चुरे संरक्षणको माग गर्दै २५ दिन पैदल यात्रा

चुरे संरक्षणको माग गर्दै २५ दिन पैदल यात्रा
सुन्नुहोस्

चुरेक्षेत्र तथा वनजंगल संरक्षणको माग राख्दै सप्तरीको भारदहदेखि पैदल यात्रा गरेका २३ जना काठमाडौं आइपुगेका छन् । 

वैशाख १६ गतेदेखि पैदलयात्रामा रहेकाहरु २५ औँ दिन आज माइतीघर मण्डला आइपुगेका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका संयोजक सुनिल यादवले सरकारले आफ्ना माग सम्बोधनमा चासो नदेखाएकाले पैदलयात्रा गरेको बताए । 

आजबाट माइतीघरमा चरणबद्ध आन्दोलन थालिने उनले जानकारी दिए । दिँउसो ३ बजे माइतीघरमा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनबारे जानकारी गराइने यादवको भनाइ छ । 

‘हामी पैदलयात्रा शुरु गरेको २५ औं दिनमा आज काठमाडौं आइपुगेका छौ । आज दिँउसो ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी गराउँछौ । त्यसपछि चरणबद्ध आन्दोलन गर्छौ’, उनले भने । 

चुरे अतिक्रमण र दोहनले खानेपानीको स्रोत सुक्दै गएपछि पानीको समस्या हुन थालेको उनको गुनासो छ । उनका अनुसार पानीको अभावको विषयमा मधेश प्रदेश सरकारको बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको हो । अभियानले चुरे तथा वनजंगल संरक्षणसम्बन्धी विभिन्न १२ बुँदे माग राखेको छ । 

जसमा संघीय सरकारद्धारा ल्याइएको ढुङ्गा, गिट्टी र वालुवा विदेश निकासी गर्ने विधेयक खारेज गर्ने, अतिक्रमणमा परेको चुरे वन क्षेत्रको जग्गा खाली गराउने, नक्कली भूमिहीन तथा सुकुम्बासीको नाममा रहेको चुरे वन क्षेत्रको जग्गा तत्काल वन क्षेत्रमा फर्काउने, डिभिजन वन कार्यालयमा हुने अनियमितता रोक्ने, लामो समयदेखि कार्यरत कर्मचारीको सरुवा गर्ने, अवैध रुपमा निकासी रोक्ने, क्रसर उद्योग बन्द गर्ने रहेका छन् ।

त्यस्तै, मधेशमा पानी रिचार्ज जोन र चुरे तथा वन क्षेत्र भएर बग्ने नदीहरुमा सम्भाव्यताको आधारमा ड्याम तथा पोखरी निर्माण गर्न, सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउन, विभिन्न परियोजना र विकासको नाममा चुरे तथा वनजंगल मास्ने कार्य बन्द गर्न, संघीय र प्रदेश सरकारले अभियानसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नलगायतका माग राखिएको छ ।
 

टिप्पणीहरू