरण गराइएको छ । 

विमानस्थलको भन्सारतर्फ ५ नम्बर वेल्ट र झोला संकलन गर्ने क्षेत्र पूर्णरुपमा डुबानमा परेको छ । विमानस्थलका अन्य क्षेत्रमा समेत पानी पसेको छ ।  विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएसँगै उडान सुचारु भएको छ । 

‘अघि एकछिनचाँहि बेजोडको वर्षा भएको थियो । त्यसपछि उडान र अवतरण नै रोक्नुपर्यो । एअर चाइनाको जहाज फर्कियो । लुक्लाबाट आएको जहाज रामेछाप ल्याण्ड भएको छ । अहिले अवस्था सामान्य छ’, उनले भने ।

टिप्पणीहरू