सिरोहिया समातिनुअघिको यस्तो सल्लाह

सिरोहिया समातिनुअघिको यस्तो सल्लाह

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले अस्ति साँझ उनको कार्यकक्षबाट पक्रेर राति नै जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याएको छ ।

दोहोरो  नागरिकता बोकेको रास्वपा कार्यकर्ताको उजुरीका आधारमा रवि लामिछाने नेतृत्वको प्रहरीले अनुसन्धान अघि बढाएपछि जिल्ला अदालत धनुषाले अस्ति पक्राउ आदेश दिएको थियो । हिजो दिउँसो सोही अदालतले उनलाई तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अर्को आदेश दिएको छ ।

नेपाली काँग्रेस,राप्रपा,जसपा नेपाल, जनमतलगायत मुख्यगरी विपक्षी दलहरुले उनको गिरफ्तारीको बिरोध गरेका छन् । सञ्चार र सञ्चारकर्मीहरुसँग सम्बन्धित विभिन्न संघ संगठनले पनि सिरोहियाको पक्षमा आवाज बुलन्द पारेका छन् । स्वयम् कैलाश र उनको सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेको आरोप लगाएका छन् । 

निकै चर्चामा आएको सिरोहिया पक्राउसम्बन्धी घटनालाई कतिपयले प्रधानमन्त्री,गृहमन्त्री र प्रहरी प्रमुख बसन्त कुँवरसँग जोडेर टिप्पणी गरेका छन् । अधिकांशको गृहमन्त्री लामिछानेले आफूमाथि लगाइएका सहकारी ठगी,दोहोरो राहदानीलगायत प्रकरणलाई कान्तिपुरमा उछालिएका कारण प्रतिशोध साँधेको निश्कर्ष छ ।

कैलाशलाई समात्नेवारे लामिछानेले के छ आइजीसाबको धारणा भनेर सोध्दा उनले ‘गम्भीर विषय होइन हजुर,किन हात हाल्नु ’’सम्म भनेको बताइन्छ ।

घटनाक्रमलाई सुक्ष्म ढंगले नियालिरहेको उच्चस्तरीय स्रोतले सिरोहिया पक्राउ पर्नुअघि गृहमन्त्री र प्रहरी प्रमुखबीच नै बेमेल देखिएको दाबी गरेको छ । मन्त्रीको आदेश मान्नैपर्ने बाध्यतामा आइजिपी कुँवरले संगठनलाई परिचालन गरे पनि अनौपचारिक रुपमा ‘खासै दम नभएको मुद्दामा किन हात हालेको होला ?’भन्ने आशयले कुरा राखेपछि मन्त्रीसङ्ग मनमुटावको आशंका गरिएको हो ।

एकथरीले पक्राउका लागि प्रधानमन्त्री दाहालले सोझो आदेश दिएको बताए पनि त्यसमा आँशिक सत्यता रहेको सोही स्रोतले बतायो । भनियो,‘केही समयसम्म पीएमले रोकेका थिए ।’ तर पछि गृहमन्त्रीले अति नै कचकच गरेपछि प्रहरीलाई ‘गो अहेड’ भन्ने आदेश गयो ।

कैलाश सिरोहिया पक्राउको अन्तर्यवारे हेटौंडाको सुरक्षा सम्मेलनमा रहेका आइजी कुँवरले हालसम्म मन्त्रालयका अरु कसैसँग पनि सेयर नगरेको बताइन्छ । उच्च स्रोत भन्छ,‘‘यस प्रकरणमाआइजी र मन्त्रीबीच लफडै भएको आशंका छ" । कैलाशलाई समात्नेवारे लामिछानेले के छ आइजीसाबको धारणा भनेर सोध्दा उनले ‘गम्भीर विषय होइन हजुर,किन हात हाल्नु ’’सम्म भनेको बताइन्छ ।

टिप्पणीहरू